शुक्रबार, साउन १५, २०८३

नेपाल-साउदी अरेबिया श्रम सम्झौता कहिले ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले साउदी अरेवियालाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको बताए। अर्थ मन्त्रालयमा साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानबीचको भेटवार्तामा अर्थ मन्त्री खतिवडाले नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।  

सोही अबसरमा साउदी अरेबियाका राजदूतले नेपालमा लगानी र सहयोग गर्न साउदी तयार रहेको बताए। साथै उनले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे। उनले दुई देशको कूटनीतिक तथा राजनीतिक सम्बन्ध अझै प्रगाढ र बलियो बनाउन साउदी सरकार तयार भएको भन्दै श्रमिकहरुका सम्बन्धमा हुन लागेका सम्झौता छिट्टै निष्कर्षमा पुग्ने जानकारी दिए। नेपाल-साउदी अरेबियाको कुटनीतिक सम्बन्ध चार दशकअघिदेखि नै रहेको बताउदै साउदी अरेबियाको विकास निर्माणका काममा नेपाली कामदारहरुको महत्वपूर्ण भूमिका भएकोमा उनले खुसी व्यक्त गरे।  

भेटका अवसरमा अर्थमन्त्री खतिवडाले साउदी अरेवियासँग भएको स्रोत नेपालमा लगानीको लागि राम्रो अवसर भएकाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे। नेपालको सिंचाई, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई मन्त्री अतिवडाले आभार प्रकट गरे। उनले करिब ४ लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै साउदी अरेविया नेपालीका लागि दोस्रो घर भएको स्मरण गराए। साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरिबी न्युनिकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण भूमिका खेलेको धारणा राखे।

मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्ताहरुलाई बढिभन्दा बढि सहभागी गराउन दूतावासमार्फत सन्देश प्रवाह गर्न आग्रह गरे। नेपालमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेको उनले जानकारी दिए। जसबाट साउदी नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्राउने र नेपाली कामदारलाई सिधै आवतजात गर्न सहज हुने उनको भनाइ छ। 

जलवायु परिवर्तनको विश्वव्यापी मुद्दामा साउदी अरेबियाले नेतृत्वदायी भूमिका खेल्न अर्थमन्त्री खतिवडाले साउदी अरेबियालाई शुभकामना दिए। भेटमा साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानले पनि साउदी अरेबिया फण्डमार्फत नेपालमा भुकम्पपछिको पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र निजीआवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको जानकारी दिए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्