बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिंह कम्पलेक्सले १ सय ३० प्रतिशत भाडा वृद्धि गरेपछि २३ दिनदेखि व्यापार ठप्प

सिंह कम्पलेक्सले १ सय ३० प्रतिशत भाडा वृद्धि गरेपछि २३ दिनदेखि व्यापार ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बुटवल- पश्चिम नेपालको व्यवसायीक शहर बुटवलमा भाडामा सटर पाउन मुश्किल नै हुने गर्दछ। केही निश्चित व्यक्तिले ठुला ठुला महल तथा कम्प्लेक्स बनाएर व्यवसायीक प्रयोजनकोलागी भाडामा समेत दिने गरेका छन्। त्यसैमध्येको अमरपथस्थित सिंह कम्प्लेक्समा पनि ५४ वटा सटरमार्फत विभिन्न व्यक्तिहरुले व्यवसायिक सुविधा प्रदान गरिरहेका छन्।

तर २३ दिन यता उक्त कम्प्लेक्समा सटर भाडामा लिएर व्यवसाय गर्नेहरु आन्दोलनमा छन्। उनीहरु रहरले नभइ करले आन्दोलन गरिरहेको बताईरहेका छन्। कयौं सटरको विद्यूतिय सप्लाई समेत कम्प्लेक्स व्यवस्थापनले काटिदिएको छ। कम्पलेक्समा मुख्य समस्या भाडा विवाद भएको छ। कम्प्लेक्स व्यवस्थापनले एकैपटक १ सय ३० प्रतिशत भाडा वृद्धि गरेपछि व्यवसायीहरु पसल बन्द गरेर आन्दोलन गरिरहेका छन्।

कम्प्लेक्स सन्चालक पनि व्यवसायी हुन्। उनी व्यवसायी मात्रै नभएर साना मझौला तथा ठुला गरी सबै प्रकृतिका उद्योग व्यवसायीको हक हितमा काम गर्ने संस्थाका नेता समेत हुन्। यसरी ठुलो व्यवसायीक प्रतिष्ठानका सन्चालकले साना व्यवसायीलाइ निमोठ्ने गरी गरेको चर्को भाडा वृद्धिको कारण साना व्यवसायी मारमा परेको बताउछन्।

उद्योग वाणिज्य संघका नेताको काम व्यवसायी हकहितमा काम गर्ने हो। उक्त कम्प्लेकसका सन्चाक समेत रहेका  उद्योगी व्यवसायीका नेताले  व्यवसायीहरुको उठीबास नै लगाउन थालेका छन्।

उद्योग बाणिज्य संघ बुटवलका पुर्व अध्यक्ष समेत रहेका ती नेताले दैनिक व्यापार व्यवसाय गरेर खानेहरुको रोजीरोटि नै खोसीदिने षड्यन्त्र गरेको व्यवसायीको आरोप छ। उनले कानुन विपरित बर्षौदेखी व्यवसायी गर्दै आएकाहरुको उठीबास लगाउनेगरी षड्यन्त्रपुर्वक काम गरेको भन्दै व्यवसायीहरुले पत्रकार सम्मेलन नै गरी त्यस्तो कार्यको विरोध गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ६ अमरपथ स्थित सिंह कम्प्लेक्समामा बर्षौदेखी व्यपार व्यवसाय गर्दै आएका व्यपारीहरु व्यवसाय छाडेर यतिबेला न्यायकोलागी भौतारिदैं हिडेका छन्।

व्यवसायीका नेताबाट नै अन्यायमा परेको भन्दैं उनीहरु अन्यत्र न्याय माग्दैं हिडेका हुन्। गएको निर्वाचनमा प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार समेत रहेका महेशमान सिंहको गलत रबैयाको कारण आफुहरु अन्यायमा परेको भन्दै व्यवसायीहरुले न्यायकोलागी सार्वजनिक रुपमा अपील गरेका छन्।

सिंहको स्वामित्वमा रहेको सिंह कम्प्लेकसको सटर भाडा प्रति स्क्वायर फीट ६५ रुपैंयाबाट एक्कासी बढाएर १ सय ७० रुपैंया पुराएपछि ब्यापारीहरु आन्दोलित भएका हुन्। उक्त कम्प्लेक्समा एउटा सटरको ३२ हजार देखी सबा लाख सम्म भाडा व्यवसायीले तिर्दै आएका छन्। कम्प्लेक्सका ५४ वटा सटर भाडामा सन्चालित छन्।

व्यवसायी र कम्प्लेक्सबीच कुनै सम्झौता पनि छैन। बिना सम्झौता मासिक लाखौं रुपैया घरभाडा उठाउदैं आएका सिंह कम्प्लेक्सले घरबहाल कर समेत ठगी गरिरहेको छ।

