बिहीबार, साउन १४, २०८३

किन ओरालो लाग्यो वैदेशिक लगानी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले आर्थिक समृद्धिको नारा घन्काइरहँदा वैदेशिक लगानी भने ओरालो लागेको छ। सरकारले अझै पनि लगानी आकर्षण गर्न प्रक्रियागत रुपमा सुधार गर्न नसक्दा लगानी बढ्न नसकेको हो।

चालु आर्थिक वर्ष ०७५/७६ को ६ महिना अघिल्लो वर्षको सोही अवधिमा भन्दा वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) २७ प्रतिशतले घटेको छ। उद्योग विभागको तथ्यांकअनुसार विगत ६ महिनामा दस अर्ब २३ करोड ३६ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ७४ लाख ७० हजार रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। अघिल्लो आवको तुलनामा चालु आवको सोही अवधिमा तीन अर्ब ७७ करोड ३८ लाख अर्थात् २६.९४ प्रतिशत वैदेशीक लगानी प्रतिबद्धता घटेको हो।

विभागका महानिर्देशक विनोदप्रकाश सिंहले यो वर्ष ठूला लगानीका क्षेत्र ऊर्जालगायतमा लगानी अघिल्लो वर्षभन्दा कम भित्रिएकाले समग्र वैदेशिक लगानीमा प्रभाव पारेको बताए। उनले अझै पनि अपेक्षा गरेअनुसार वैदेशिक तथा स्वदेशी लगानी भित्र्याउने प्रक्रियामा भने सहजता हुन नसकेको स्वीकारे। 

'सरकारले लगानी भित्र्याउन १०/१५ ठाउँमा जान पर्ने व्यवस्था अन्त्य गर्न एकल बिन्दु सेवा दिने तयारी गरिरहेको छ,' उनले भने, 'निर्देशिका बन्दैछ ।' उनका अनुसार तीबाहेक उद्योग क्षेत्रको विकासका लागि विभिन्न ऐनकानुन बनेका छन्। जसले गर्दा उद्योग क्षेत्र सुधारको बाटोतर्फ अघि बढेको छ।

एकल बिन्दु सेवाका लागि चालु आर्थिक वर्षभित्रै नीति, निर्देशिका बनाउने योजना रहेको उनको भनाइ छ।

अर्थविज्ञहरूले भने सरकारले अझै पनि ढुक्कले लगानी गर्ने वातावरण तथा विश्वास दिन नसकेकाले वैदेशिक लगानी भित्रिन नसकेको बताउँछन्। उनीहरुले बुहुप्रतीक्षित बूढीगण्डकी जलविद्युत् आयोजना, फास्ट ट्र्याक, पश्चिम सेती जलविद्युत्लगायतका राष्ट्रिय गौरव तथा ठूला अयोजनाप्रति सरकारले स्पष्ट धारणा बनाउन सकेको छैन। अर्थशास्त्री केशव आचार्य भन्छन्, 'विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्नका लागि पर्ख र हेरको अवस्थामा छन् । सरकारले ढुक्कले लगानी गर्ने विश्वासिलो वातावरण बनाउन सकेको छैन।'

अर्थविद् अच्युत वाग्लेले मुलुकमा विभिन्न कारणले वैदेशिक लगानी घटेको बताए। 'वैदेशिक लगानी घट्नुमा मुख्य पाँच कारण छन्,' उनले भने, 'अहिले कम्युनिस्ट पार्टीको सरकार छ। यसबाट निजी सम्पत्तिमाथिको स्वामित्व कुण्ठित रहने आशंका छ। जसकारण लगानी बढ्न सकेको देखिँदैन।'

उनका अनुसार यीबाहेक सरकारले लगानी आकर्षण गर्ने प्रस्ट नीति तथा योजना ल्याउन सकेको छैन। यसअघिका लगानीकर्ताहरुको पनि लगानीप्रतिको अनुभव राम्रो देखिएको छैन। आन्तरिक लगानीकर्ता नै मुलुकमा लगानीको वातावरण नभएको बताउँछन्।

