काठमाडौं- फागुन चौथो साता काठमाडौंस्थित भृकुटीमण्डपमा ‘१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५’ हुने भएको छ। नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले महोत्वस गर्न लागेको हो।
‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने नारा रहेको महोत्सव फागुन २३ देखि २७ गतेसम्म आयोजना हुन लागेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। अयोजकका अनुसार सोही महोत्वसवमा तेश्रो प्राङ्गारिक कृषि मेला-२०७५ समेत आयोजना गरिने जनाएको छ।
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले महोत्वसवमार्फत मुलुकमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहने बताए। ‘उद्योगहरूमा नयाँ पुस्ता हस्तान्तरणको समस्या छ,’ उनले भने ‘ती पक्षहरुलाई महोत्सवले सम्वोधन गर्ने छ।’ उनका अनुसार एक अर्काबाट सिक्न तथा ज्ञान र शिप आदान प्रदान गर्ने उद्देश्यले लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडिदेखि नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ।
महोत्सवमा मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै उद्योगको उत्पादनलाई समावेश गरिने छ। साथै बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव लगायतको पनि प्रदर्शनी रहने आयोजकको भनाइ छ।
प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ। प्रदर्शनीमा दुई सय स्टल सहभागी हुने बताइएको छ। सात करोड रुपियाँभन्दा बढीको व्यवसाय हुने अपेक्षा गरिएको महोत्सवमा दुई लाख भन्दाबढीले अवलोकन गर्ने अनुमान गरिएको छ।
महोत्सवमार्फत नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा भेटाउने आयोजकले जनाएको छ। उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दे उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने प्राङ्गारिक कृषि मेला सहयोगी बन्ने अयोजकले विश्वास लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४