बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डाभोस पुगेर प्रधानमन्त्री ओलीले प्रवासी नेपालीलाई के भने ?

डाभोस पुगेर प्रधानमन्त्री ओलीले प्रवासी नेपालीलाई के भने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सकारात्मक बाटोमा अगाडी बढेकाले प्रवासी नेपालीलाई अलमलमा नपर्न र नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गरे। जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दिपक धितालले आयोजना गरेका समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५-१६ मा काठमाडौंमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न समेत विदेशी लगानीकर्तालाई आग्रह गरे। 

'नेपालले हिंसा समाप्त गरेको, हतियार र लडाकू व्यवस्थापन गरेको, हिंसाको नीति परित्याग गरेको र गणतन्त्रतर्फ गई असाधारण उपलब्धि हासिल गरिसकेको जानकारी दिदै प्रधानमन्त्री ओलीले भने 'नेपाली जनताले राजनीतिक अधिकार मात्र नभई आर्थिक तथा सामाजिक अधिकार पनि पाएका छन्,' उनले भने 'नेपालको संविधान श्रेष्ठ छ। उत्कृष्ट छ र आवश्यकताअनुसार परिमार्जन हुनसक्छ।' मुलुकको आवश्यकता, गन्तव्य तथा नेपाली जनताको अठोटका विषयमा विश्व आर्थिक मञ्चमा जानकारी दिन आफू डाभोस आएको उनको भनाइ छ। 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै राजदूत दिपक धितालले गतिशील नेतृत्वमा नेपाल अगाडी बढिरहेको र डाभोसमा पनि नेपालले राजनीतिक समस्या समाधान गरी समृद्धिको बाटोमा हिँड्न चाहेको बताए।

एनआरएन स्वीट्जरल्याण्डका अध्यक्ष भूमि गुरुङले स्वीट्जरल्याण्डमा करिब चार सय नेपाली रहेको र तिनीहरु रेष्टोरा, पर्यटन व्यवसाय, चिकित्सा, इञ्जिनियरिङ तथा बैङ्किङ क्षेत्रमा कार्यरत रहेको जानकारी दिए। 

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भटृराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी लगायत स्वीट्जरल्याण्डमा नेपाली प्रवासी विन्दु पाण्डेदेखि विभिन्न क्षेत्रमा काम गर्ने नेपाली समुदायको सहभागिता रहेको थियो। 

प्रधानमन्त्रीले जुरिचस्थित आधुनिक आधारभूत संरचना, विकास क्षेत्र तथा पर्यटन आकर्षणका विषयवस्तु पनि अवलोकन गरेका थिए। यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले इटीएच जुरिचको सुरक्षा अध्ययन केन्द्रमा प्राज्ञ तथा प्राध्यापकसँग छलफल गर्दै नेपालले शान्ति प्रक्रियामा देखाएको अग्रसरता मौलिक रहेको र यसलाई व्यापक रुपमा साझेदारी गर्न सकिने बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्