५ तल्ले सिंह कम्प्लेक्सका पहिलो र दोस्रो तल्लामा रहेका २९ वटा सटरको विजुली सप्लाई पनि यतिबेला कम्प्लेक्स सन्चालकले काटिदिएका छन्। जसका कारण अधिकांश सटर अन्धकार हुन पुग्दा व्यवसायीहरु व्यवसाय छाडेर आन्दोलन गर्न बाध्य भएको सोही कम्प्लेक्समा व्यवसाय गदै आएका शुभप्रताप राणाले बताए।

राणाले भने , ‘बिगत २२ दिनदेखि २९ वटा ब्यबसायिक सटरहरु बन्द छन। पटक पटक कम्प्लेक्स संचालकसँग आग्रह गर्दा पीडित ब्यबसायीहरुको मागप्रति बेवास्ता गरिएकोछ। हाम्रो सटरको लाईन काटिएको छ।’व्यवसायीहरुले बारम्बार सटरभाडाको सम्झौता गर्न भनेको भएता पनि सिंहले वेवास्ता गर्दै आएका छन्। राणाले भने, ‘हामीले कयौं पटक घरभाडा सम्झौताकोलागी अनुरोध गर्दा पनि उहांहरुले वेवास्ता गर्नुभयो। ’

पसल बन्द हुदां बैंकबाट क्रृण लिएर व्यवसाय सन्चालन गर्दै आएका साना व्यवसायीहरु मासिक किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन्। ‘क्रृणमाथी क्रृण थपिएको छ। सय कडा ३ , सयकडा ५ मा पैसा खोजेर बैंकलाई पुसको किस्ता ब्याज बुझाईयो। पसल पनि बन्द छ। कसरी चल्ने हो धेरै गाह्रो भयो। ’ कम्प्लेक्समा फैन्सी पसल गर्दै आएका दिपेश के.सीले बताए।

उनले भने , ‘३ बर्ष पहिले मेरो सटरको भाडा २७ हजार थियो। अहिले ६७ हजार पुराइएको छ। ’ घर बहाल ऐन २०७४ ले सम्झौता नगरी कसैले पनि घरभाडा दिन पाईदैन। उक्त ऐनले प्रतिबर्ष साविकको घरभाडामा १० प्रतिशत मात्रैं बृद्धि गर्न सक्नेगरी व्यवस्था गरेको छ। तर कानुनको धज्जी उडाउदैं १ सय ३० प्रतिशत भाडा बढाएपछि व्यवसायी आन्दोलित हुन पुगेका हुन्।

नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले सिंह कम्प्लेक्सले सामन्य नियम कानुन पनि नमानेको आफुखुसी गरेको बताए। उनले भने , ‘पहिलो घरभाडा सम्झौता गरिएको छैन। दोस्रो भाडा बढाउने निश्चित नियम हुन्छ। कम्प्लेक्स सन्चालकले मनपरी ढंगले गरेका छन्। यसले व्यवसायी अत्यन्तै मारमा परेका छन्। ’

शक्ति र सत्तासंग निकटस्थ सम्बन्ध भएका सिंह र व्यवसायीबीच विभिन्न संघसंस्थाको मध्यस्थतामा छलफल भएता पनि उनले कसैलाई टेरपुच्छर लाउने गरको छैनन्। बुटवल उप महानगरपालिकाको आर्थिक ऐनको बहाल कर ( घर र जग्गा) को शिर्षकमा  वहाल संझौता पेश भएकोमा न्यूनतम वहाल दर भन्दा बढी भएमा सोही बमोजिम र न्युनतम दर भन्दा कम भएमा उपमहानगरले तोके अनुसार हुने व्यवस्था गरेको छ। सोही अनुसार बि.पी. चौक, संगम पथ र अमर पथ लाईन मोहडामा पर्ने प्रति सटरको न्युनतम ८ हजार घरबहाल कर निर्धारण गरिएको छ। सटरभाडामा दिएबापत चर्को भाडा असुल्ने सिंह कम्प्लेक्सले नगरपालिकालाई बुझाउनुपर्ने घरबहाल करमा पनि ठगी गरेको बुझिएको छ। सिंह कम्पलेक्सले गत बर्ष कति घरबहाल कर बुझाएको छ त भनि बुझ्न बुटवल उपमहानगरपालिका राजस्व शाखा प्रमुख राम प्रसाद अर्याललाई बारम्बार बुझ्दा पनि उनी यसबारेमा आफुलाई पुर्ण जानकारी नभएको भन्दै पन्छिए।

यता व्यवसायीले लगाएको आरोप निराधार भएको उक्त कम्प्लेक्सका सन्चालक महेशमान सिंहले बताएका छन्। सिंहले ७ बर्ष अगाडीको दरमा भाडामा दिन नसकिने हुदां अहिले भाडा बढाउदा अनावश्यक हल्ला गरेको बताए। सिंहले ७ वटा सटरले ३ महिनादेखी भाडा नदिएकोले विजुली काटिदिएको बताए।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्