काठमाडौं- चोभारमा बिहीबार आधुनिक सुख्खा बन्दरगाहको शिलान्यास गरिएको छ। उक्त बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपीशर्मा ओलीले गरेका हुन्। हिमाल सिमेन्टको अलपत्र परेको जग्गालाई उपयोग गर्दै बन्दरगाह निर्माण गर्न लागिएको हो।
प्रधानमन्त्री ओलीबाट शिलन्यास भएसँगै निर्माण कार्य शुरु भएको छ। सो अत्याधुनिक बन्दरगाह निर्माणको लागि एक अर्ब ६७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। बन्दरगाह निर्माणको लागि विश्व बैंकले सहयोग दिने भएको हो।
बन्दरगाहको कुल लागत भने दुई अर्ब १८ करोड ७२ लाख रुपैयाँ अनुमान गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। आगामी १८ महिनामा बन्दरगाह तयार हुने बताइएको छ।
निर्माणको जिम्मा आशिष र साक्षी जोइन्ट भेन्चरले पाएको छ। आशिष कन्स्ट्रक्सन नेपाली कम्पनी हो भने साक्षी चिनियाँ कम्पनी हो। निर्माण शुरु हुन लाग्दा स्थानीयको विरोध सुरु भएको थियो। स्थानीयहरुले हिमाल सिमेन्ट कारखानाले पुर्याएको क्षतिपूर्ति पाउनुपर्ने, कारखानाको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने, कर्मचारीले पाउनु पर्ने पारिश्रक पाउनु पर्नेलगायत माग गरेर अवरोध गरेका थिए।
समितिका कार्यकारी निर्देशक रविशंकर सैंजुले कमिटी बनाएर अध्ययन गरि जायज मागहरु सम्वोधन गर्दै स्थानीयको माग पूरा गर्दै विकासको काम अघि बढाउने बताए। बन्दरगाहको निर्माणको तयारी पूरा भइसकेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बन्दरगाहको ड्रइङअनुसारको लेआउट फाइनल गर्ने, एप्रोच लिंक रोड बनाउने काम गरिसकेको छ। पाँच महिना बढी स्थानीयको अवरोधका हुँदा निर्माण कम्पनीले इक्विपमेन्ट भने हटाएको जानकारी दिएको छ। साथै निर्माण कार्य समेत लम्बिएको छ।
सरकारले काठमाडौंको चोभारलाई ट्रान्जिट हबका रुपमा विकास गर्न लागिएको हो। चोभारमा बन्न लागेको बन्दरगाहमा बाहिरी चक्रपथ, काठमाडौं-९ तराई र मधेश जोड्ने द्रुत मार्ग, चीन र भारतबाट आउने रेललाई पनि जोडेर ट्रान्जिट हब बनाउन लागेको बताएको छ।
चोभारमा बन्दरगाह तयार भएपछि भारतका विभिन्न नाका र चीनबाट काठमाडौं आउने माल वस्तुहरु सिधै चोभारमा आउनेछन्। सम्बन्धित भन्सार नाकाले लकिङ हेरेर पठाउनेछ। सम्पूर्ण चेकजाँच चोभारमा बन्ने बन्दरगाहमा हुनेछ।
बन्दरगाहमा एउटा मूख्य प्रशासनिक भवनको साथै अध्यागमन,भन्सार,बैंक तथा वित्तीय संस्था,क्वारेन्टाइन लगायतका कार्यालय राखिनेछ। समितिको अनुसार आयात र निर्यातका लागि छुट्टाछुट्टै टर्मिनलहरु निर्माण हुनेछ। ६ सय कन्टेनर अटाउने क्षमताको निर्माणधिन बन्दरगाह करिव २ सय रोपनी क्षेत्रफलमा फैलने जनाइएको छ।
साथै विगतदेखिनै बन्दरगाहसँगै चोभारमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल समेत निर्माण गर्न लागिएको छ। निजी क्षेत्रले तत्काल उक्त प्रदर्शनीस्थल बनाउन माग गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४