काठमाडौं- नेपालको समग्र वित्तीय विश्लेषकहरुको संस्थाको रुपमा एसोसिएशन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको औपचारिक उद्घाटन भएको छ। संस्थाको उद्घाटन गर्दै शनिबार नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले देशमा राजनीतिक स्थिरता आएसँगै लगानीको वातावरण बन्दै गएको र उचित लगानीका लागि वित्तीय विश्लेषणको महत्व रहेको बताए।
‘वित्तीय साक्षरता र वित्तीय पहुँच बढ्दै गएको छ। सरकारले एक स्थानीय तह कम्तीमा एक बैंकको नीति लिएकाले यसले व्यापार बढाउन मद्दत गर्छ,’ उनले भने ‘भुक्तानी प्रणाली आधुनिकीकरण भएको छ। लगानीको वातावरण बन्दै गएको छ।’ वातावरण निर्माणसँगै लगानी वृद्धि हुँदै वित्तीय अवस्था सुधार हुने उनको धारणा छ।
वित्तीय क्षेत्रहरुको विश्लेषणमार्फत नेपालमा समग्र सामाजिक हितको लागि लगानी र पुँजी बजारमा नैतिकता, व्यावसायिकता र पारदर्शीता बढाउने उद्देश्यले चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए) संलग्न सो संस्था नेपालमा स्थापना भएको जनाइएको छ।
गत बर्षको अप्रिलमा एसोसिएशन गैर नाफामुलक संस्थाको रुपमा दर्ता भएको थियो। एसोसिएशनका अनुसार सीएफए पूरा गरेका एनालिष्टहरु नेपालमा १२ जना मात्र छन् भने ३ सय १७ विद्यार्थी अध्ययनरत छन्।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको नियामकको हिसाबले नेपाल धितोपत्र बोर्ड लगानीको सुरक्षा गर्न सधै प्रयास गरिरहेको बताए। उनले बोर्ड लगानीकर्तालाई आत्मविश्वासी बनाउन प्रयासरत रहेको जानकारी दिए। सिएफए एसिया प्यासिफिकका निक पोलार्डले प्रोफेसनल इन्भेष्टमेन्टले पुँजी बजारको नैतिक विकासमा सहयोग पुर्याउने बताए।
क्रियाशिल चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरुको शुक्रबार नै सम्मेलन पनि भएको छ। सम्मेलनमा चार्टर फाइनान्सियल एनालिष्टको क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञहरु, विद्यार्थीहरु, धितोपत्र बोर्डका प्रतिनिधिहरु लगायतका सहभागीता थियो। एसोसिएशनका अध्यक्ष डा. मनोज शाहीले साना लगानीकर्ताहरुको हितका लागि तथा समग्र वित्तीय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधिहरु बढाउने प्रतिवद्धता गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४