काठमाडौं – जनता बैंक नेपाल लिमिटेड र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिबृद्धि कार्यक्रममा सहकार्य सम्बन्धी संझौता भएको छ। संझौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले आइतबार हस्ताक्षर गरेका हुन्।
टिच फर नेपालले ग्रामिण क्षेत्रमा रहेका सरकारी विद्यालयमा फेलो शिक्षकहरु खटाई शैक्षिक असमानता घटाउने कार्यमा सहयोग गर्दै आएको छ। हाल टिच फर नेपालले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्साको ग्रामिण क्षेत्रका ५१ विद्यालयमा ११० जना फेलो (प्रद्यार्थी) शिक्षकहरु मार्फत करिव १० हजार विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिमा कार्य गरिरहेको छ।
संझौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट टिच फर नेपाललाई बार्षिक पाँच लाखप्रदान गर्नेछ। उक्त कोषबाट टिच फर नेपालले विद्यालयहरुमा महत्वपूर्ण विषयका दक्ष जनशक्तीलाई फेलो शिक्षकको रुपमा खटाउने छ।
यसरी खटाइएका फेलो शिक्षकहरु शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यमा सरिक हुनेछन्। बैंकले यस सहयोगबाट ग्रामिण क्षेत्रका विद्यालय र सहरी क्षेत्रका विद्यालयको बिचमा हुने शैक्षिक असमानता कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४