काठमाडौं- राजस्व छल्न खोज्ने भन्सार अधिकृतसहित ८ जनामाथि मुद्दा दायर भएको छ। एक आपसमा मिलेमतो गरी भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी वास्तविक तिर्नु पर्ने राजस्व नतिरी राजस्व चुहावट गरी/गराई मालवस्तु पैठारी गरीएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बुधबार विशेष अदालत काठमाडौंमा सजाय र मागदावी गर्दै मुद्दा दायर गरेको हो।
आयोगका अनुसार चुहावटको कसुरमा रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत पवित्रकुमार खड्का, नायव सुव्वा धिरजकुमार थापा, धनी एवं प्रोपराईटर सुमन श्रेष्ठ, रन्जन त्रिपाठी, गाडीधनी धनबहादुर तामाङ, आकाश श्रेष्ठ, निरन्जन त्रिपाठी र गाडी चालक डम्बरबहादुर श्रेष्ठ रहेका छन्। उनीहरुविरुद्ध सात करोड ५९ लाख ६३ हजार रुपैयाँ विगो दावीसहित सजायको माग गरिएको छ।
राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुरको मंसिर २५ गतेको पत्रसाथ प्राप्त कागजातका प्रतिलिपीबाट रसुवा भन्सार कार्यालय टिमुरे र सुवाको प्रज्ञापनपत्रअनुसार चाइल्ड भेष्ट, बेबी इलास्टिक कट्टु, इलास्टिक कट्टु, भेष्ट भनी जाँचपास गरी मालबाहक ट्रकमा लोड गरी काठमाण्डौतर्फ ल्याउदै गरिएको थियो।
उजुरीको आधारमा अनुसन्धान गर्दा एउटा मालवस्तुलाई अर्कै मालवस्तु, एक प्रकारको पदार्थबाट निर्मित मालवस्तुलाई अर्कै पदार्थबाट निर्मित मालवस्तु, मालवस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तर मध्ये सबै वा कुनै कुरा फरक घोषणा गरीएको थियो। जसबाट वास्तविक रुपमा तिर्नु र बुझाउनु पर्ने राजस्व रकमभन्दा कम राजस्व तिरी काठमाण्डौतर्फ ल्याउदै गरेको अवस्थामा उक्त मालवस्तु वरामद गरिएको अयोगका प्रवक्ता रामेश्वर दंगालले जानकरी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४