नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस लोकतान्त्रिक चेतना, नागरिक अधिकार र सामाजिक परिवर्तनको मुख्य संवाहक शक्ति हो। २००७ सालको क्रान्तिबाट जहानियाँ राणाशासनको अन्त्य, २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्रको पुनःस्थापना र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म आइपुग्दा कांग्रेसले सदैव नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुशिल कोइराला, शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाजस्ता दूरदर्शी नेताहरूको विचार तथा निष्ठाको जगमा उभिएको यो पार्टीले देशलाई हरेक राजनीतिक सङ्कटबाट निकास दिएको छ।
तर, राजनीति स्थिर रहँदैन। राजनीति समय र पुस्ताको परिवर्तनसँगै फेरिन्छ। आज मुलुक २१औँ शताब्दीको तीव्र सामाजिक, आर्थिक र प्रविधिगत रूपान्तरणको मोडमा छ। नयाँ पुस्ताको उदयसँगै राजनीतिक अपेक्षाहरू पूर्ण रूपमा बदलिएका छन्। आजका नागरिक केवल विगतको इतिहास र पुराना आन्दोलनको कथा सुनेर मात्र सन्तुष्ट हुन तयार छैनन्। उनीहरू सुशासन, रोजगारी, प्रविधिमा पहुँच, पारदर्शी नेतृत्व र द्रुत आर्थिक समृद्धि चाहन्छन्। नेपाली युवाहरू पनि विश्व बजारसँग प्रतिस्पर्धा गर्न चाहन्छन्। त्यसैले उनीहरूको अपेक्षा हाम्रो मुलुक नेपालको राजनीतिक इच्छाशक्ति र नेताको कार्यशैली निकै सशक्त होस् भन्ने चाहन्छन्।
यस्तो अवस्थामा नेपाली कांग्रेस आफ्नो १५औँ महाधिवेशन गरिरहेको छ। यो महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने परम्परागत थलो मात्र होइन, कांग्रेसको वैचारिक पुनर्जागरण र सांगठनिक रूपान्तरणको ऐतिहासिक महाकुम्भ हो। पार्टीलाई पुनः जनजनको भरोसायोग्य, आधुनिक र गतिशील शक्ति बनाउन आज 'पुस्तान्तरण र रूपान्तरण' अकाट्य आवश्यकता बनेको छ। यसै ऐतिहासिक र वैचारिक पृष्ठभूमिका बीच कञ्चनपुर क्षेत्र नम्बर १ बाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधि चयन भएर मैले १५औँ महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छु। मेरो उम्मेदवारी एउटा पद प्राप्तिको आकांक्षा होइन, यो कांग्रेसलाई समयअनुकूल, प्रविधिमैत्री र पुस्तान्तरणमुखी बनाउने एउटा वैचारिक सङ्कल्प हो।
मेरो राजनीतिक जग विद्यार्थी आन्दोलन र शैक्षिक सुधारका जुझारु अभियानहरूबाट निर्माण भएको हो। मैले देशकै उत्कृष्ट व्यवस्थापन क्याम्पसहरूमध्ये एक मानिने शंकरदेव क्याम्पसको स्ववियु सचिवका रूपमा कार्यसम्पादन गरिसकेको छु। मैले त्यसक्रममा विद्यार्थीका हकहित, शैक्षिक सरोकार र विश्वविद्यालय सुधारका मुद्दाहरूलाई निरन्तर बहसको केन्द्रमा ल्याएको कुरा सर्वविदितै छ। विद्यार्थी राजनीतिमा सक्रिय रहँदा मैले देखाएको तार्किक बहस, स्पष्ट वैचारिक दृष्टिकोण र सार्वजनिक मुद्दाहरूमा देखाएको मुखर प्रस्तुतिले युवा तथा विद्यार्थीमाझ एक स्थापित र भरोसायोग्य नेताको रूपमा उभ्याएको थियो। त्यहि भरोसालाई अब मैले कांग्रेसको मूलधारमा समाहित गर्दै पार्टी तहबाट नै युवाको पक्षमा काम गर्ने दृढ शंकल्प लिएको छु।
