जनकपुरधाम- आफ्नै अपहरणको झुटो नाटक गरेर अभिभावकसँग फिरौती रकम लिन खोज्ने तीनजना प्रहरीको फन्दामा परेको छ।
पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका-१७ बेलौनीका २२ वर्षीय अजयकुमार साह, वडा नम्बर २३ का समसाद नदाफ र रौतहट गढीमाई नगरपालिका–८ का अरविन्द यादव रहेको प्रहरीले जनाएको छ।
अपहरण भएको झुटो नाटक गरी अभिभावकसँग ५ लाख रकम ठग्न चाहेका थिए भने समसाद र अरविन्दले सहयोग गरेको शुक्रबार पत्रकार सम्मेलनमा धनुषाका एसपी शेखर खनालले जानकारी दिए।
साथीको जन्म दिन मनाउन गएका अजय अपहरणमा परेको र रिहा गर्न १५ लाख फिरौती दिनुपर्ने भन्दै अरविन्दले अजयका अभिभावकलाई फोन गरेका थिए । छोरा अपहरणमा परेको भन्दै अजयका अभिभावकले प्रहरीमा उजुरी गरेका थिए।
पछि ५ लाख फिरौती दिने सहमतीअनुसार रकम लिन उनीहरुले अजयका अभिभावकलाई महोत्तरीको बर्दिवास आउन भनेका थिए । काठमाण्डौं लुकेर बसेका तीनैजना फिरौती रकम लिन बर्दिवास पुगेपछि प्रहरीले पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा घटनाका मुख्य योजनाकार अजय रहेको खुल्न आएको एसपी खनालले जानकारी दिए।
अजयले मोटरसाइकल खरिद गरी भारतको गोवा घुम्न जाने योजनाका साथ अपहरणको नाटक रचेको प्रहरीको अनुसन्धानमा खुलेको छ। पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक हतसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४