काठमाडौं – पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले शनिबार मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले शनिबार र आइतबार देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मङ्गलबार रातिदेखि बुधबार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ। आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको मौसमविद् कँडेलले बताए।
शनिबार मध्याह्नदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकमत तापक्रम २५.५ डिग्री र न्युनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको छ। त्यस्तै सबैभन्दा बढी विराटनगरको अधिकमत तापक्रम २८.४ डिग्री सेल्सियस रहेको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४