काठमाडौँ- वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन्। बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने शुक्रबार एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालेको बैंकहरुले जनाएका छन्। प्रकाशित विवरणअनुसार एभरेष्ट बैंकले गत पुस मसान्तसम्म एक अर्ब ४२ करोड नाफा गरेको छ।
बैंकको गत वर्षको सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ नाफा गरेको थियो। गत पुस मसान्तसम्ममा बैंकले एक खर्ब २४ अर्ब निक्षेप सङकलन गरी एक खर्ब पाँच अर्ब बराबरको ऋण लगानी गरेको छ। बैंकको कर्जा निक्षेप अुनपात ७६ दशमलव २३ प्रतिशत रहेको छ।
यस्तै माछापुच्छ्रे बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ६२ प्रतिशत नाफा कमाएको उल्लेख छ। गत पुस मसान्तसम्म ७८ करोड १३ लाख बराबरको नाफा गरेको बैंकले अघिल्लो आवको सोही अवधिमा ४८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो।
बैंकले ८५ अर्ब १७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ७४ अर्ब ६५ करोड ऋण लगानी गरेको छ। बैंकको कर्जा निक्षेप अनुपात ७७ दशमलव ६४ प्रतिशत रहेको छ।
यस्तै एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको छ महीनामा १६४ प्रतिशत बढीले नाफा कमाएको छ। बैंकले गत पुस मसान्त सम्ममा एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ।
गत वर्षको सोही अवधिमा बैंकले ५७ करोड रुपैयाँ मात्रै नाफा गरेको थियो। बैंकले सो अवधिमा निक्षेप सङ्कलन ४६ प्रतिशतले बढाएको छ भने कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ। बैंकले गत पुस मसान्तसम्म एक खर्ब ७५ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ४९ अर्ब ऋण लगानी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४