शुक्रबार, साउन १५, २०८३

नयाँ वर्षमा जनकपुरदेखि जयनगर रेल सरर...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ। 

मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको हो। 

सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरीदका लागि ५० करोड रुपैयाँ विनियोजन गरेकोमा दुईवटा रेल खरीदका लागि उक्त बजेटले पुग्ने अवस्था नरहेको विभागको भनाइ छ। विभागकाअनुसार दुई वटा रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कम्तीमा पनि एक अर्ब ५० करोड आवश्यक पर्छ। यसका लागि अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध हुने विश्वास दिलाइएको छ। 

मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएपछि खरिद प्रक्रिया शुरु भएको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए। 

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारी स्तरबाटै रेलका इञ्जिन खरीद गर्न लागेको हो। सरकारीस्तरमा नै दुई वटा रेल खरीद गरिनेछ। त्यसका लागि विभागले भारतका सरकारी कम्पनीसँग प्रस्ताव गरेको छ। केही प्रस्ताव भने प्राप्त भइसकेको जनाइएको छ। 

रेलका साथै कर्मचारी तथा प्राविधिक पनि आवश्यक पर्ने भएकाले नेपाली प्राविधिक तथा कर्मचारीलाई तालीम दिन जुन कम्पनीसँग रेल खरीद गरिन्छ त्यसैसँग सम्झौता गर्ने तयारी विभागको छ। 

पहिलो चरणमा कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने तयारी भएको छ। रेलमार्गमा एक चरणको परीक्षण सम्पन्न भइसकेको छ। पुनः एक पटक नेपाली प्राविधिकसहित भारतीय प्राविधिकले पनि रेलमार्गको अनुगमन गर्ने भएको छ। 

रेल नआइकन रेल चल्ने समय यकिन नभएको प्रवक्ता चित्रकारको भनाइ छ तर पनि रेल आएको खण्डमा भने नयाँ वर्षको शुरुआतदेखि सञ्चालनमा ल्याइने तयारी भएको उनले बताए। 

बर्दिवास-जनकपुर-जयनगर-कुर्था-विजयपुराको कूल लम्बाइ ६९ किलोमिटर छ। त्यसमा पनि ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेर हस्तान्तरण गर्ने अवस्थामा पुगेको छ । अन्य खण्डको भने निर्माण जारी रहेको बताइएको छ । पहिलो चरणमा जयनगर-कुर्था, दोस्रो चरणमा कुर्था-भङगहा १७ किलोमिटर तथा तेस्रो खण्डमा भङ्गहा-बर्दिवास १७ किलोमिटर गरी कूल ६९ किलोमिटर लामो रेलमार्ग विस्तार गरी सञ्चालनमा ल्याइनेछ। 

निर्माण भएको रेलमार्ग भने केही दिनभित्रै भारतीय पक्षले नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी गराएको छ। भारत सरकारको १० अर्ब रुपैयाँ सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो। निर्माण भएको रेलमार्ग ब्रोडगेज हो। 

यस्तै विभागले अगाडि बढाएको केरुङ–काठमाडौँ, रक्सौल काठमाडौँ रेलमार्ग पनि अध्ययनको क्रममा छ। काठमाडौँ उपत्यकामा नै थानकोट-धुलिखेल मेट्रो रेल र सातदोबाटो-बूढानीलकण्ठ मेट्रो रेल निर्माणका लागि अध्ययन भइरहेको छ। 

यस्तै पूर्व-पश्चिम विद्युतीय रेलमार्गको पनि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य जारी रहेकामा हेटौँडा-भरतपुर खण्डको राष्ट्रिय निकुञ्जलाई छलेर डिपिआर तय गर्ने काम गरिने भएको छ। आगामी एक वर्षभित्र सो कार्य सम्पन्न हुने विभागको भनाइ छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्