आइतबार, असोज १८, २०८३

४६ वर्षअघि आजैको दिन रिलिज भएको शोलेका ५० किस्सा

हिन्दी सिनेमाको दुनियामा ‘शोले’ ऐतिहासिक फिल्म हो। बक्स अफिसमा राम्रो पैसा कमाएको ‘शोले’का संवाद सहरका गल्लीगल्लीमा अझै गुञ्जिन्छन्।
 |  आइतबार, साउन ३१, २०७८

समय ताम्राकार

समय ताम्राकार

आइतबार, साउन ३१, २०७८

हिन्दी सिनेमाको दुनियामा ‘शोले’ ऐतिहासिक फिल्म हो। बक्स अफिसमा राम्रो पैसा कमाएको ‘शोले’का संवाद सहरका गल्लीगल्लीमा अझै गुञ्जिन्छन्।

भारतीय आमाहरू आफ्ना साना छोरोछोरीलाई गब्बरको डर देखाउँथे। ‘सो जा बच्चे! नही तो गब्बर आजाएगा’ भन्ने संवाद धेरै भारतीय आमाले छोराछोरीलाई डर देखाउनका लागि प्रयोग गर्ने हतियार थियो।

मित्रताको उदाहरण दिनुपर्‍यो भने जय–बीरुको उदाहरण दिइन्थ्यो। ‘ये दोस्ती हम नही तोडेंगे’ गीत आजसम्म दीर्घकालीन मित्रताको परिचायक बनेको छ।

शोलेमा आँटिली र चुलबुले महिलाको प्रतिनिधित्व गर्ने पात्र थिइन्- बसन्ती। शोले आज पनि दर्शकहरुको रुचिमा पर्ने सिनेमा हो। मूल सिनेमा आएको ३८ वर्षपछि शोलेको थ्रीडी संस्करण पनि आयो।

४६ वर्षअघि शोले आजकै दिन अर्थात् सन् १९७५ अगस्ट १५ मा रिलिज भएको थियो। उक्त दिन शुक्रबार परेको थियो। बहुचर्चित शोलेसँग जोडिएका ५० किस्साः

१. शुक्रबार रिलिज भएको शोलेले शनिबारसम्म पनि अपेक्षाअनुसारको कमाइ गर्न सकेन। ठूलो बजेटमा तयार भएको शोलेको दुई दिनको निराशाजनक कमाइले निर्देशक रमेश सिप्पी निकै चिन्तित भए। आइतबार सिप्पीले आफ्नो घरमा फिल्म लेखक सलिम-जाबेदलाई बोलाएर फिल्ममा अमिताभको मृत्युका कारणले फिल्म नचलेको बताउँदै लेखकद्वयसँग शोलेको अन्तिम दृश्य परिवर्तन गर्ने कुरा राखे। 

तर सलिम-जावेदले निर्देशक सिप्पीलाई एकदुई दिन कुर्न सल्लाह दिए। यदि फिल्म साँच्चै नै असफल भएको ठहरिएमा अन्तिम दृश्य फेरौंला भन्ने कुरा लेखकहरुले राखे। उनीहरुको कुरामा निर्देशक सिप्पी राजी भए। फिल्मले बिस्तारै गति लिँदै गयो। अन्तिम दृश्य फेर्नै परेन।

२. १९७२ मा रिलिज भएका फिल्म ‘सीता और गीता’को सफलताको पार्टी जीपी सिप्पीको घरको छतमा चलिरहेको थियो। सोही अवसरमा रमेशका बुवा जीपी र छोरा रमेश सिप्पीले ठूलो बजेटको भव्य एक्सन फिल्म बनाउने निर्णय गरे। यो नै शोलेको प्रस्थानविन्दू थियो।

३. मार्च १९७३ बाट शोलेको कथा लेख्न थालिएको थियो। हरेक बिहान १० बजे रमेश सिप्पी आफ्नो ‘सिप्पी फिल्म लेखक कक्ष’मा लेखकद्वय सलिम–जावेदलाई बन्द गर्थे। कथामाथि घन्टौं चर्चा हुन्थ्यो। यस क्रममा चिया, चुरोटका कयाै‌ बट्टा र बियरका कयौं सिसी रित्तिन्थे।

४. सलिम-जावेदले शोलेको पटकथा लेख्नु अघि रिलिज भएका राज खोसलाको फिल्म ‘मेरा गाउँ मेरा देश’ (१९७१), नरेन्द्र वेदीको फिल्म ‘खोटे सिक्के’मा डकैतीको कथा थियो। दुवै फिल्ममा सलिम-जावेदले दिमाग खर्चिएका थिए।


