बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बजारको छैन चिन्ता, घरआँगनमै पुग्छन् फूल व्यापारी

 |  सोमबार, कात्तिक १२, २०८१
nespernesper

रमेश गिरी

रमेश गिरी

सोमबार, कात्तिक १२, २०८१

ntc landingntc landing

भक्तपुर- बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल। बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई। भक्तपुरमा सबभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरको आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ।

himalayan bank box

काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी फूल खेती हुने ठाउँको नामले चिनिने गरेको छ गुण्डु। यहाँका किसानले व्यावसायिक रुपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन्। साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म पनि टिप्न चटारो छ।

यसरी सुरु भयो, गुण्डुमा व्यावसायिक फूलखेती 
पाँच दशकअघिदेखि भक्तपुरमा व्यावसायिक रुपमा मखमलीको फूलखेती हुने ठाउँ चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला समुदाय हो। यहाँका बनमाला समुदायले मखमली फूलको खेती गर्न र तिहारमा स्थानीयस्तरदेखि भक्तपुरको बजारसम्म पुर्‍याएर आर्थिक उपार्जन गर्दै आएका थिए। यस क्षेत्रमा अहिले पनि यो समुदायले फूलखेती गर्दै आएको छ भने उनीहरुकै सिको गर्दै अन्य समुदाय एवं जातजातिका स्थानीयवासीले पनि १० वर्षदेखि सयपत्री र मखमलीको फूलखेती गर्दै आएका छन्।

भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता व्यावसायिक रुपमा करोडौंको फूल तथा माला बिक्री गर्ने गरी यहाँ फूल खेती सुरु भएको हो। सूर्यविनायक नगरपालिका–७ गुण्डुका स्व।पहलमान नगरकोटीले करिब  ४० वर्षअघि मखमली फूलको व्यावसायिक खेती सुरु गरेको तथ्य फेला परेको बताउँछन् गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटा।

गुण्डुमा उनीबाट सुरु भएको फूलखेती अहिले व्यावसायिक फूलखेती गर्ने नमूना वडाको पहिचानसमेत बनेको छ। स्व नगरकोटीकी पत्नी देवकुमारी नगरकोटी गुण्डुमा पहिलोपटक आफ्ना श्रीमान्ले मखमलीको  खेती सुरु गरेको बताउँदै यहाँ उत्पदित फूल बिक्रीका लागि गुण्डुदेखि पैदल भक्तपुर बजार जाने गरेको बताउँछन्।

vianet

भक्तपुरदेखि काठमाडौँका पशुपति, चावहिल, असन, इन्द्रचोकलगायत बजारमा फूल बिक्री गर्न लैजाँदा त्यहाँका व्यापारीले आफ्नो बजारमा प्रतिस्पर्धा गर्न आएको भन्दै लखेट्ने गरेको तितो यथार्थ उनी सुनाउँछन्। त्यतिबेला बजारमा अरु व्यापारीसँग लुकेरै भए पनि एउटा माला एक सुकामा बेचेर आएको रकमले घरको १० जनाको परिवारको खर्च टार्नुपर्ने बाध्यता रहेपछि अहिले त्यही व्यवसाय परिवारको मुख्य आम्दानीको स्रोत बनेको उनी बताउँछन्।

गाउँका अरुका माला पनि बजार पुर्‍याउने स्वं नगरकोटीले स्थानीयलाई फूलको बेर्ना राख्ने, स्याहार्ने, फूल टिप्नेदेखि खेती गर्न सिकाएको स्मरण गर्दै उनकी पत्नी देवकुमारी आफ्नो घरबाट शुरु भएको खेती अहिले गुण्डुमा मुख्य खेतीको रुपमा बिकास भएका र अहिले व्यापारी घरघरमा आएर फूल लैजाने गरेको देख्दा खुसी लाग्ने गरेको बताउँछन्।

अहिले यहाँका बासिन्दाको अतिरिक्त आम्दानी मात्रै नभई कतिपय महिलाले आफ्नै पेवा आम्दानीको रुपमा समेत फूल खेती गरेर बजार विस्तार भएको छ। वडास्तरीय अपाङ्ग समन्वय समितिकी अध्यक्षसमेत रहेकी स्वं नगरकोटीको छोरी उर्मिला नगरकोटी यतिखेर यहाँका महिलालाई खर्चका लागि छोरा वा श्रीमान्को आशामा गर्नुपर्ने अवस्था नरहेको बताउँछिन्।

घरखर्चका लागि ऋण समेत नपत्याउनेहरु फूलखेतीबाटै बुबाले तीन, चार लाखसम्म कमाउन थालेपछि भने ऋण पुर्‍याउन आउने गरेको स्मरण गर्दै उनले बुबाको देहान्तपछि पनि घरका १० जनाको परिवारले फूलखेती र पसलबाटै राम्रो आम्दानी गरिरहेको उनी बताउँछिन्। फागुनमा बेर्ना राखी चैतमा रोपेपछि असारदेखि फुल्न थाल्छ। हप्तामा एकपटक फूल टिप्दै निरन्तर चार महिनासम्म टिप्न मिल्छ। अहिले यो ठाउँमा सयपत्री १२ महिना फुलाउने गरी खेती भइरहेको छ।

