काठमाडौं- भारतको पश्चिम बङ्गालस्थित कोलकातामा शनिबार साँझ दुर्गा पूजा पण्डालमा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन्। घटनामा २५ जना घाइते भएको विवरणमा उल्लेख छ।
कोलकाताको चोरबागान दुर्गा पूजा पण्डालमा भएको घटनामा कोलकाता मेडिकल कलेजका स्रोतले भने २० जनाको मृत्यु र ४५ जनाभन्दा बढी घाइते भएको दाबी गरेका छन्। मृतक तथा घाइतेको सङ्ख्याबारे फरक विवरण सार्वजनिक भएका छन्।
कोलकाता प्रहरीका अनुसार शनिबार साँझ वर्षा भएपछि पानीबाट जोगिन धेरै मानिस पण्डालभित्र बसेका थिए। साँझ बाहिर रहेका मानिसले पनि भित्र प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको थियो। त्यसपछि भागदौड मच्चिएको बताइएको छ।
घटनापछि पण्डालका बत्ती निभाएर मानिसको प्रवेश रोकिएको थियो। सुरक्षाका कारण सहरका अन्य केही दुर्गा पूजा पण्डालसमेत बन्द गराइएको विवरणमा उल्लेख छ।
कोलकातामा दुर्गा पूजा मनाउन करिब ३ हजार ५०० पण्डाल निर्माण गरिएको छ।