बिहीबार, साउन १४, २०८३

वीरगंज नाकाबाट छ महिनामा ७७ अर्ब असुली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- प्रमुख स्थल भन्सार कार्यालय वीरगंज भन्सारले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७७ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ। भन्सार कार्यालयले पुस मसान्तसम्ममा ७७ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ संकलन गरेको हो।

गत आवको पुससम्ममा कार्यालयले जम्मा ६० अर्ब ५० करोड २२ लाख रुपैयाँ संकलन गरेको थियो। गत आवको अर्द्ध वार्षिक राजश्व सङ्कलनको तुलनामा चालु आवको सो अवधिमा कुल  राजश्व असुलीमा २८.५२ प्रतिशत वृद्धि भएपनि राजश्व संकलनको अर्द्ध वार्षिक लक्ष्य भने भेटाउन सकेन‌।

कार्यालयले लक्ष्यको जम्मा ९८।५० प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ। भन्सारले संकलित राजश्व मध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि करबापत ३१ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ असुली भएको जानकारी दिएको छ।

भन्सार महशुल वापत २७ अर्ब २३  करोड ४४ लाख रुपैयाँ संकलन गरिएको सुचना अधिकृत मनोज कुमार महतोले जानकारी दिए। मुअक र भन्सार महशुल पूर्व निर्धारित लक्ष्यको क्रमशः ८९ प्रतिशत र ८२ प्रतिशत मात्र हो ।

अन्तस्शुल्क संकलनमा भने लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजश्व संकलन गर्न सफलता पाएको छ । १० अर्ब ३९ करोड ६५ लाख रुपैयाँको लक्ष्य पाएकोमा १४ अर्ब ५० करोड २० लाख रुपैयाँ संकलन गर्न सफलता मिलेको छ। 

पूर्वाधार निर्माण करवापत ३ अर्ब १४ करोड रुपैयाँ संकलन भएको जानकारी दिएको छ। वीरगंज भन्सार नाकामा पेट्रोलियम पदार्थ, सवारी साधन र औद्योगिक कच्चापदार्थ राजश्व असुलीको मुख्य श्रोत हो। 

अर्थ मन्त्रालयले सवारी साधनको आयातमा अन्तस्शुल्क, भन्सार महशुल आयातमा वृद्धिसँगै नाम चलेका ब्राण्डको नक्कल गरेर सामान आयात गर्ने आयातकर्ताविरुद्ध कडाई गर्दै सक्कली ब्राण्ड सरह मूल्यांकन गर्दै राजश्व असुली गरेपछि भन्सार राजश्वमा सकारात्मक प्रभाव परेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्