किसानलाई नगरपालिकाको ८० प्रतिशत अनुदान 
गुण्डुमा पुष्प व्यवसाय निकै राम्रो भएपछि सूर्यविनायक नगरपालिकाले फूलखेतीको पकेट क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्दै स्थानीय किसानका लागि २०७५ सालदेखि सयपत्री फूलका बेर्ना अनुदानस्वरुप वितरण सुरु गरेको वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता सापकोटा बताउँछन्।

नगरपालिकाले साना किसान कृषि सहकारी संस्थामार्फत सयपत्री फूलको बेर्ना उत्पादन गरी १० रुपैयाँ पर्न बिरुवालाई आठ रुपैयाँ अनदान दिई वितरण गर्दै आएको जानकारी दिँदै उनले यसवर्ष १० लाख बराबराको ५५ हजार बेर्ना स्थानीय तीन सय ७८ परिवारलाई वितरण गरेको बताए।

गुण्डुमा मात्रै करिब सात सय रोपनीभन्दा बढी जमिनमा व्यावसायिक फूलखेती भएको बताउँदै उनले भने, ‘यहाँका महिला किसान फूलखेतीमा आकर्षित छन्, आम्दानीको राम्रो स्रोत र गुण्डुको पहिचान फूलखेतीमा बनेको छ, घरघरमा असारदखि गासेर ५० देखि एकसय वटा मखमली फूलको माला झुत्तो बनाएर राखेर र बोरामा हालेर राखेर तिहार नजिकिएपछि बिक्री बढेको छ।’

गुण्डुबाट प्रत्येक वर्ष करिब द्धार करोडभन्दा बढी फूल र माला बिक्री हुने गरेको बताउँदै उनले यसवर्ष पनि सोही अनुपातमा फल बिक्री हुने बताउनुभयो। फूलको व्यापारमा पनि बिचौलिया हाबी भएको भन्दै उनले बिचौलिया रोक्नसके र पुष्प किसान एवं व्यवसायीलाई सिधै बजार पुर्‍याउन सके अझै आम्दानी बढ्ने उनी बताउँछन्।

यसो भन्छन् स्थानीय पुष्प व्यवसायी  
स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात् साढे दुई रोपनी जग्गामा गरेको फूलखेती गरेको बताइन्। एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी हुने बताउँदै उनले असारदेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको बताइन्। महिनामा चार पटकसम्म फूल टिप्न मिल्छ भने छ महिनाभन्दा बढी फूलले उत्पादन दिन्छ।

असारदेखि मङ्सिरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशका लागि बिक्री गर्ने गरेको उनी बताउँछिन्। सयपत्री फूल पनि असार साउनदेखि उत्पादन दिने गर्छ। मन्दिर र पूजाका लागि असारदेखि नै बिक्री हुने सयपत्री फूल मङ्सिर पुससम्म पनि बिक्री गर्न सकिने उनको भनाइ छ।

सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन्। चार–पाँचवटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु १० देखि रु १५ सम्ममा बिक्री हुने गरेको उनले बताइन्। सयपत्री फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गरिन्छ। ढ्वाङ्मा करिब तीन पाथीभन्दा बढी हुन्छ। किसानले ढ्वाङ्को पाँच सयदखि सात सय रुपैयाँसम्ममा र किलोमा जाखेर बिक्री गर्दा किलोको रु एक सय ५० सम्म लिने गरेका छन्। स्थानीयभन्दा उन्नत ९हाइब्रिड० सयपत्री फूलको भने व्यापारीले बढी मूल्य तिर्ने गर्छन्।

यस वर्ष तिहार नजिकिए पनि व्यापारी विगत वर्षको तुलनामा कम आएको भन्दै उनले गत वर्षभन्दा व्यापार कम भएको र विदेश निर्यात पनि यस वर्ष कम हुने देखिएको बताउँछिन्। यहाँका कृषकले वर्षमा कम्तीमा पनि पाँचसय देखि १० हजारसम्म माला उनेर बिक्री गर्ने गरेका छन्। गत वर्ष घरबाटै २० देखि २५ रुपैयाँमा बिक्री गरेको माला यस वर्ष पनि सोही मूल्यमा बिक्री भएको छ। घरमै आउने व्यापारीलाई बिक्री गर्दा मखमली फूलको एउटा माला रु २० देखि रु २२ मै बिक्री हुने भए पनि बजारमा लैजाँदा व्यापारीलाई रु ४० सम्म बिक्री गर्ने र यही माला खुद्रा बजार पुर्‍याउनसके रु ५० सम्म आउने पुष्प व्यवसायी बस्नेत बताउँछिन्।

