काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता जारी राख्न रुसमाथिका केही प्रतिबन्ध स्थगित गरेको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसलाई वार्ताबाट टाढा धकेल्ने कुनै कदम चाल्न नचाहेको बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार प्रतिबन्ध ६० दिनका लागि स्थगित गरिएको हो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसको पक्ष लिनु अमेरिकाका लागि ऐतिहासिक गल्ती हुने बताएका छन्। उनले रुसी तेल तथा डिजेलको कारोबारले रुसको युद्ध अभियानलाई सहयोग पुग्ने भन्दै अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
सन् २०२२ फेब्रुअरीदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेका बेला अमेरिकी निर्णयले वासिङ्टन र किएभबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ।