काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले राजधानीका आठवटा शाखामा ग्राहकहरुका लागि मंगलबारबाट विशेष सुविधा सुरु गरेको छ।
बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो । उनीहरुलाई ग्राहकहरुको बैंकिङ्ग आवश्यक्तालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको छ।
अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको यो सुविधा क्रमशः अन्य शाखाहरुमा पनि विस्तार गरिने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिइन्।
‘हामीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्दै'भन्ने मुलमन्त्र बनाएका छौं। तसर्थ, हरेक ग्राहक हाम्रो लागी मुल्यवान हुनुहुन्छ। उहाँहरुलाई बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले हामीले यो सुविधा सुरु गरेका हौँ’,सिइओ खुञ्जेलीले भनिन्।
‘मेगा कस्टमर केयर अफिसर’ले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकहरुलाई स्वागत गर्नुका साथै उनीहरुका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्नेछन्। जसले ग्राहकहरुलाई बिना झण्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने मेगा बैंकको विश्वास छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४