त्यस्तै नेपालमा लगानीको जोखिम, क्षतिपूर्ति व्यवस्थापनलगायतका लागि 'हेजिङ मेकानिज्म' नभएको उनले बताए । 'यी यस्ता कारणले मुलुकमा वैदेशिक लगानी भित्रिन नसकेको हो', वाग्लेले भने।
 
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष सात क्षेत्रमध्ये चार क्षेत्रको वैदेशि लगानी प्रतिबद्धता घटेको छ। अघिल्लो आवको ६ महिना अवधिमा ऊर्जा क्षेत्रमा एक अर्ब ६९ करोड ५४ लाख रुपैयाँ विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्रिए पनि चालु आवको सोही अवधिमा उक्त क्षेत्रमा कुनै लगानी भित्रिन सकेको छैन।

त्यस्तै उत्पादनमूलक क्षेत्रमा गएको आवको तुलनामा यो आवको ६ महिनामा खनिज क्षेत्रमा ९९ प्रतिशत, कृषि तथा वनपैदावर क्षेत्रमा ९६ प्रतिशत, सूचना तथा प्रविधि क्षेत्रमा ३९ प्रतिशत, उत्पादनमूलक समूहमा २० प्रतिशत वैदेशिक लगानी घटेको छ। 

अघिल्लो आवको सुरुको छ महिना अवधिमा खनिज क्षेत्रमा दुई अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा  चालु आवको सोही अवधिमा घटेर एक करोड ३१ लाख रुपैयाँ मात्रै आएको छ। सूचना तथा प्रविधि क्षेत्रमा गएको वर्ष २५ करोड ७८ लाख वैदेशिक लगानी प्रतिबद्धता आएकोमा यो वर्ष घटेर १५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ। उत्पादनमूलक क्षेत्रमा गएको वर्ष पाँच अर्ब ७२ करोड ३२ लाख लगानी प्रतिबद्धता आएकोमा यो वर्ष घटेर चार अर्ब ५९ करोड ६३ लाख रुपैया मात्र पुगेको छ।

चालु आर्थिक वर्षको बितेको छ महिनामा २४ करोड रुपैयाँ वैदेशिक लागनी प्रतिवद्धता आएको छ। 

त्यस्तै सेवा क्षेत्रमा गएको वर्ष विभिन्न मुलुकको वैदेशिक लगानी एक अर्ब ६ करोड ४७ लाख रहेकोमा यो वर्ष बढेर एक अर्ब ४७ करोड ३४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रमा एक अर्ब ४० करोड ६२ लाखदेखि बढेर तीन अर्ब ६७ करोड ४४ लाख रुपैयाँ लगानी प्रतिबद्धता पुगेको छ। गएको आवको छ महिनाको वैदेशिक लगानीभन्दा ती क्षेत्रमा क्रमशः ३८ र १६१ प्रतिशत बढी वृद्धि भएको हो।

अघिल्लो आर्थिक वर्षको सुरु ६ महिनामा १६८ विभिन्न उद्योगधन्दा तथा कम्पनीमा भित्रिएको वैदेशिक लगानीबाट ६ हजार ७५६ रोजगारको प्रतिबद्धता आएको छ। चालु आवको सोही अवधिमा १९३ विभिन्न उद्योग, कम्पनीमार्फत सात हजार ४१२ जनाको रोजगारीको प्रतिबद्धता आएको छ।

सबैभन्दा बढी रोजगारीको प्रतिबद्धता उत्पादनमूलक क्षेत्रमा दुई हजार २५० जनका लागि आएको छ भने सबैभन्दा कम ८४ रोजगारी प्रतिबद्धता आएको छ।

विभागका अनुसार गएको ६ महिनामा वैदेशिक र स्वदेशी औद्योगिक क्षेत्रमा एक खर्ब १५ अर्ब २५ करोड ४७ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसबाट दुई सय ६८ उद्योग दर्ता भएका छन् भने ती उद्योगहरुमार्फत १३ हजार पाँच सय नौं जनाले रोजगार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्