बिहीबार, भदौ ४, २०८३

नेपाल–यूएई उडान खुल्यो, यसरी पाइन्छ जान

गत सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्र ओसार्ने गरी नेपाल-युएई उडान सुरु गरिएको थियो। तर, अब वायुसेवा प्रदायक कम्पनीहरूले नेपालबाट पनि यात्रु लैजान पाउने भएका छन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं- गत सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्र ओसार्ने गरी नेपाल-युएई उडान सुरु गरिएको थियो। तर, अब वायुसेवा प्रदायक कम्पनीहरूले नेपालबाट पनि यात्रु लैजान पाउने भएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाको र्‍यापिड पीसीआर परीक्षणको सुविधा नहुँदा युएईले नेपालबाट जाने यात्रुका लागि प्रवेश खुला गरे पनि कोही जान पाएका थिएनन्। साउदी अरेबियन वायुसेवा कम्पनी एयर अरेबियाले बिहीबारदेखि यहाँबाट युएई यात्रु लैजान थाले पनि नेपाली वायुसेवा कम्पनीले त्यसो गर्न सकिरहेको थिएन।

फ्लाई दुबईले समेत दुबईमा बढीमा ६ घन्टा ट्रान्जिट भएका यात्रु मात्र नेपालबाट लगिरहेको थियो। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दुबईबाट यात्रु ल्याउन मात्र उडान भर्दै आएका थिए। विमानस्थल स्रोतका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले यसअघि कायम रहेको ४८ घन्टाभित्र गरेको कोरोना पीसीआर नेगेटिभ रिपोर्ट र विमानस्थल परिसरमै उडान हुनुभन्दा चार घन्टाअघि गरेको र्‍यापिड पीसीआर परीक्षण नेगेटिभ रिपोर्टको सट्टा उडान हुनुभन्दा चार घन्टा पहिलेको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टलाई मान्यता दिने भएपछि युएई उडान पुनः सुरु भएको हो। 

सोही परीक्षणको आधारमा शनिबार रातिको उडानबाट हिमालय एयरलाइन्सले एक सय ५२ र एयर अरेबियाले एक सय ५५ यात्रु लगेका छन्। सोही रिपोर्टको आधारमा नेपाल वायुसेवा निगमले सोमबार राति ११:३० मा उडान गर्ने तयारी गरेको छ। 

निगमले सोमबारदेखि सातामा दुई उडान भर्ने तयारी गरेको छ। शनिबार हिमालय एयरलाइन्सले यात्रुलाई विमानस्थल मै बोलाएर स्वाब संकलन गरी पीसीआर परीक्षण गराएर उडाएको थियो। दुबई सरकारले पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको भन्दै नेपालसहित भारत, पाकिस्तान, नाइजेरिया, श्रीलंका र युगान्डालाई अति जोखिम देशको सूचीमा राखेको छ। 

यसैबीच, अहिले मलेसिया, दुबई, दोहा, दिल्ली लगायत गन्तव्यमा नियमित उडान गरिरहेको निगमले जापान र हङकङ उडान सुरु गर्ने भएको छ। कोरोनाको दोस्रो लहरसँगै तीन महिनादेखि बन्द रहेको उक्त गन्तव्यमा पुनः नियमित उडानको तयारी गरेको निगमले जनाएको छ। 

निगम स्रोतले दिएको जानकारी अनुसार हङकङ उडानको टिकट बुकिङ खुलिसकेको छ। तर, उडान तालिका सार्वजनिक नभएकाले उडान सुरु हुने मिति यकिन छैन। सो गन्तव्यका लागि निगमले एकतर्फी भाडादर ७० हजार रूपैयाँ तोकेको छ। त्यस्तै, जापान उडानका लागि समेत सेडुलिङको प्रक्रिया सुरु भइसकेको छ। निगमले अबको १५ दिनपछि जापान उडान सुरु गर्ने तयारी गरेको छ।

प्रकाशित: Aug 16, 2021| 09:43 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।