५.फिल्मको लोकसन खोज्न येडेकर र रमेश सिप्पी लागिपरेका थिए । चम्बल उपत्यका वा राजस्थानका दर्शकले देखिरहेको लोकेसनमा उनीहरू सुटिङ गर्न चाहँदैनथे। मंगलौर–बंगलौर र कोचीनमा जाँदै गर्दा येडेकरलाई बंगलौर नजिकैको रामनगरम मनपर्‍यो। चारैतिर पहाडले घेरिएको सो स्थानमा अंग्रेजी फिल्म ‘माया’को सुटिङ भइसकेको थियो। आखिर रामनगरममै शोलेको सुटिङ हुने तय भयो।

६. सुटिङस्थल तय भएको खबर पाएपछि निर्देशक सिप्पी सिनेमेटोग्राफर द्वारका दविचाको साथमा रामनगरम पुगे। घरजत्रा ठूला चट्टान, सुकेका रुख, कच्ची बाटो यावत् कुराले द्वारका मुग्ध भए।

७. फिल्ममा गब्बरको अखडा र ठाकुरको घर टाढा देखाइए पनि वास्तवमा भने ती नजिकै थिए। रामनगरमको फिल्म सेटमा मुम्बईबाट तीस मानिस र स्थानीय मानिस गरी एउटा सिंगै गाउँ नै बसाइयो।

८. रामनगरममा दैनिक एक हजार मानिसका लागि खाना पकाउनका लागि आधुनिक भान्छा बनाइएको थियो। खाद्यन्न र फलफूलको गोदाम, घोडाका लागि तबेला, बैंगलोर राजमार्गबाट रामनगरमसम्म जाने एउटा सडक पनि बनाइयो। टेलिफोनका लाइन र बिजुलीका पोल गाडिए। 

९. बम्बइको एक सिनेमा घरमा शोले लगातर पाँच वर्षसम्म चलेको थियो। यो आफैंमा अर्को कीर्तिमान हो।

१०. बजारमा ग्लुकोज बिस्कुटदेखि ग्राइपवाटरसम्म बेच्न शोलेको भूमिका प्रभावकारी रह्यो।

११. सन् २००० मा पप गायक बाली ब्रह्मभट्टले ‘द हथौडा मिक्स’ शीर्षकमा ‘शोले २०००’ एल्बम निकाले। जसमा शोलेमा भएकाे संवादलाई प्रयोग गरिएको थियो। 

१२. भारतीय फिल्मकर्मी शेखर कपूरले हिन्दी सिनेमाको इतिहासलाई शोलेभन्दा पहिला बीसी र शोलेपछि एडी गरी दुई भागमा विभाजन गरेका थिए।

१३. १९४७ मा जीपी सिप्पी कराँचीबाट बम्बई शरणार्थीझैं आएका थिए। यिनको शरीरमा लगाएको लुगाबाहेक केही थिएन।

१४. अमजद खानले वास्तविक डाँकुको भूमिका निर्वाह गरेका थिए, जसको नाम गब्बर थियो। सलिमका बुवाले उनलाई गब्बर डाँकुको बारेमा बताउने गरेका थिए। गब्बर पुलिसलाई आक्रमण गर्थ्यो र नाककान काटेर छोडिदिन्थ्यो।

१५. सूरमा भूपालीको नाम जावेदले राखेका थिए। सो पात्रको नाम उनलाई भोपालको बसाइले फुराएको थियो।

१६. सलीमले आफ्नो कलेजमा भेटिएका साथीको नाममा मुख्य दुई पात्रको नाम जुराए- बीरु र जय।

१७. हेमा मालिनी शोलेमा बसन्ती टाङ्गेवालीको भूमिका गर्न चाहँदैनथिन्। किन कि ‘अन्दाज’ र ‘सीता और गीता’ सफल भइसकेको थियो। उनलाई सो भूमिका निर्वाह गर्न सिप्पीले सम्झाउनु परेको थियो।

