भक्तपुर जात्रामय बनेको छ। नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ। यहाँका नेवार समुदायले महत्वपूर्ण पर्वका रुपमा बिस्काः अर्थात् बिस्केट जात्रा मनाउने गर्दछन्।
स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि बिस्केट जात्राका लागि घर फर्कने गर्दछन्। भक्तपुर जिल्लाभरि नै हर्षोल्लासका साथ मनाइने यो जात्रा ऐतिहासिक पक्ष मात्रै नभई पूर्णरुपमा तान्त्रिक एवं धार्मिक विधिअनुरुप मनाउने गरिन्छ।
के हो बिस्काः जात्रा ?
बिस्काः जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा यसलाई विश्व जात्रा भनी उल्लेख गरिएको छ। भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको उनको भनाइ छ।
परापूर्वकालमा यो जात्रा दुई दिन मात्र मनाइन्थ्यो। बिस्का जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसीं द्यः(लिङ्गों) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सक्रान्तिको दिन उक्त योसीं ढाल्नु हो। यक्ष मल्लको टौमढीको ने.सं. ५६१ को शिलापत्रमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर शहरमा वर्षभरि मनाउने विभिन्न जात्रा चाडपर्व संस्कृतिको उल्लेख गर्ने क्रममा यसलाई ‘विश्वजात्रा’ को उल्लेख गरिएको छ।
त्यस्तै ने.सं. ६४१ को भूमिसम्वन्धि तमसुक ताडपत्रमा “विसक जात्रा” उल्लेख छ। ने.सं. ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको ने.संं. ९१८ मा लेखिएको ठ्यासफुमा समेत ठाँउठाँउमा विश्वजात्रा नै भनिएको पाइन्छ। यता ने.सं. ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा “विसक्यात” उल्लेख छ। त्यस्तै भतmपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि “विसक्यात” रहेको छ।
किंरातीहरुलाई पराजित गर्न सफल भएपछि लिच्छवीहरुले यो जात्रा मनाएको भनाइ छ। लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतनपछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर विशाल नेपाल मण्डलकै राजधानी थियो, जुन यक्ष मल्लसम्म निरन्तर रहयो। यस अवधिको करिब ३६७ वर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी रहेको थियो।
त्यतिबेला भक्तपुर नगरको वरपर प्रशस्त जङ्गलहरु रहेको हुँदा सबैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिगों उठाउने गरियो। यसमा पछि एक जोडा ध्वजा थपियो। यसरी दुई दिन मात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीको समेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भएको भनाइ छ।
भक्तपुरका राजा राय मल्लको समयमा भक्तपुर अधिनस्थ कयौं राज्य स्वतन्त्र हुँदै भक्तपुरको भू–भाग सानो हुदै गएकोलाई उनका छोरा भुवन मल्लले आफ्नो अधिकार भएको टोखा, सुनाकोठी, थिमि, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर चौकोट जस्ता ठाउँहरुमा समेत विस्काः मनाउने चलन चलाएको बताइन्छ।
भक्तपुरको विस्काः जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउनेदेखि अन्य देवदेवीहरुको समेत जात्रा पुजापर्व गर्ने परम्परा बसाउनमा भक्तपुरका विश्व मल्ल, गङ्गारानी, जर्गज्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्लको योगदान रहेको बताइन्छ।
अहिलेसम्म तलेजुमा बिस्काः जात्राको संकल्प पूजामा विश्व जात्रा महापर्व भनेर सम्बोधन गरिने बताउँदै उनले संस्कृत शब्द विश्व केतु पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको बताउँछन्। त्यसैको बिस्काबाट अपभ्रंस भएर बिस्केट हुन पुगेको हो। नेवारीमा अहिले पनि यो जात्रालाई बिस्काः जात्रा भन्ने गरिन्छ। विक्रमसम्वत् अनुसार सौरमासको आधारमा चल्ने बिस्केट जात्रा बिःसीत (नागनागिन मर्यो) भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाउँदै आएको हो भन्ने पनि भनाइ छ।
जात्रा कहिलेबाट सुरु हुन्छ ?
