बिहीबार, साउन १४, २०८३

उर्जा सम्बधी भारतसँग के सम्झौता भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल र भारतबीच उर्जा सम्बन्धी उच्च स्तरीय बैठक सम्पन्न भएको छ। सन् २०१४ मा सम्पन्न नेपाल भारत व्यापार सम्झौताको दफा ५ मा व्यवस्था भएअनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण  गर्न बुधबार र बिहीबार पोखरामा उच्च स्तरिय बैठक बसेको हो।

सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठक उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे तथा भारत सरकारको विद्युत मन्त्रालयका सचिव एके भल्लाको सहध्यक्षतामा बिहीबार सम्पन्न भएको छ।

उक्त बैठकले बुधबार सम्पन्न भएको सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले गरेको सिफारिशहरुलाई अनुमोदन गरेको छ। संयुक्त कार्यदलको बैठकको सहध्यक्षता नेपालकोतर्फबाट मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र भारतकोतर्फबाट विद्युत मन्त्रालयका सहसचिव भारतीले गरेकी थिइन्।

बैठकले दुई देशबीच मौजुदा विद्युत प्रसारण लाईनहरुबाट भइरहेको विद्युत आदानप्रदान तथा व्यापार, निर्माणधिन अन्तरदेशीय प्रसारण लाइन, प्रस्तावित प्रसारण लाइनहरु, अरुण तीन जलविद्युत तथा प्रसारण लाइन आयोजना, इनर्जी बैंकिङ लगायतका विषयमा भएका कार्यहरुको समिक्षा गरिएको जनाइएको छ।

२२० किलोभोल्टमा चार्ज भइ सञ्चालनमा आएको पहिलो अन्तर्देशीय ढल्केबर मुजफ्फरपुर प्रसारणल लाइनलाई चार सय किलोभोल्टमा स्तरोन्नती गर्न भइरहेका कार्यहरुको बैठकले प्रगति समिक्षा गरेको छ। साथै उक्त प्रसारण लाइनको भारतीय तथा नेपाली भूभागतर्फको गरी सम्पूर्ण कार्य डिसेम्बर २०१९ सम्म सम्पन्न गर्ने विषयमा सहमति भएको छ।

मन्त्रालयका अनुसार उक्त प्रसारण लाइनको हालको ढल्केबर सवस्टेशन क्षमता अनुसार २९० मेगावाट विद्युत आयात गर्न र निकट भविष्यमा सवस्टेशन क्षमता थप हुँदा पाँच सय देखि ६ सय मेगावाटसम्म अयात/निर्यात गर्न पाउने नेपाली पक्षको प्रस्तावलाई भारतीय पक्षले सकरात्मक रुपमा लिएको छ। जसलाई चार महिनाभित्र टुङ्गो लगाउने सहमति भएको छ। 

नेपाल भारतबीच मैजुदा तथा प्रस्तावित प्रसारण प्रणालीहरुले दुई देशको विद्युत ग्रीडलाई जोड्नको लागि प्रविधिक सुरक्षा विषयमा अवलम्बन गर्नु पर्ने प्राविधिक उपायहरुको विषयमा छलफल भएको र नेपालको केन्द्रीय प्रसारण ग्रीडमा अवलम्बन गर्न नेपाली पक्ष सहमत भएको जनाइएको छ।

रक्सौल-परवानीपुर एवम् कटैया-कुशाहा प्रसारणलाइनलाई डबल सर्किटमा स्तरेन्नती गर्ने तथा चार सय किलोभोल्टका नयाँलम्की-बरेली एवम् नयाँ दुहवी-नयाँ पूर्णिया प्रसारण लाइनको अध्ययन गर्ने विषयमा तयार भएको प्राविधिक समितिको प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको छ।

कटैया-कुशाह प्रसारण लाइनमा दोश्रो सर्किट थप्ने तथा भारतको उत्तर प्रदेश र नेपालबीच न्यु नौतनवा-मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्न सहमति भएको छ। नानपारा-कोहलपूर १३२ केभी प्रसाराण लाइनको सम्भाव्यता अध्ययन भारतको केन्द्रीय विद्युत प्राधिकरणले छ मनिामा सम्पन्न गर्ने सहमति भएको छ। 

त्यस्तै दोस्रो अन्तर्देशीय नयाँ बुटवल-गोरखपुर(नयाँ) चार सय किलोभल्ट प्रसारण लाइन निर्माणको लागि अवश्यक सामाग्री तथा कार्यान्वयन प्रारुपको विषयमा विस्तृत भइ तीन महिनाभित्र नेपाल प्राधिकरण तथा भारतको केन्द्रिय प्राधिकरणले प्रस्तावित विकल्पहरुमा अध्ययन गरी सुझाब पेश गर्ने दुई देशबीच सहमति भएको छ। 

भारतको टनकपुर सवस्टेशनमा जडित ५० एमभिए क्षमताको ट्रान्सफर्मर २०१९ मार्चसम्म बदलेर एक सय एमभिए क्षमताको जडान गर्ने, नेपालले भारतको पावर एक्स्चेन्ज मार्केटबाट विभिन्न मोडालिटीमा आगामी दुई महिनाभित्र विद्युत खरिद गर्न सक्ने विषयमा समझदारी भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्