घरघरमै आउँछन् फूल किन्न व्यापारी
दसैँ सकिएपछि घरघरमा फूल किन्न व्यापारी आउने गरेकाले यहाँका कृषकलाई बजार पाउन सहज भएको छ। घरमा आउने व्यापारीलाई बजार मूल्यभन्दा ३० देखि ४० प्रतिशत सस्तोमा फूल तथा माला बिक्री गर्ने गरेका छन्। गतवर्ष १५ सय माला बिक्री गरेकी स्थानीय मिना नगरकोटीले यस वर्ष एक रोपनी जग्गामा फूलखेती गरेको बताउँदै यस वर्ष पनि गाउँमै आएको व्यापारीलाई फूल माला बिक्री गरेको बताउँछिन्।

एक रोपनी क्षेत्रफलमा लगाएको मखमली फूलबाट ८० हजारदेखि एक लाखसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ। फूललाई रोगबाट जोगाउन सके राम्रो आम्दानी गर्न सकिने भन्दै उनले गुण्डुमा सयपत्रीका विभिन्न जात र मखमलीलगायत अन्य फूलको समेत खेती शुरु भएको बताइन्। अहिले दैनिक १० हजार मखमली फूलको माला व्यापारीले गाउँमै आएर लाने गरेको उनी बताउँछिन्।

गुन्डुमा आठ वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेकोे उनले माला खोज्न व्यापारीहरू गाउँ पसेपछि यहाँका बासिन्दाले पर्म लगाएर भए पनि माला उन्ने गर्छन्। यहाँका बासिन्दाले दशैँ सकिएपछि माला गाँस्न पर्म लगाउने र खेताला लगाउने गरेका छन्।

खेताला लगाउँदा एउटा मालाको पाँच रुपैयाँ ज्याला दिने गरेका छन्। ज्यालामा माला उन्न स्कुल सिध्याएका बालबालिका धेरै आकर्षित हुने गरेको उनी बताउँछिन्। कतिपयले गाउँ आएका व्यापारीलाई माला तथा फूल बिक्री गर्छन् भने कतिपयले व्यापारीसँग सम्पर्क गरी बजारमै पुर्‍याउने गरेका छन्। असारदेखि फूल टिपेर गाँसेर झुत्तो बनाएर राखेको मखमली फलको माला तिहार नजिकिएपछि बिक्री हुने गरेको उनको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा पुग्छन् माला 
स्थानीय बजारमा मात्र नभई यहाँका फूलमाला अन्तर्राष्ट्रिय बजारमा पनि पुग्ने गर्छ। सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन्। पछिल्ला केही वर्षयता सयपत्री फूल पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको व्यवसायी बस्नेत बताउँछिन्।

भारतीय फूलले बजार ओगटिरहेको बेला यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गर्छ। राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्‍याउन पाउँदा खुसी लागेको बताउँछिन्।

उनले भनिन्, ‘केहीवर्षदेखि अन्तर्राष्ट्रिय बजारका व्यापारीमार्फत यहाँका फूल तथा माला पुर्‍याउने गरेको छु। मेरो उत्पादनले मात्रै नपुग्दा अरु किसानका उत्पादन पनि खरिद गरेर विदेशका लागि व्यापारीलाई फूल तथा माला पठाउँछु।’

सम्पर्क व्यक्तिमार्फत यहाँको फूल तथा माला अष्ट्रेलिया,  अमेरिका,  क्यानडा,  जापानलगायत विभिन्न देशमा पुर्‍याइएको छ। यस वर्ष भने अन्तर्राष्ट्रिय बजारमा फूल निर्यात कम हुने देखिएको उनी बताउँछिन्।    -रासस

प्रकाशित: Oct 28, 2024| 17:31 सोमबार, कात्तिक १२, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुर्ख्यौली पेसाप्रति जलारी युवाको घट्दो रुचि

पुर्ख्यौली पेसाप्रति जलारी युवाको घट्दो रुचि

अहिले फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब एक सय घरधुरी जलारी छन्। पोखरा महानगरले जलारी समुदायलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ। तोकिएको स्थानमा...
अपांगता अब सामाजिक मुद्दा

अपांगता अब सामाजिक मुद्दा

कुनै दिवस मनाउने कुरा दिवसमा मात्र सीमित हुनुहुन्न। यसभन्दा अगाडि उठान गरिएका अपांगताका सवालको व्यवस्थापन सम्बोधनको अवस्था कस्तो छ, त्यसमा समीक्षा हुनु जरुरी छ।
नेपालमा पनि छ स्की खेलको सम्भावना

नेपालमा पनि छ स्की खेलको सम्भावना

हिमालै हिमालको देशको रूपले परिचित नेपालका डाँडाकाँडामा पर्ने हिउँले स्की खेललाई सम्भावना प्रस्टाउँछ।
सख्खर जस्तै गुलियो व्यापार

सख्खर जस्तै गुलियो व्यापार

खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्रसर चलाउने गरेको उनी बताउँछन्। तीनदेखि चार महिनाको बीचमा हुने यस पेसाबाट वर्षेनी सख्खर बेचेर...