काठमाडौं- रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको पाइएको छ। नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव (ग्राहक नं ००८.१३.०१) र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादव (ग्राहक नं ०७.२०.०३ ए) र गरुडा नगरपालिका-१ का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं १८.०८.१९)ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेला पारेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौर क्षेत्रमा विद्युत चोरी अत्याधिक रहेको गुनासो आएपछि महाशाखाका इन्जिनियर प्रदिपकुमार शर्माको नेतृत्वमा छड्के चेकजाँच टोली खटाएका थिए। जनताबाट निर्वाचित मेयर र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको घिसिङले बताएका छन्।
टोलीले गत १४-२० माघमा रौतहटमा गरेको छड्के चेकजाँचको क्रममा गढीमाई नगरपालिकाको बिनगरमा रहेको दुईवटा घरमा मेयर श्यामप्रसाद यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेला पारेको बताएको छ। टोलीले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण मेयरको घरमा राखिएको मिटर खोल्न नसकिएको जानकारी दिए। टोलीका अनुसार घर पछाडि रहेको प्राधिकरणको वितरण लाइनबाट हुकिङ गरेर ल्याएको तारबाट एउटा घरमा बिजुली प्रयोग गरिएको रहेछ। त्योभन्दा अलि पर रहेको अर्को घरमा मिटर छ। त्यहाँबाट पनि चोरी गरेर वत्ति बालिएको घरमा लाइन ल्याइएको छ। सो घरमा चोरी गरेको र नगरिएको दुवै लाइन जोडिएको रहेछ। टोलिले हुकिङ काट्यो तर चोरीको वत्ति प्रयोग गरिरहेको फेला परेपछि मान्छेको भीड जम्मा भयो मिटर भने खोल्न दिएनन्।
मेयरले विद्युत चोरी गरेको मुचुल्का तयार गरेको र त्यसमा मेयरका भाइ संजिवकुमार यादवले सही गरेको छ। मुचुल्लाको फाइल गौर शाखालाई दिएर विगो तथा त्यसमा लाग्ने जरिवाना लगायतका कानुनी कारबाही गर्न निर्देशन प्राधिकरणले दिएको छ।
टोलीले गढीमाई नगरपालिकाको वडा नम्बर ६का वडाध्यक्ष रामसिंघासन यादवले आफ्नो घरमा वडा कार्यालयमा र धरमपुर स्वास्थ्य चौकीमा चोरीको विद्यत् प्रयोग भइरहेको फेला पारेको छ। टोलीका अनुसार वडाध्यक्षको घरमा धेरै विद्युत खपत गर्ने सामाग्री प्रयोगमा रहेछन्। मिटरको सर्भिस केबल खोली राखेको तर हुकिङमार्फत घरमा वत्ति प्रयोग गरिएको रहेछ। त्यस क्षेत्रमा चोरी अत्याधिक रहेकाले विद्युत आपूर्ति गर्ने ट्रान्सफर्मरबाट लाइन काटेर आएको जनाइको छ।
गरुडा नगरपालिका १ का वडाध्यक्ष्यक्ष सरोज राय यादवले मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गरेका थिए। टोलीकाअनुसार, वडाध्यक्षले आफ्नो घरमा मात्रै हैन दाजुभाइको घरमा समेत चोरीको विद्युत दिएको जनाइएको छ। वडाध्यक्षहरुले चोरी गरेको विद्युतको विगो र त्यसमा लाग्ने जरिवाना लगायतका कानूनी कारबाही गौर वितरण केन्द्रले गर्ने बताइएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी हरेक बितरण तथा ग्राहक सेवा केन्द्रलाई चुहावट घटाउने टार्गेट दिएका छन्। पछिल्लो समय चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा बितरण लाइनको सदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइएको छ। प्राधिकरणले बढी विद्युत चोरी हुने क्षेत्रमा लोडसेडिङ गर्ने, विद्युतको नियमित आपूर्तिका लागि टान्सफर्मर नथप्ने तथा मर्मत समेत नगर्ने नीति लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४