बुधबार, चैत १८, २०८२

सम्झनामा आमा : तिमी थियौं निस्वार्थ सेवाकी प्रतीक

 |  मंगलबार, चैत १७, २०८२

सन्तोष खड्का

सन्तोष खड्का

मंगलबार, चैत १७, २०८२

आमा शब्दको महिमा आफैँमा व्यापक छ। संसारमा सबै कुराको व्याख्या गर्न सकिएला तर आमाको महिमाको व्याख्या गर्न सकिँदैन। त्यसैले मैले मेरी आमाको सम्झनामा केही शब्द कोरेको छु।

National life

२०७५ चैत ८ गतेको दिन थियो। त्यो दिन सम्झँदा अझै पनि मेरो मन भक्कानिन्छ। त्यही दिन हामी दाजु-भाइ सुरेश खड्का र सन्तोष खड्काले मातृवात्सल्य गुमायौं। हाम्रो जीवनको सबैभन्दा ठूलो सहारा, हाम्री आमा शारदा देवी खड्काले सधैँका लागि यो संसार त्यागिन्। आमाले संसार त्यागेको सात वर्ष वितिसक्दा पनि उहाँको अभाव उस्तै ताजा छ, त्यो पीडा उस्तै गहिरो छ।

आमाले हामीलाई जीवनका धेरै कुरा सिकाउनु भयो। तर, आफू बिना कसरी बाँच्ने सिकाउनु भएन।

मेरी आमा केवल हाम्रो परिवारको आमा मात्र होइन, समाजकी पनि आमा हुनुहुन्थ्यो। उहाँ एक समर्पित ग्रामीण महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्थ्यो। २०५१ सालदेखि लगातार २५ वर्षसम्म उहाँले गाउँघरका आमाबुबा, दिदीबहिनी र साना बालबालिकाको स्वास्थ्यका लागि आफ्नो जीवन नै समर्पण गर्नुभयो।

दिन होस् या रात, घाम होस् या पानी- उहाँलाई कसैले बोलायो भने कहिल्यै 'म थाकेँ' भन्नुभएन। भोक, निद्रा, दुःख–कष्ट सबै बिर्सेर उहाँ सेवा गर्न दौडिनु हुन्थ्यो। कतिपटक रातको अँध्यारोमा टर्च बोकेर सुत्केरी भएकी महिलालाई सहयोग गर्न पुग्नुहुन्थ्यो। गाउँमा कसैको बच्चा बिरामी भयो भने सबैभन्दा पहिले पुग्ने व्यक्ति उहाँ नै हुनुहुन्थ्यो।

kumari

महिला स्वास्थ्य स्वयं सेविकाको काम केवल सेवा मात्र होइन, त्यो एउटा ठूलो जिम्मेवारी हो। गर्भवती महिलाको हेरचाह गर्नु, सुत्केरीमा सहयोग गर्नु, बच्चाहरूलाई खोपका लागि प्रेरित गर्नु, परिवार नियोजन र सरसफाइ बारे सचेतना फैलाउनु सबै उहाँको दैनिकी थिए। उहाँका लागि यो कुनै जागिर थिएन, यो त उहाँको आत्माको कर्तव्य थियो।

तर, अरूको स्वास्थ्य जोगाउँदै जाँदा उहाँले आफ्नै स्वास्थ्यको भने खासै ख्याल गर्नुभएन। सायद यही उहाँको सबैभन्दा ठूलो त्याग थियो।

उहाँको निधनपछि, हामीलाई सबैभन्दा बढी पीडा दिने कुरा केवल उहाँको अभाव मात्र होइन, उहाँले देखाउनुभएको सेवाको बाटो कसरी जोगाउने भन्ने प्रश्न पनि थियो। यही पीडालाई शक्तिमा रूपान्तरण गर्दै हाम्रो परिवारले उहाँको सम्झनालाई केवल शब्दमा सीमित राखेन। हामीले त्यसलाई कर्ममा उतार्ने प्रयास गर्यौं।

हाम्रो बुबा कृष्ण खड्का (किट्टो खड्का)ले आफ्नी प्रिय श्रीमतीको सम्झनामा एउटा महान निर्णय लिनुभयो, उहाँले स्वास्थ्य संस्था स्थापनाका लागि आफ्नै जग्गा दान गर्नुभयो। यही जग्गामा आज बझाङमा 'शारदा बर्थिङ सेन्टर' स्थापना भई सञ्चालनमा आएको छ।

बझाङ जिल्लाको दुर्गम क्षेत्रमा रहेको यो बर्थिङ सेन्टर आज गाउँका गर्भवती महिलाहरूका लागि आशा र भरोसाको केन्द्र बनेको छ। पहिले सुत्केरी सेवाका लागि टाढा जानुपर्ने बाध्यता, बाटोको अभाव, आर्थिक समस्या र समयमै उपचार नपाउने जोखिमले धेरै ज्यान संकटमा पार्थ्यो। तर, आज गाउँमै सुरक्षित सुत्केरी सेवा उपलब्ध हुँदा ती समस्याहरू धेरै हदसम्म कम भएका छन्।

यस केन्द्रले केवल सेवा मात्र दिएको छैन, यसले जीवन बचाउने अभियानलाई निरन्तरता दिएको छ। धेरै आमा सुरक्षित सुत्केरी हुन सकेका छन्, धेरै नवजात शिशुहरूले नयाँ जीवन पाएका छन्। यो केन्द्र केवल एउटा भवन होइन, यो आमाको माया, त्याग र सेवाको जीवित प्रतीक हो।

हाम्रो लागि 'शारदा बर्थिङ सेन्टर' केवल आमाको सम्झना होइन, यो उहाँको अधुरो सपना पूरा गर्ने एउटा माध्यम हो। आमाले देखाउनुभएको बाटोलाई निरन्तरता दिन पाउनु नै हाम्रो सबैभन्दा ठूलो गर्व हो।

समय बित्दै जाँदा घाउ पुरिन्छ भनिन्छ, तर आमाको अभाव कहिल्यै पुरिँदैन। तर, त्यही अभावलाई समाजका लागि प्रेरणामा रूपान्तरण गर्नु नै साँचो श्रद्धाञ्जली हो।

सातौँ वार्षिक स्मृतिका अवसरमा स्वर्गीय आमा शारदाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हामी यही कामना गर्दछौँ- उहाँ जहाँ भए पनि शान्तिमा रहनुहोस्। उहाँको माया, त्याग र सेवा सधैँ हाम्रो हृदयमा जीवित रहनेछ।

आमा, तपाईं केवल हाम्रो आमा मात्र होइन, समाजकी साँचो सेविका हुनुहुन्थ्यो। हामी तपाईंप्रति सधैँ गर्व गर्छौं। धेरै माया आमा, धेरै सम्झना!

प्रकाशित: Mar 31, 2026| 16:50 मंगलबार, चैत १७, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बिरानो बन्यो मेची पारिको नेपाल

बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि बालबालिका समेत भारत नै धाउनुपर्ने यहाँको बाध्यता छ।

बालबालिकालाई नेपालको महिमा पढाउनुपर्छ

आधुनिक प्रविधिको प्रभाव, प्रवासी जीवनशैलीको आकर्षण र सामाजिक सञ्जालको प्रभावले आजका बालबालिकाको ध्यान आफ्नो देश र संस्कृतिप्रति कमजोर बनाउँदैछ। यस्तो परिस्थितिमा नेपालको गौरव, मौलिकता र...