शनिबार, साउन १६, २०८३

ड्राइभिङ लाईसेन्स पास फेल अब एसएमएसबाटै थाहा पाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए नभएको जानकारी एसएमएसबाटै लिन सकिने सेवाको शुरुवात गरेको छ। साथै, ट्रायल पास भएर वा नवीकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका आवेदकले आफ्नो लाइसेन्स प्रिन्ट भएनभएको थाहा पाउन पनि अब विभागमा पटक-पटक जानु नपर्ने जनाएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावन्य कुमार ढकाल र स्पेरो एसएमएस प्रालिका प्रबन्ध निर्देशक अरविन्द शाहले विभागको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा उक्त सेवाको शुरुवात गरेको जानकारी गराइएको छ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन डब्लु टी लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर ३३००१ मा एसएमएस गर्न सक्ने छ। एसएमएस पठाउनासाथ उतिर्ण वा फेल जे भएको छ त्यसको म्यासेज सम्बन्धित व्यक्तिले पाउने बताइएको छ।

त्यस्तै आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए-नभएको थाहा पाउनका लागि क्यापीटल लेटरमा एलसी टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी ३३००१ मा एसएमएस गर्न सकिनेछ। त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर उपलब्ध हुने बताइएको छ। 

उक्त प्रणालीको शुरुवात गर्दै महानिर्देशक ढकालले एसएमएसमार्फत सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको परिणाम कुर्दै गरेका र स्मार्ट ड्राइभिङ लाईसेन्स कुर्दै गरेका सेवाग्राहीलाई अब सूचना प्राप्त गर्न सहज हुने बताए।

नेपालमा चार वर्ष पहिले कागजी लाइसेन्स हटाएर ‘स्मार्ट’ चालक अनुमतिपत्रको वितरण थालिएको थियो। यसमा देखिनेगरी चालकसँग सम्बन्धित फोटोसहितका विवरणहरु राखिएका हुन्छन्। यसबाहेक यसमा सीमकार्डमा जस्तै धातुको चिप जडान गरिएको हुन्छ जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिन्छ।
 
डाटालाई विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सक्छन्। कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राखिनेछ। आधुनिक प्रविधि र उत्कृष्ट गुणस्तरको लाइसेन्स नक्कली छाप्न नमिल्ने, आगोले नड्ढने, अक्षर नमेटिने, सेवाग्राहीमैत्री र ई-गभर्नेन्स लागू गर्न सहयोगी हुने यातायात व्यवस्था विभागको विश्वास छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्