काठमाडौं - मौसममा सुधार आएपछि हेलिकप्टर दुर्घटनाका मृतकहरुको शव लिएर नेपाली सेनाको हेलिकप्टर भर्खरै काठमाडौं आइपुगेको छ। बुधवार मध्याह्न ताप्लेजुङको पाथीभरा मन्दिर नजिकै भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।
उनीहरुको शव संकलन गरी आज बिहान घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याइएको थियो। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिनेछ । त्यसपछि श्रद्धाञ्जलिका राजधानीको खुलामञ्चमा शव राख्ने कार्यक्रम छ ।
काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।
यतिबेला अस्पतालमा मृतकका नेकपाका कार्यकर्ता, मृतकका आफन्त र शुभेच्छुहरुको भीड लागेको छ । मन्त्री अधिकारीको शवलाई श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिनेछ । त्यसपछि अन्य शव आफन्तलाई जिम्मा लगाइने र अधिकारीको शव पोखरामा लगी अन्त्येष्टि गरिने कार्यक्रम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४