शुक्रबार, साउन १५, २०८३

चीनबाट निरन्तर सहयोगको प्रतिबद्धता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, ऊर्जा, भूकम्पपछिको पुनःनिर्माणलगायत परियोजनामा चीन सरकारबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त भएको छ। 

नेपालका लागि चीनका राजदूत हउ यान्छीले अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा भेटेर त्यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्। उनले नेपाल सरकारको आर्थिक विकास र समृद्धिको लक्ष्य साकार पार्न चीनले सघाउने प्रतिबद्धता व्यक्त गर्दै नेपालसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न चाहेको बताइन्। 

चिनियाँ राजदूतले आगामी चैत १५ र १६ गते नेपालमा हुने लगानी सम्मेलनमा धेरैभन्दा धेरै चीनका लगानीकर्तालाई सहभागी गराउन प्रयास हुने जानकारी दिइन्। चिनियाँ राजदूतले आफ्नो देशको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका आयोजनामा प्रयोग हुने सामग्रीमा कर छुटको व्यवस्था गर्न आग्रह गर्दै निर्धारित समयमा ती आयोजना पूरा गर्न नेपाल सरकारका मन्त्रालय र निकायबाट समन्वय र सहयोगको वातावरण बन्नेमा आफू ढुक्क रहेको बताइन्। 

प्रत्युत्तरमा मन्त्री खतिवडाले चीनसँग सीमा जोडिएका व्यापारिक नाका सञ्चालन भएमा नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने वास्तविकता सुनाउँदै दुई देशबीचमा हुने अनौपचारिक व्यापारलाई औपचारिक रुपमा रुपान्तरण गर्न जोड दिएका थिए। नेपाल र चीनबीच भएका व्यापारिक सम्झौतालाई समयसापेक्ष परिमार्जन र सुधार गर्न आवश्यक भएको बताउँदै अर्थमन्त्रीले चिनियाँ बैंकका शाखा नेपालमा विस्तारका निम्ति प्रयास गर्न अनुरोध गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्