काठमाडौं- फागुन २ गते काठमाडौंमा नेपाल उद्यमशीलता सम्मेलनको आयोजना गर्ने भएको छ। सम्मेलन मुलुकको उद्योग क्षेत्रमा सहयोग पुर्याउले उद्देश्यले नेपाल उद्योग परिसंघले, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको सहयोगमा हुने भएको हो।
सम्मेलनको बारेमा जानकरी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले युवा उद्यमशीलताको विकास कार्यक्रम सरकार र निजी क्षेत्रको सहकार्यमा अघि बढाउन सम्मेलनले सहयोग गर्ने बताए।
‘फेड्रल नेपालः अपरच्युनीटीज फर इन्भेस्टमेन्ट एन्ड ग्रोथ’ नरा दिइएको सम्मेलनको राष्ट्रपतिले उद्घाटन गर्ने बताइएको छ। साथै प्रधानमन्त्रीबाट विशेष सम्बोधन र पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्षबाट समापन समारोहको कार्यक्रम रहेको जनाएको छ।
सम्मेलनमा सातै प्रदेशहरुका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरुबाट सम्बन्धित प्रदेशको उद्यमशीलता र रोजगारीका अवसरका बारेमा कार्ययोजना समेत प्रस्तुत गरिने संघका अध्यक्ष शर्माले बताए।
उद्यमशीलतालाई आर्थिक समृद्धिको सम्वाहकको रुपमा पहिचान गर्ने, साना, मझौला तथा ठूला उद्योग-व्यवसायलाई सम्मेलनले टेवा पुर्याउने उनको भनाइ छ। सम्मेलनमा नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तारको प्रक्रिया, पहिचान गरिने जनाइएको छ।
स्वदेशमै उद्योग तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानूनको पहिचानसहित आयोजना हुने सम्मेलनमा साना, मझौला तथा ठूला उद्योग-व्यवसायमा संलग्न वा संलग्न हुन चाहने उद्यमी व्यवसायीहरुको लागि अवसरको रुपमा रहेको आयोजकको दावी छ।
विदेशी उद्यमीहरु, सातै प्रदेशबाट १५/१५जना युवा उद्यमीहरु, नयाँ प्रविधि र कार्ययोजनासहित उद्यमशीलताको प्रवद्र्धनमा संलग्न युवा उद्यमीहरु, योजनाविद्ध, अर्थविद्ध, राजनीतिज्ञहरु, सरकारी उच्च अधिकारीहरुको सहभागिता रहने बताइको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४