काठमाडौं- विभिन्न मित्रराष्ट्रहरुका लागि नियुक्त भएका नवनियुक्तराजदूतहरु एवं नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच आइतबार भेट तथा छलफल कार्यक्रम भएको थियो।
परिसंघका पदाधिकारीहरुले भारत, इजरायल, मलेसिया, युएई, फ्रान्स, कुवेत, क्यानडा, थाइल्याण्ड तथा संयुक्त राष्ट्रसंघका लागि नियुक्त राजदूतहरुसँग भेट गरेको थियो। भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा राजनीतिक स्थिरता आएको बताए। सरकारले आर्थिक समृद्धि र लगानी विस्तारमा विशेष जोड दिएको भन्दै सोहीअनुसार लगानीमैत्री कानुनहरुको तर्जुमा गरेको स्थितिमा नवनियुक्त राजदूतहरुको भूमिका समेत फेरिएको महशूस गरेको धारणा राखे। उनले सम्बन्धित देशसँग नेपालको निजी क्षेत्रबीचको सहकार्य, सम्बन्ध विस्तारमा राजदूतहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै त्यसबाट नेपालमा लगानी वृद्धिमा सहयोग पुग्ने विश्वास गरे।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आर्थिक कुटनीतिकको वर्तमान सन्दर्भमा राजदूतहरुको भूमिका राजनीतिक कुटनीति मात्र नभइ बजार प्रतिनिधिको समेत हुनुपर्ने धारणा राखे। उनले उक्त सम्बन्धमा जोड दिदै अबको कुटनीति निजी क्षेत्रसँगको सहकार्य, समझदारी र संलग्नताको अभावमा सफल नहुने भएकोले नवनियुक्त राजदूतहरुले यस विषयमा विशेष प्राथमिकता दिइ कार्ययोजना बनाउनु पर्ने धारणा राखे।
भारतका लागि नवनियुक्त राजदूत निलम्बर आचार्यले अबको दूतावासहरुले व्यवसायलाई जोड दिदै युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई प्राथमिकता दिने बताए।
छलफल इजरायलका राजदूतहरु अञ्जन शाक्य, मलेसियाका राजदूत उदयराज पाण्डे, यूएइको राजदूत कृष्णप्रसाद ढकाल, फ्रान्सका राजदूत दिपक अधिकारी, कुवेतका राजदूत दूर्गा प्रसाद भण्डारी, क्यानडाका राजदूत भृगु ढुङ्गाना, थाइल्याण्डका राजदूत गणेश प्रसाद ढकाल, यूएन जेनेभाको राजदूत मणीप्रसाद भट्टराई र यूएन न्यूयोर्कको राजदूत अमृतबहादुर राईले आ-आफ्नो धारणा राखेका थिए। उनीहरुले नेपालमा लगानी भित्र्याउने एवं नेपालको लगानीमैत्री वातावरण बारे पैरवी गर्ने जानकारी दिए। साथै आ-आफ्नो तहबाट निजी क्षेत्रसँग सहकार्य र सम्बन्ध विस्तारमा प्रयासरत रहने उनीहरुले विश्वास दिलाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४