१८. जयको भूमिकाको लागि शत्रुघ्न सिन्हालाई छनोट गरिएको थियो। तर सलीम–जावेद तथा धर्मेन्द्रले अमिताभ बच्चनको नाम सुझाए। त्यतिखेर अमिताभको कयौं फिल्म फ्लप भएका थिए। तर सलीम–जावेदलाई ‘जञ्जीर’को पटकथामा विश्वास थियो। उनीहरुलाई ‘जञ्जीर’ले अमिताभलाई स्टार बनाउनेछ भन्ने विश्वास थियो। अनि अमिताभको ‘जञ्जीर’ रिजिज हुनुअगाडि नै उनलाई शोलेमा साइन गराइयो।

१९. ठाकुरको भूमिकाको लागि सिप्पी धेरै फिल्ममा काम गरिसकेका प्राणको नाम सिफारिस गरिएको थियो। तर रमेश सिप्पी सञ्जीव कुमारको प्रतिभाले चकित थिए। उनले ‘सीता और गीता’मा काम गरिसकेका थिए।

२०. गब्बर सिंह र साम्भाको संवादमा अवधि भाषाको मिश्रण थियो। सलिमले सो संवादलाई अमिताभ र सञ्जीव कुमारलाई सुनाए। अमिताभ गब्बरको भूमिका गर्न इच्छुक थिए, सञ्जीवले पनि त्यही कुरा चाहेका थिए।

२१. फिल्मको कथा सुनेपछि धर्मेन्द्रलाई ठाकुरको भूमिका दमदार लाग्यो। किन कि कथा ठाकुर र गब्बर बीचको लडाइँ थियो। उनलाई बिरुको भूमिका त्यति दमदार लागेको थिएन। त्यतिखेर रमेश सिप्पीलाई एक जुक्ति फुर्‍यो। धर्मेन्द्र त्यतिबेला हेमा मालिनीलाई मन पराउँथे। ठाकुरलाई फिल्ममा हिरोइनसँग रोमान्स गर्ने मौका छैन तर वीरु र बसन्तीबीच कयौं रोमान्टिक सिन थियो। यही कारण धर्मेन्द्रले वीरुको भूमिका गर्न राजी भए।

२२. हेमा मालिनीसँग रोमान्टिक सिन गर्दा धर्मेन्द्र जानीजानी गल्ती गर्थे ताकी उनीसँग दोहोराएर टेक लिन पाइयोस्। उनीसँग बढी समय गुजार्न पाइयोस्। पछि धर्मेन्द्रले युनिटका अन्य सदस्यलाई पैसा दिएर गल्ती गर्न लगाउँथे।

२३. शोलेको शुटिङ्गको केही दिनअघि सञ्जीव कुमारले हेमा मालिनीसँग बिहेको प्रस्ताव राखेका थिए। तर, हेमाले अस्वीकार गरिन्। यसै कारणले फिल्ममा हेमा र सञ्जीवको संयुक्त दृष्य छैन भन्दा पनि हुन्छ।

२४. धर्मेन्द्रलाई थाहा थियो सञ्जीव पनि हेमालाई मन पराउँछन्। त्यसैले उनी हेमाको छेउछाउ बढी समय बिताउँथे। र सञ्जीवलाई हेमासँग कुराकानी गर्ने अवसर नमिलोस् भन्नेमा सचेत थिए।

२५. शोलेमा गब्बर सिंहलाई सैनिकको जस्तो हरियो पोसाक लगाएर आधुनिक डाँकुको रुप दिइयो। त्यसअघि दिलीप कुमारको ‘गंगा जमुना’ र सुनील दत्तको ‘मुझे जीने दो’ फिल्ममा डाँकुलाई धोतीकुर्ता र निधारमा लामो रातो टीकामा देखाइन्थ्यो। सिप्पी सो प्रस्तुतिबाट बेखुस थिए।

२६. मुम्बइमा रमेश सिप्पी आरडी वर्मनसँग बसेर गीतको धुन जाँचिरहेको थिए। सत्तरीको दशकका लोकप्रिय संगीतकार आरडी वर्मनको समय पाउनै मुस्किल थियो। तैपनि उनले ‘कोइ हसीना जब रुठ जाती है तो’ गीतको धुन तयार पारेर छाडे।

२७. शोलेको केही गीतमा सुरमा भोपालीको दृश्यभन्दा अगाडि कब्बाली राख्ने सोच थियो। जाबेद अख्तरले गीतकाे लािग भोपालबाट ‘भांड’ समुदाय बोलाउने राय सुझाए। चारजना ‘भांड’ को समूह बम्बै आयो र पञ्चम दाको संगीतमा गीत गाए। फिल्मको अन्य गीतमा किशोर कुमार, मन्ना डे, भुपिन्दर र आनन्द बक्सीले गाए। काब्बली लयमा ‘भांड’ गीत रेकर्ड भए पनि तर फिल्म लामो भएका कारण सामेल गरिएन।


