काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनासँग नेपालका लागि जापानी राजदुत मासामिचि साइगोले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ।
भेटमा राजदुत मासामिचिले उच्च प्रविधिमा आधारित फलफुल तथा तरकारी खेती र अर्गानिक कृषि प्रवद्र्धनमा प्राविधिक सहायता उपलब्ध गराउन जापान तयार रहेको बताए। जवाफमा मन्त्री खनालले उक्त विषयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको जापान भ्रमणका क्रममा पनि छलफल भएको भन्दै थप छलफल गरेर त्यसलाई अघि बढाउन सकिने बताए।
त्यस्तै मन्त्री खनालले बजार प्रवद्र्धन, ठूलो लगानीको फलफुल परियोजना, दीगो विकासलाई प्रत्यक्ष सहयोग पुग्ने खालका कृषिजन्य उत्पादन र यान्त्रिकरण तथा नेपाली युवा कृषकलाई कृषि तालिममा जापान पठाउने विषयमा सहयोग गर्न राजदुत मासामिचिसँग आग्रह गरेका छन्।
यसैबीच बैदेशिक कृषि र व्यापार तथा नेपालमा लगानीको वातावरण अध्ययन गर्न जापानका सरकारी अधिकारी तथा विज्ञहरु सहितको १९ सदस्सीय टोली नेपाल आउने भएको छ। जापानको कृषि, बन तथा मत्स्य मन्त्रालयका बैदेशिक मामिलाका उपनिर्देशक ताकामी नकादाको नेतृत्वमा टोली नेपाल आउन लागेको हो। माघ ८ गते काठमाडौं आइपुग्ने टोलीले माघ १० गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद नार्क लगायतसँग छलफल गर्नेछ बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४