 
                                                                                 
                                                                
                                                                                        
                                                        देशको वर्तमान अवस्था परिकल्पना बाहिरको परिदृश्य हो। कसैले पनि सोचेको थिएन देशमा एकाएक यस्तो भयावह अस्था सिर्जना होला। तर, केपी शर्मा ओलीको अपरिपक्व र गलत निर्णयका कारण आज मुलुकले यो दूरावस्था भोग्नु परेको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध ओली सरकारको गलत निर्णय थियो। अहिले सूचना र प्रविधिको युग हो। नागरिकलाई त्योबाट विमुख गर्न खोज्नु मानव अधिकार विपरित हो। सरकारले मुलुकमा दर्ता नभएका सामाजिक सञ्जाललाई कानुनी कसीमा ल्याउन संवाद र छलफलको बाटो अपनाउन पर्थ्यो। त्यसमा ओली चुके।
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपछि सरकारमाथि युवा आक्रोस बढ्यो। जेनजीहरूले २३ भदौमा सामाजिक सञ्जालमाथिको प्रतबन्ध फुकुवा र भ्रष्टाचारविरुद्ध भन्दै शान्तिपूर्ण आन्दोलन गरेका थिए। त्यसमा प्रहरी दम भयो। जेनजीहरूमाथि सरकारले गोली प्रहार गर्यो। हजारौं जेनजी घाइते हुँदा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन्। उग्र बन्दा जेनजीहरूको आन्दोलनमा ठूलो घुसपैठ हुन पुग्यो। तिनै घुसपैठ गरेका राष्ट्र विरोधिहरूले मुलुकको गौरब र इतिहास बोकेका सार्वजनिक सम्पत्ति ध्वस्त पारिदिए। हेर्दा हेर्दै आँखैअघि संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, सितल निवास, स्थानीय तह, नेताहरूका घर र व्यापारिका व्यक्तिगत सम्पत्ति जलेर खरानी भए। यसले मुलुकलाई करोडौंको क्षति पुगेको छ। मुलुक दसकौंपछि धकेल्ने खेल भएको छ। यसले मेरो हृदय भत्भति पोलिरहेको छ।
जेनजीहरूको आन्दोलनमा भएको घुसपैठ निकै संकास्पद रहेको छ। जनजी आन्दोलनको नेतृत्वकर्ता को हो र कसको आह्वानमा यो विध्वंश भएको हो। यसको एक/एक हिसाव खोजिनुपर्छ। आन्दोलनको उद्देश्य असल नै थियो होला। लिखित रुपमा यसको उद्देश्य प्रष्ट नभए पनि मौखिक रुपमा भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्सितालगायत माग थिए। तर, जेनजी आन्दोलनलाई उग्र तुल्याउन देशद्रोहीहरूको घुसपैठ भयो। अवस्था भयावह बन्ने देखिएपछि प्रहरीले युवाहरूको टाउको र छातिमा गोली प्रहार गर्यो। यो घटना दुखद् नै हो। तर, दोस्रो दिनको आगजनी पछाडिका खलनायक नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वन्त्र पार्टी र त्यसका सभापति रबि लामिछने हुन् । रबिले तरलताको मौका छोपेर नक्कली पत्र बनाइ नक्खु कारगारबाट निस्कने गलत प्रपन्च रचे। उनकै सड्यन्त्रका कारण कारागारमा रहेका जघन्य अपराधका थुप्रै कैदीहरूले माग्ने अवसर पाए। त्यसका मतियार रास्वपाका कार्यकर्ता पनि बन्न पुगेका छन्।