२८. शोलेको गीतलाई पोलिडार कम्पनीले पाँच लाखमा किनेको थियो। साथै रोयल्टीको आधारमा एडभान्समा बेचिएको थियो। त्यो समयमा सो रकमले सबैभन्दा महङ्गो अधिकारको रेकर्ड बनाएको थियो। पोलिडारलाई एक लाख ग्रामोफोन बेचेपछि मात्र नाफा हुन्थ्यो। तर पोलिडारको मालिक शशि पटेलको बहिनी गीतासँग रमेश सिप्पीको विवाह भएकाले यो म्युजिक महङ्गोमा बेचिएको थियो।

२९. गब्बरको रोल पहिला डैनीले गर्ने तय भएको थियो। तर उनले फिरोज खानको फिल्म ‘धर्मात्मा’लाई समय दिइसकेका थिए। सो फिल्मको शुटिङ अफगानिस्तानमा हुँदै थियो। फिरोज र सिप्पी दुवैले आफ्नो फिल्मको शेड्युल बदल्न चाहेनन्। यस कारण डैनीको हातबाट शोले फुत्कियो।

३०. अमजाद खान गब्बरको भूमिकामा फाइनल हुनुमा सलीमको याेगदान छ । हुन त अमजदको नाम जावेदले सुझाएका थिए। सलीम उनको घरमा आउने जाने गर्थे। त्यतिखेर अमजद सिनेमामा छाइसकेका थिएनन् । एक दिन अमजद भए ठाउँ पुगेर उनले भने, ‘भाग्य राम्रो भए यो फिल्ममा काम पाउनेछाै र तिमी पनि ठूलो कलाकार बन्नेछौं।’

३१. रमेश सिप्पी भव्य फिल्म बनाउन चाहन्थे। ३५ एमएमको फर्मेट फिल्मलाई भव्य बनाउन सजिलो थिएन। त्यसकारण ७० एमएम र स्टिरियोफोनिक साउन्डमा बनाउने निर्णय गरियो। विदेशबाट नयाँ क्यामरा ल्याएर सुटिङ गर्दा बजेट बढ्थ्यो। कम बजेटमा फिल्म बनाउनु पनि थियो। त्यही भएर ३५ एमएममा सुटिङ गरेर ७० एमएमको ब्लोअप दिइयो।

३२. शोले फिल्मलाई राजश्री पिक्चर्सले रिलिज गरेको थियो। राजश्रीका मालिक ताराचन्द बड्जात्यलाई विश्वास थियो कि यो महङ्गो फिल्म भए पनि लागत उठाउनेछ। उनको अनुमान सही सावित भयो।

३३. अमिताभ र जयाले ३ जुन १९७२ मा बिहे गरेका थिए। प्रकाश मेहराको ‘जञ्जीर’ रिलिज भयो। अनेक फ्लप फिल्म दिएका बच्चन दम्पती एकाएक सुपरस्टार भए। यसको लाभ शोलेलाई मिल्यो।

३४. फिल्मको शुटिङको क्रममा जया बच्चन गर्भवती थिइन्।

३५. गब्बर डाँकूकाे आधार चम्बल उपत्यकामा थियो। जयाकी पिताले गब्बरको जीवनमा आधारित ‘अभिशप्त चम्बल’ शीर्षकको पुस्तक लेखेका थिए। उनले त्यो पुस्तक अमजदलाई पढ्न दिएकी थिइन्। अमजदकी श्रीमती शैलाले उनलाई पुस्तक पढेर सुनाउँथिन्। वास्तविक गब्बरले बाल्यकालमा एउटा धोबीलाई बोलाउने ‘अरे ओ शान्ति’ को संवाद नै चर्चित ‘अरे ओ साम्भा’ बनेको थियो।

