माननीय मन्त्रीज्यू,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल सरकार
राम शाह पथ, काठमाडौं।
सर्वप्रथमत: नेपाल सरकारको स्वास्थ्य मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाईका साथ कार्यकालको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछु।
माननीय मन्त्री निशा मेहताज्यू तपाईं हाम्रो पेशाबाट आउनु भएको व्यक्ति हो।आज तपाईं स्वास्थ्य क्षेत्रको सर्बोच्च तहमा पुग्दा हामी गर्बले हर्ष बिभोर त भएका छौं नै। त्यसमा पनि एउटा अनुभवी, योग्य र क्षमतावान महिलाले उक्त मन्त्रालय समाल्दा स्वास्थ्य क्षेत्रका हजारौं कर्म्चारीले तपाईंप्रति ठूलो आशा, विश्वास र भरोसा मात्र गरेका छैनन कि त्यसभित्र रहेका तमामौं विकृति, विसंगति र असमानताका विरुद्धमा तपाईं सतीसाल झैं उभिनु हुनेछ र आमूल परिवर्तन हुनेछ।
हाम्रो होइन राम्रो अर्थात योग्य कर्मचारीलाई अबसर र प्रोत्साहन गर्नु नै हुनेछ। विधि, विधान, ऐन र नियम विपरित जाने जोकोहिलाई पनि कानुनी कठघरामा उभ्याएर दण्डित गर्नु हुने नै छ। कतिपय कर्मचारीहरू आफ्नो कर्तब्य के हो त्यो विर्सने र अधिकारका कुरा मात्र गर्नुले हामीले सेवा ग्राहिलाई आवश्यक सेवा दिन सक्दैनौं।
स्वास्थ्य क्षेत्र एउटा संबेदनशील र विशिष्ट प्रकारको क्षेत्र पनि भएका कारण हरेक कर्मचारीले मन, बचन र कर्मले समर्पित भै कार्य गर्नु नै पर्दछ। हामीहरूले ईमान्दारिताका साथ अनुशासित भएर काम गर्दै गर्दा पनि नीजि क्षेत्र होस वा सरकारी सबैको हेर्ने दृष्टिकोण र पारिश्रमिकतामा बिभेद भएको देखिन्छ। नेपालको नयाँ श्रम ऐन, २०७४ मा श्रमिकको समानता (equality) सम्बन्धमा महत्त्वपूर्ण ब्यवस्था गरिएको छ। समान कामको समान ज्याला अन्तर्गत ऐनले एउटै काम गर्ने श्रमिक्लाई समान पारिश्रमिक दिनुपर्ने ब्यवस्था गरिएको छ।
लिङ्ग, जात , धर्म, क्षेत्र आदिको आधारमा तलबमा बिभेद गर्न पाइदैन। सबै प्रकारका श्रमिकलाई समेट्न ऐनले औपचारिक, अनोपचारिक र घरेलु कामदार आदि सबैलाई समेटेर सबैलाई समान अधिकार दिने लक्ष्य राखिएको छ। श्रम ऐन २०७४ ले मुख्य रुपमा यस्तो ब्यबस्था गरिएको छ कि कुनै पनि श्रमिकसँग भेदभाब हुँदैन, सबैलाई समान अबसर, समान ज्याला र समान अधिकार मिल्छ। साथै कर्मचारीहरुलाई १) उचित पारिश्रमिक २) सुरक्षित कार्यस्थल ३) बिदा पाउने अधिकार ४) सामाजिक सुरक्षा ५) संगठन बनाउने अधिकार र ६) सेवा सुरक्षा आदि।
नेपालमा हालसम्म करिब १ लाख १२ हजार ५७६ नर्सहरू उत्पादन भएका छ्न्। जस मध्ये २३ वर्ष को तथ्यांक हेर्ने हो भने लगभग ५२ हजार ५७६ परिचारिकाहरू विदेशिएको देखिन्छ। प्रत्येक वर्ष उत्पादन भएर बजारमा आउने नर्सहरू ६ हजार देखि ७ हजार छ्न्।
नेपालमा करीब ८७ हजार नर्सहरू स्वदेश मै काम गरिरहेका छ्न्। स मध्ये १५ हजार सरकारी अस्पतालमा कार्यरत छ्न् भने १७ हजार नीजि अस्पताल/क्लिनिकमा काम गर्छदन ३२ हजार सक्रिय रुपमा संस्थागत काममा छ्न्। विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरू माथि विभेद मात्र भएको छैन कि श्रम समेत शोषण भएको पाइन्छ। नीजि अस्पतालहरूमा प्राय: तलब एकदमै कम हुन्छ भने सरकारी अस्पतालमा समेत श्रम अनुसारको तलब प्राप्त हुँदैन। त्यसकारण श्रमको उचित सम्मान र न्याय गर्न माननीय मन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्दै पुन: यहाँको कार्यकालको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछु।
सन्जु शाह
स्टाफ नर्स
सहिद गंगालाल राष्ट्रीय हृदय केन्द्र बाँसबारी, काठमाडौं।