म कांग्रेसको १४औँ महाधिवेशनमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर इतिहास रचेको थिए। त्यसयता मैले पार्टीलाई नयाँ पुस्ताको भावनासँग जोड्न निरन्तर काम गर्दै आएको छु। कञ्चनपुरमा ‘जनमनमा कांग्रेस, घरघरमा कांग्रेस’ अभियान सञ्चालन गरी संगठनलाई तल्लो तहका नागरिकसम्म पुर्याउन पनि अहोरात्र खटिएको थिए। पुनः १५औँ महाधिवेशनमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गराएर मेरो निर्वाचन क्षेत्रका वडाध्यक्ष, क्षेत्रीय प्रतिनिधि र सम्पूर्ण नेता-कार्यकर्ताहरूले ठूलो गुन लगाउनु भएको छ। उहाँहरूको यो भरोषालाई उच्च सम्मान गर्दै उहाँहरूको अपेक्षा अनुसार नै अघाडि बढ्ने प्रतवद्धतासमेत म व्यक्त गर्दछु।
राजनीतिलाई केवल पद प्राप्तिको माध्यम नभई नयाँ पुस्ताको भविष्य निर्माण गर्ने उत्तरदायित्वका रूपमा लिनुपर्छ भन्नेमा म दृढ छु। राजनीति पदका लागि होइन, विचार, विकास, स्वविवेक र पुस्ताको भविष्यका लागि हुनुपर्छ भन्ने मेरो धारणा हो। उनले स्वार्थभन्दा माथि उठेर मुलुकको सेवा गर्न सकियो भने मात्र त्यो असल राजनीति हुन्छ। राजनीति पेसा होइन, समाज र देशको हितमा काम गर्न मिल्ने एक उपयुक्त बाटो हो। त्यसलाई त्यहि रुपमा बुझेर सोहि अनुरुप प्रयोग तथा सदुपयोग गर्नुपर्छ। कांग्रेसमा 'पुस्तान्तरण' भन्नाले अग्रज नेताहरूको योगदानको अवमूल्यन वा उहाँहरूलाई एकाएक विस्थापित गर्ने भन्ने अर्थ लाग्दैन। पुस्तान्तरणको वास्तविक अर्थ अनुभवको सम्मान गर्दै युवा ऊर्जा, नवीन सोच र आधुनिक कार्यशैलीलाई नेतृत्व तहमा एकीकृत गर्नु हो।
मैले अघि सारेको ‘अबको कांग्रेस, युवाको नेतृत्वमा!’ भन्ने मूल सङ्कल्पले पार्टीभित्रको वैचारिक र कार्यशैलीगत रूपान्तरणलाई सङ्केत गर्छ। आजको युवा पुस्ता प्रविधि, भूमण्डलीकरण र उद्यमशीलताको युगमा हुर्किएको छ। त्यसैले, युवा नेतृत्वले मात्र आजको पुस्ताका समस्या, उनीहरूको भाषा र अपेक्षाहरूलाई सही रूपमा बुझ्न र सम्बोधन गर्न सक्छ। पुस्तान्तरणका प्रमुख आधारहरूमा अनुभव र ऊर्जाको सन्तुलन कायम गर्दै अग्रजहरूको राजनीतिक मार्गदर्शन र युवाको गतिशीलता बीच सुदृढ समन्वय गर्नु पर्दछ। यसका साथै स्थानीय तहदेखि पार्टीका केन्द्रीय संरचनाहरूसम्म युवाहरूको केवल उपस्थिति मात्र होइन, नीति निर्माणमा निर्णायक भूमिका सुनिश्चित गरिनुपर्छ। गुट र भागबन्डाको राजनीतिभन्दा माथि उठेर विचार, क्षमता र योग्यताका आधारमा पार्टी सञ्चालन गर्ने संस्कृति बसाल्नु आवश्यक छ। यसैगरी, प्रजातान्त्रिक समाजवादको परम्परागत धारणालाई आधुनिक डिजिटल अर्थतन्त्र र सामाजिक न्यायसँग जोड्दै विचारको आधुनिकीकरण गर्नु आजको आवश्यकता हो।
त्यसैले मैले १५औँ महाधिवेशनमार्फत कांग्रेसलाई समृद्ध र सुदृढ बनाउन स्पष्ट कार्यदिशा तथा एजेण्डा प्रस्तुत गरिरहेको छु। अबको राजनीति भाषणमा मात्र होइन, नागरिकको जीवनस्तर सुधारमा जोडिनुपर्छ। युवाहरूलाई खाडी मुलुकमा श्रम बेच्न बाध्य पारिने परिपाटीको अन्त्य गर्दै स्वदेशमै स्टार्टअप, नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्ने नीति ल्याउनु पर्छ। शिक्षण संस्थालाई केवल प्रमाणपत्र बाँड्ने थलो नबनाई सीपमूलक, प्राविधिक र रोजगारमुखी शिक्षा प्रणालीमा ढालिनुपर्छ। युवा उद्यमीहरूका लागि सहुलियतपूर्ण ऋण, प्रविधि हस्तान्तरण र बजार पहुँचको