काठमाडौं- ‘चाइनाका काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड’(सीसीपीआईटी) का उपाध्यक्ष झाङ्ग सेन फेङ्गले दुवै मुलुकका नेताहरुले आपसी राजनैतिक विश्वास, ‘संयुक्त रुपमा वेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजनालाई अगाडी बढाउन कार्यान्वयन गर्नु पर्ने जोड दिए।
उनले दुई देशबीच रेल्वे, पारवहन, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा विगतमा गरेका सहमती, समझदारीकै कार्यान्वयनको सन्दर्भमा आफ्नो नेतृत्वमा करिब ५० सदस्यीय प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको जानकारी दिए।
सोमबार नेपाल उद्योग परिसंघ र सीसीपीआईटीको संयुक्त आयोजनामा आयोजित‘नेपाल-चीन व्यापारिक फोरम’को बैठकमा चीनिया प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आएका सेनफेङ्गलेले आफ्नो धारणा राखेका थिए।
फोरमले दुवै देशका उद्यमीहरुलाई आपसी सहयोगको क्षेत्रको आदान-प्रदानको लागि मार्ग प्रशस्त गर्दै प्लेट फर्म निर्माण भएको जनाएको छ। त्यसलाई बढी प्रभावकारी बनाउन द्विपक्षीय व्यापारको दायरालाई निरन्तर रुपमा बढाउनु पर्ने, लगानी सहयोगलाई अन्य विस्तृत गर्नु पर्ने र व्यापार प्रवद्र्धन संस्थालाई अझ बढी सक्रिय बनाउनु पर्ने बताइएको छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्तशर्माले नेपालमा पूर्वाधार, जलविद्युत र हल्का उत्पादन उद्योगहरु लगायत सेवा क्षेत्रका उद्योगहरुमा लगानी आकर्षित गर्ने प्रचुरतम् सम्भावना रहेको बताए। उनले मुलुकको बैदेशिक लगानी भित्र्याउन हाल भएको औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन, वौद्धिक सम्पत्ति सम्बन्धी कानून एण्टी डम्पिङ्ग कानून एवं आर्थिक क्षेत्रसँग सम्बन्धित अन्य कानूनहरुको संशोधन, पुनर्लेखन गर्नु पर्ने धारणा राखे।
उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले नेपालको चीनसँगको व्यापारले दोश्रो स्थान ओगटेको बताए। सरकारी नीति नियम व्यापार घाटा कम गर्नेतर्फ परिलक्षित रहेको र करिव दुई महिनाभित्रमा औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन संसदबाट पारित गरि औद्योगिक लगानी अनुकूल वातावरण सृजना गर्ने तयारी भइरहेको जानकारी गराए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४