आइतबार, कात्तिक १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तान सीमामा गोली हानाहान, सात पाकिस्तानी सैनिकको मृत्यु

अफगानिस्तान सीमामा गोली हानाहान, सात पाकिस्तानी सैनिकको मृत्यु

 |  आइतबार, कात्तिक १, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १, २०८३

काठमाडौं- पाकिस्तान र अफगानिस्तानको सीमामा भएको भीषण गोली हानाहानमा सात पाकिस्तानी सैनिकको मृत्यु भएको छ। सञ्चारमाध्यमका रिपोर्टअनुसार विवादित डुरान्ड रेखामा दुवै देशका सुरक्षाकर्मीबीच झडप भएको हो।

पाकिस्तानले जवाफी कारबाहीमा अफगान तालिबानका लडाकुहरू मारिएको र उनीहरूको एउटा सैन्य अखडा ध्वस्त पारेको दाबी गरेको छ। यद्यपि, दुवै पक्षले एकअर्कालाई गोलीबारी सुरु गरेको आरोप लगाएका छन्।

पाकिस्तानका अनुसार अफगान सीमा सुरक्षाकर्मीले कुनै उक्साहटबिना खैबर पख्तुनख्वा प्रान्तको उत्तरपश्चिमी कुर्रम जिल्लास्थित पाकिस्तानी जाँच चौकीमा गोली चलाएका थिए। त्यसपछि पाकिस्तानी सेनाले जवाफी कारबाही गरेको उसको भनाइ छ।

अफगान सुरक्षा स्रोतहरूले भने पाकिस्तानी सैनिकले पहिले गोली चलाएको र अनुमति नलिई सीमा चौकी निर्माण गर्न खोजेको आरोप लगाएका छन्। अफगान पक्षले जवाफी कारबाहीमा पाकिस्तानी सैनिकलाई क्षति पुर्‍याएको दाबी गरेको छ।

संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनअनुसार सन् २०२६ मा सीमापार हिंसाका कारण अफगानिस्तानमा ११०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय सीमा क्षेत्रमा सैन्य तनाव बढ्दै गएको छ।

पाकिस्तानले अफगानिस्तानको तालिबान प्रशासनले तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकुलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। टीटीपीले अफगानिस्तानको भूमिबाट पाकिस्तानमा आक्रमणको योजना बनाउने र कार्यान्वयन गर्ने गरेको इस्लामाबादको दाबी छ। तर, काबुलले यी आरोप अस्वीकार गर्दै आएको छ।

अफगान तालिबान र टीटीपीबीच निकट सम्बन्ध रहेको बताइन्छ। सन् २०२१ मा अफगान तालिबान पुनः सत्तामा फर्किएपछि पाकिस्तानले टीटीपीलाई लक्षित गर्दै अफगानिस्तानभित्र पनि आक्रमण गरेको छ।

गत अक्टोबर १ मा पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई आक्रमणमा महिला र बालबालिकासहित नौ जनाको मृत्यु भएको तथा ११ जना घाइते भएको तालिबान प्रशासनले जनाएको थियो।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा तीनवटा घर ध्वस्त भएको दाबी गर्दै त्यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन भनेका थिए। पाकिस्तानले भने अफगानिस्तानमा रहेका दुई आतङ्कवादी अखडालाई लक्षित गरी आक्रमण गरेको र त्यसमा कम्तीमा २२ लडाकु मारिएको दाबी गरेको थियो।

प्रकाशित: Oct 18, 2026| 13:31 आइतबार, कात्तिक १, २०८३
प्रतिक्रिया दिनुहोस्