३६. अमजद खान नमाजी मुसलमान थिएनन्। तर शोलेको सुटिङमा जानुअघि उनले ‘कुरान शरीफ’लाई शिरमा राखेका थिए। उनको सो कार्यले पत्नी शैला पनि आश्चर्यमा परिन्। जसै अमजद जहाजमा चढे, प्लेन उड्न थाल्यो। तर हाइड्रोलिक सिस्टम फेल भएर प्लेनले बम्बई एयरपोर्टमा आपत्कालीन अवतरण गर्‍यो। अमजद घर गएनन्। उनी एयरपोर्टमै बसे। घन्टौपछि प्लेन उड्ने भयो। तर यात्रु जम्मा पाँच जना मात्र थिए। अरु सबै फर्किएछन्। अमजदले प्लेनमा सोचे यदि प्लेन दुर्घटनामा पर्‍यो भने गब्बरको रोल डैनीले पाउनेछन्। 

३७. बीरुले उचाइमा रहेको पानीको ट्याङ्कीमा उभिएर बसन्तीसँग बिहे गर्न नपाए मर्छु भनेको दृश्य वास्तविक घटना थियो।

३८. शुटिङको क्रममा अमजद खान निकै आत्तिएका थिए। पहिलो सटमा उनले अत्यधिक रिटेक दिएका थिए। उनको आवाज पनि फिल्म युनिटलाई मन परेको थिएन। उनलाई फिल्मबाट निकाल्ने कुरा पनि उठेको थियो।

३९. शोलेको सुरुकै सिनमा चल्दै गरेको रेलमा जय वीरु र ठाकुर गुन्डासँग लड्छन्। यो सिन सात हप्तामा पुरा भएको थियो। यो सिन मुम्बई–पुणे रेल्बे रुटमा पनवेल नजिक छायांकन गरिएको थियो।  

४०. दर्शकको अदालतमा ब्लकबस्टर भएको शोलेले केवल एउटा मात्र फिल्मफेअर अवार्ड पाएको थियो, उत्कृष्ट सम्पादनका लागि।

४१. फिल्ममा जयाले लालटिन बाल्ने एउटा दृश्य छ। सो दृश्यको पृष्ठमा अमिताभ माउथआरएन बजाइरहेका हुन्छन्। दुई मिनेटको यो दृश्य खिच्न २० दिन लागेको थियो।

४२. शोले खिच्ने सिनेमाटोग्राफर द्वारका दिवेजासँग खुसी भएर निर्माताले उनलाई एउटा कार उपहार दिएका थिए। 

४३. साम्भाको रोल म्याकमोहनले निभाएका थिए। फिल्ममा आफ्नो संवाद थाेरै हुँदा उनी दुःखी थिए। तर निर्देशक सिप्पीले उनलाई विश्वास दिलाए फिल्म चल्यो भने उनकाे स‌वाद लोकप्रिय हुनेछ। आखिर भयो पनि त्यस्तै।

४४. फिल्ममा साम्भाको एउटा मात्रै संवाद छ। मलाई पक्रनेलाई सरकारले कति इनाम दिन्छ रे साम्भा भन्ने गब्बरको प्रश्नमा साम्भाले भन्छन्– पूरे पचास हजार सरकार।

४५. फिल्ममा ठाकुरले गब्बरलाई मारेको दृश्यलाई सेन्सरबोर्डले मन नपराएपछि यसलाई बदलिएको थियो। 

४६. अभिनेता सचिनलाई फिल्ममा काम गरेबापत एउटा फ्रिज उपहार दिइएको थियो।

४७. अगस्त १५, १९७५ मा रिलिज भएको शोलेले भारतको ६० वटा सिनेमा हलमा गोल्डेन जुब्ली (५० हप्ता) र १ सयभन्दा बढी सिनेमा घरमा सिल्बर जुब्ली (२५ हप्ता) मनाएको थियो।

४८. तीनदेखि चार करोड रुपैयाँमा बनेको शोलेलाई मुम्बईको मिनर्वा सिनेमामा प्रिमियर भएको थियो।

४९. शोले रिलिज भएपछि फिल्म समीक्षकले निकै आलोचना गरेका थिए। जब फिल्म ब्लकबस्टर भयो तब आलोचकले आफ्नो भनाई फेरे। 

५०. बीबीसी इन्डियाले १९९९ मा शोलेलाई ‘फिल्म अफ द मिलेनियम’ घोषित गर्‍यो। शोलेबाट प्रेरणा पाएर कयौं फिल्म बन्यो।

(‘हिन्दी वेब दुनिया’मा शोलेको ४६ औं वर्षको अवसरमा बलिउड दुनियाका जानकार समय ताम्राकारद्वारा लिखित पचास किस्सा राज सरगमले भावानुवाद गरेका हुन्।)

प्रकाशित: Aug 15, 2021| 16:54 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।