बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषिलाई आत्मनिर्भर हैन प्रतिस्पर्धी बनाउन अर्थमन्त्रीको निर्देशन 

कृषिलाई आत्मनिर्भर हैन प्रतिस्पर्धी बनाउन अर्थमन्त्रीको निर्देशन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले कृषकको आर्थिक अवस्था सुधार्न उत्पादनलाई विश्व बजारसँग प्रतिस्पर्धी गर्न सक्ने बनाउनुपर्ने बताए। बिहीबार काठमाडौंमा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ११ औँ वार्षिक साधारण सभामा मन्त्री खतिवडाले कृषि सहकारीहरुले आयात प्रतिस्थापनमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अब विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने उत्पादनमा केन्द्रीत हुनुपर्ने जोड दिए।

उनले खुला अर्थनीति अबलम्वन गरेको नेपालले अब कृषि उत्पादन पनि विश्व बजारसँग प्रतिसपर्धा गर्न सक्ने गरी उत्पादन गर्नुपर्ने जनाए। नेपालको कृषि सामाग्रीको प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सरकारले सहयोग गर्ने उनको भनाइ छ।

एक फरक प्रसंगमा अर्थ मन्त्री खतिवडाले आगामी पाँच वर्षभित्र देशलाई गरिबी उन्मुलन देश बनाउने प्रतिवद्धता गरे। यसका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै गरिबी उन्मुलनमा कृषि क्षेत्रले गर्ने कामको योजना ल्याउन आग्रह गरेका छन्।‘सहकारीले लघु बिमा शुरु गरेर पशु र कृषि बिमा गर्ने हो भने यसका लागि सरकार प्रोत्साहन गर्न तयार छ,’ उनले भने।

कृषि र सहकारी क्षेत्रबाट उत्पादनमुलक कार्यका लागि आउने प्रस्तावलाई सरकारले सहर्ष स्विकार गरी सहयोग गर्न तयार रहेको मन्त्री खतिवडाको भनाइ छ। साना किसान र कृषि सहकारीहरुले गरेको कामले आफु प्रभावित बनेको भन्दै आगामी दिनमा किसानको जीवनस्तर सुधार्न र उकास्न सरकार लागेको उनले जानकारी दिए। 

कार्यक्रममा नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले देशको आर्थिक विकासका लागि सहकारी आवश्यक रहेको बताए। उनका अनुसार आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको विकासका लागि पनि कृषि सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको बुझाइ छ।

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष केशव बडालले पिछडिएको दलित र अल्पविकसित समुदायको उन्नती प्रगतिका लागि कृषि सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए। 

उनका अनुसार गाउँमा कृषि सहकारीहरु पुगेर दिएको सेवा महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए।  नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले साना किसान समुदायको सकारात्मक परिवर्तनको सम्वाहक बन्न सफल भएको भन्दै यसलाई अझै समुदाय केन्द्रीत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्