काठमाडौं – रवीन्द्र अधिकरी जब पहिलोपल्ट अखिलका केन्द्रीय सदस्य निर्वाचित भए तब उनको पहिचान चुलियो। अखिलका सबैभन्दा कम उमेरका केन्द्रीय सदस्य थिए उनी। त्यसैले उनलाई सबैले कान्छो केन्द्रीय सदस्य भन्न लागे। उनको यो पहिचान लामो समय चल्यो।
त्यसपछि उनले युवा र आशा लाग्दा नेताको पहिचानमा थिए। दैवको खेल! उनलाई बुधबार पहिचान गर्न कठिन भयो जब डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परे। हेलिकोप्टमा सवार सात जनाको शव पहिचान गर्न कठिन भइरहेको थियो। दुर्घटनास्थलमा उद्धारका लागि पुगेको टोलीले उनको शव पहिचानका लागि ज्याकेटको साहारा लिनुपरेको थियो।
अधिकारी सानैमा विद्यार्थी राजनीतिमा होमिए। उनी पोखरामा स्कुल पढ्ने क्रममा कक्षा आठ पढ्दै गर्दा अखिलको प्रारम्भिक कमिटीमा संगठित भए। अधिकारी सानैदेखि जिज्ञासु र क्रियाशील र मिलनसार भएका उनका सहकर्मी नेकपा केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन्।
उनी राजनीतिमा सफल नेता मानिन्छन्। २०५३ सालमा अखिलका केन्द्रीय कोषाध्यक्ष, सचिव, महासचिव हुँदै त्यसको अध्यक्ष बनेका थिए। पछिल्लो समयमा वाइड बडीमा विवादमा परे पनि मानिसमा उनीप्रतिको आशा र भरोशा भने टुटेको थिएन।
अधिकारीले जीवनमा कहिल्यै चुनाव हारेनन्। २०४९ सालमा उनी नेपालको सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति निर्वाचित भएका थिए। त्यसैगरी २०५३ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए। उनी मन्त्री हुनुभन्दा पहिला संसद्को विकास समितिका सभापति थिए।
उनी पोखराबाट तीनपटक प्रत्यक्ष चुनाव लडेका थिए। ती सबै चुनावमा उनी हारेनन् । तर, ब्ुधबार भएको हेलिकोप्टर दुर्घटनामा उनी हारे र यो संसार छोडेर गए।
अधिकारीको बाल्यकाल र शिक्षा
०२६ बैशाख मा र कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मेका रबिन्द्र अधिकारीले आफ्नो गाऊँकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हांसील गरेका थिए।
बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक थिए। जसका कारण उनलाई शिक्षाका लागी राम्रो बाताबरण घरदेखि नै थियो। सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न भएकाथिए। बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगाएतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित बिद्यार्थी थिए। उनीहरुले हजारौं दर्शकको बिचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम बिद्यालय जीबनमै प्रदर्शन गरेको कुरा कसी बाट पनि छिपेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४