सुनिश्चितताका लागि पार्टीले राज्य तहमा स्पष्ट नीतिगत पैरवी गर्नुपर्छ। राजनीतिप्रति आम नागरिकमा बढेको निराशाको मुख्य कारण भ्रष्टाचार र असुशासन हो। सार्वजनिक जीवन र पार्टी संगठनभित्र भ्रष्टाचारप्रति 'जिरो टोलरेन्स' को नीति कार्यान्वयन गर्दै निर्णय प्रक्रियामा पारदर्शिता, उत्तरदायित्व र नतिजामुखी कार्यसम्पादन प्रणाली लागू गरिनुपर्छ। पार्टीको सदस्यता, अभिलेख, आर्थिक कारोबार र आन्तरिक निर्वाचनलाई डिजिटल प्रणालीमा लगेर पारदर्शी र प्रविधिमैत्री बनाउनु आवश्यक छ।
महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रका नागरिकहरूलाई राज्य र पार्टीका हरेक तहमा समान अवसर र प्रतिनिधित्व दिलाउँदै समतामूलक समाज निर्माण गर्नुपर्छ। तराईका उर्वर भूमि लाई कृषि आधुनिकीकरण र सिँचाइको पहुँचमार्फत आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड बनाउन सकिन्छ। वातावरणीय सन्तुलन जोगाउँदै दूरदराजका बस्तीहरूमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउनु उत्तिकै जरुरी छ। नेपाली कांग्रेसलाई कुनै खास वर्ग, उमेर समूह वा गुटको मात्र नभई सम्पूर्ण नेपाली जनताको 'साझा घर' बनाउन १५औँ महाधिवेशनले रणनीतिक कदमहरू चाल्नु अनिवार्य छ। कांग्रेसले ज्येष्ठ नागरिकहरूको अनुभव र योगदानको उच्च सम्मान गर्दै उहाँहरूलाई संरक्षकको भूमिकामा राख्नुपर्छ। साथै, युवा पुस्ताको ऊर्जा र नयाँ प्रविधिलाई अगाडि बढाएर पार्टीभित्र पुस्तान्तरणको सहज हस्तान्तरण हुनुपर्छ। जब हजुरबुबा/आमा, बाबु/आमा र नाति/नातिना पुस्ताले एउटै पार्टीभित्र आफ्नो भविष्य र सम्मान देख्छन्, तब मात्र पार्टी वास्तविक रूपमा 'साझा' बन्छ।
नेताहरूको व्यक्तिगत टकराव र गुटगत स्वार्थका कारण कांग्रेसप्रतिको जनविश्वास खस्किएको हो। १५औँ महाधिवेशनले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ। प्रजातान्त्रिक समाजवादलाई २१औँ शताब्दीको परिवेशमा पुनःपरिभाषित गर्दै स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा राज्यको उत्तरदायित्व र आर्थिक वृद्धिमा निजी क्षेत्रको सहभागिताको स्पष्ट मोडल ल्याइनुपर्छ। कांग्रेस केवल चुनावका बेला मात्र जनताको घरदैलोमा पुग्ने दल बन्नु हुँदैन। मैले कञ्चनपुरमा सुरु गरेको ‘जनमनमा कांग्रेस, घरघरमा कांग्रेस’ जस्ता अभियानलाई देशभर विस्तार गरिनुपर्छ। नागरिकका सुख-दुःख, स्थानीय विकासका आवश्यकता, बाढी-पहिरो जस्ता प्राकृतिक विपद् र दैनिक समस्यामा कांग्रेस कार्यकर्ता अग्रपंक्तिमा उभिनुपर्छ।
पार्टीभित्र 'आफ्नो मान्छे' भन्दा पनि 'राम्रो मान्छे' ले अवसर पाउने वातावरण बन्नुपर्छ। चापुलुसी, गुटबन्दी र आर्थिक प्रभावका आधारमा टिकट र पद बाँड्ने परिपाटीको पूर्ण अन्त्य गरी निष्ठा, क्षमता, लोकप्रियता र कार्यसम्पादनको आधारमा नेतृत्व चयन हुने प्रणाली बसाल्नुपर्छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन इतिहासको एउटा महत्त्वपूर्ण दोबाटोमा उभिएको छ। पुराना राजनीतिक ढर्रा र परम्परागत कार्यशैलीबाट अब पार्टी अघि बढ्न सक्दैन। मुलुकलाई समृद्धि, सुशासन र आधुनिकतातर्फ लैजानका लागि पहिले कांग्रेस आफैँभित्र रूपान्तरित र पुनर्जाग्रत हुन आवश्यक छ।