काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बैंकिङ कर्मचारीहरु चनाखो हुनु पर्ने सुझाब दिए। उनले नेशनल बैंकिङ इन्स्टिच्यूट(एनबिआइ) स्थापनाको दशौं बर्ष पुगेको उपलक्ष्यमा राजधानीमा आयोजित सम्मेलनमा उनले बैंकिङ कर्मचारी चनाखो हुनु पर्ने बताए।
सम्मेलनमा उनले समय सापेक्ष जोखिम बारे जानकारी दिन अनिवार्य रहेको सुझाएका हुन्। ‘समग्रमा बैंकिंङ व्यवसाय नै जोखिमसँग सम्बन्धित रहेकोले यस बिषयमा बैकिंङ क्षेत्रमा कार्यरत रहेका कर्मचारी थप चनाखो हुन आवश्यक छ,’ उनले भने ‘एनबिआईले समय सापेक्ष सञ्चालन गरेका बिभिन्न तालिम, सेमिनार, गोष्ठीले यो खाडललाई केही हदसम्म पुरेको छ।’
सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले देशको बैंकिंङ क्षेत्रमा अहिले क्षमतावान एवं नैतिकवान कर्मचारीको आवश्यकता रहेको बताए। त्यसका लागि दक्ष एवं निपूर्ण कर्मचारी उत्पादन गर्न एनबिआईले महत्वपूर्ण भूमिका खेलेको बताए। एक संस्थापकको रुपमा, नियमनकारी निकायको रुपमा तथा श्रोत ब्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकले सदैव एनविआईलाई सहयोग गरिरहेको भन्दै त्यो निरन्तर रहने उनको भनाइ छ।
सम्मेलनमा क्षेत्रियस्तरका बिभिन्न देशहरुबाट आमन्त्रित बिज्ञहरुले समेत आ-आफ्नो धारणा राखेका थिए। स्टेट बैंक भारतका एमडि दिनेश खारा, आईडिएफसी बैंकका एमडि तथा सिईओ भि बैद्यानाथ लगायतका सहभागीता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४