जेलबाट निस्किएका माओवादी, रास्वपा र राप्रपाका कार्यकर्ताहरूले नै देशका विभिन्न ठाउँमा आगजनी गरेका हुन्। उनीहरूले शान्ति सुरक्षामा खटिएका तीन जना प्रहरीको हत्या गरे। लोकतन्त्रको प्राप्ति र रक्षाका लागि पूरा जीवन खर्चिनुभएका नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई मरणासन्न हुने गरी कुटपीट गरे। यी सबै जेनजीको नाममा देशद्रोहीले गरका बरबर कार्य हुन्। यसको निन्दा जति गरे पनि कमै हुन्छ। हामीले बुझेको जेनजी १९९७ देखि २०१२ सम्म जन्मेको हो। तर, आन्दोलनको नेतृत्व अहिले सुदन गुरुङले गरिरहेको देखिन्छ। तर, एउटा सञ्चारमाध्यमले लिएको अन्तरवार्तामा उनले आफू आन्दोलनकारी नभएर सेवा भावले आएको दाबी गरेका थिए। कुनै व्यक्ति घाइते भएमा सहयोग गर्ने बताएका थिए। तर, उनी नै एकाएक आन्दोलनको नेतृत्वमा आउनु आश्चर्य जनक र संकास्पद छ।
अर्को कुरा भाटभटेनी जस्ता देशकै ठूला मार्ट मात्र जलेर खरानी भएनन्। त्योसँगै नेपालमा लगानी गर्न चाहने ठूला व्यापारिको सपना तुहिएको छ। कयौंको चुलो बल्न रोकिएको छ। देशले ठूलो राजश्व गुमाएको छ। स्वरोजगार गुमाएको छ। धेरै युवाको सपना तुहिएको छ। तसर्थ यस्ता दोषीलाई कानुनी दाएरामा ल्याएर कडा कारबाही गरिनुपर्छ। अब हामी कहाँ चुक्यौं? भन्ने चर्चा गरौं। हामीले भ्रष्टाचार निवारण गर्न सकेनौं। सुशासन दिन सकेनौं। पारदर्सिताको अभाव भयो। स्थापित पार्टीभित्र कामको आधारमा राम्रो काम गर्नेलाई पुरस्कृत र गल्ती गर्नेलाई दण्डीत गर्नुको सट्टा चाकरहरूलाई अवसरको पहुँच दिँदै आर्थिक रुपमा सम्पन्न बन्न र पदको शिखरमा पुर्याउने काम भयो। मानौं पार्टीका कार्यकर्ता दास हुन र यिनको अस्तित्व छैन भन्ने बनाइयो। र, त्यस्तै देखाइयो। इमान्दार, लगनशील, त्याग, तपस्या, योगदान गरेकाहरू ओझेल पर्दै जानुले समाजमा वितृष्णा पैदा गर्यो। ठेकेदार, ब्यापारीलगायतको हातमा पार्टी जानु अर्थात् कब्जा हुनु राम्रो भएन। यस्ता तमाम कमजोरीका कारणले नै निराशा गुणात्मक रुपमा फैलियो। अब यसबाट हामी सच्चिनुपर्छ।
धनजनको क्षति हुँदा सुरक्षा निकाय मुकदर्शक हुनु पनि हाम्रो दुर्भाग्य हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना आफ्नो कर्तव्यबाट च्यूत भयो। त्यसमा पनि अन्तिम सुरक्षाको भरोसा गरेको नेपाली सेनाले २४ गते राति १० बजेबाट मात्र परिस्थितिलाई नियन्त्रण लिन सक्यो। तर, त्यसभन्दा अगाडीको विध्वंसलाई रोक्न नेपाली सेनाले प्रभावकारी भूमिका निर्वाह गरेको देखिएन। सेना आगजनीको छड्के किनाराको साक्षी हुनुको कारण अझै अनुत्तरित छ। अब यो विषम र प्रतिकूल परिस्थितिमा अर्थात् शोकलाई शक्तिमा बदलेर एकता, सहमति र सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन। तर, गोलि प्रहार गरेर जेनजीलाई मार्ने, आगजनी गर्ने, कुटपीट गर्नेहरूलाई छानबिन गरेर कानुनको कठघरामा उभ्याइपर्छ। नेपालीबीचको बन्धुत्व कायम गरिनुपर्छ। यसका साथै घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना।
(लेखक शाही नेपाल विद्यार्थी संघका पूर्वबरिष्ठ उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता हुन्।)