विश्वमा नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्रामध्ये एक मानिने बिस्केट जात्राको पहिलो दिन चैत २७ गते बिहान स्थानीय बासिन्दा, मध्यान्हमा गुठी संस्थाबट सरकारी पूजा र त्यसपछि टोलको पूजा सकेपछि गरेपछि स्थानीय काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा खड्ग, तरवार, निशान राखिसकेपछि भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको छ।
पाँचतले मन्दिर प्राङ्गणबाट भैरबको रथलाई ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ।
यस जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्नेछ। भैरवनाथको रथ तान्न सुरु भएपछि तौमढीबाट माथि र तलका बासिन्दाले तानेर भैरवनाथको रथ गःहिटीमा पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ। जात्राको मुख्य आकर्षण पहिलो दिन २७ गते र अन्तिम दिन ५ गते रथ तानातान गर्नु हो भने ३० गते ल्यासिंखेलमा ५५ हात लामो लिङ्गो उठाउने र बैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालेर मनाउने मुख्य जात्रा हो।
यस्तो छ जात्राको किंवदन्ती
जात्राको बारेमा फरक फरक किंमबदन्ती रहेको छ। पहिलो किम्वदन्तीअनुसार प्राचीन भक्तपुर राज्यको दरबारकी राजकुमारीसँग विवाह गर्न बलवान राजकुमारको खोजी गर्ने क्रममा बिभिन्न राज्यबाट राजकुमारहरु आउने र पहिलो दिन राजकुमारीसँग रात बिताउने क्रममा राजकुमारीको नाकको प्वालबाट दुईवटा नागनागिन निस्केर राजकुमारलाई डसेर मार्ने गर्दथे। धेरै राजकुमारको त्यसरी मृत्यु भएपछि एक तान्त्रिकले एक रात आफ्नो तन्त्र विद्याबाट राजकुमारीको नाकबाट निस्केको नागनागिनलाई तरबारले काटेर झुण्ड्याएको खुसीयालीमा राजाले यो जात्रा मनाउन लगाएको विश्वास छ।
यसबारेमा ईतिहासविद् प्राडा श्रेष्ठ भने बिस्का जात्राको विश्वनाथ भैरब र भद्रकालीसँग सम्बन्धित रहेको दाबी गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो। विश्व भैरवनाथको प्रतीक लिङ्गोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो। यसलाई जबरजस्ती ‘वि’ को अर्थ सर्प र ‘स्यात’को अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र फैलाएर जात्राको धार्मिक तथा ऐतिहासिक पक्षलाई भ्रम फौलाउन खोजिएको छ।”
यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालीन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, वीर ध्वजा लेखिएको छ। यस अर्थमा पनि विश्व नाथको ध्वजा विश्वध्वजा हो। वीर ध्वजा हो भन्ने कुरा स्पष्ट छ। यसमा वीर भनेर भैरवको वाहान वीर बेताललाई भनिएको हो। त्यस मानेमा पनि यो ध्वाजा विश्व ध्वाजा र वीर ध्वाजा मान्न सकिन्छ। यो जात्रा किरातहरुसँगको युद्धमा विजयी भएपछि लिच्छवी राजाहरुले खुसीयालीमा दुई दिन मनाएको र पछि मल्ल राजाले यसलाई भैरब र भद्रकालीको जात्रा थप गरी आठ रात नौ दिन पुर्याएको बताइन्छ।
जात्रामा के के हुन्छ ?
प्राचीनकालदेखि चल्दै आएको विस्का जात्रामा नकिंजु (खुसिं) अजिमा भद्रकालीको द्यःखः (रथ) जात्रा थप गरेपछि पनि पुनः काशी विश्वनाथ भैरबको जात्रा समावेश गरी विस्का जात्रा सञ्चालन गर्दै भक्तपुरवासीले मोहनी नखः (पर्व) पछिको प्रमुख चाडपर्वका रुपमा मनाउँदै आएको पाइन्छ।
जात्राको पहिलो दिन भैरवनाथको रथ तान्नेर (क्वने) तल्लो क्षेत्र टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखु र ठने (माथिल्लो क्षेत्र) क्वाछे, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय स्थानसम्म रथ तानेर पुनः सोही स्थानमा फर्काइन्छ र भैरव र भद्रकालीको रथजात्रा गरी अन्तमा गःहिटीमा रथ पुर्याई पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ।
रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फका जात्रालुहरूले रथलाई ‘होस्से..हैसे…हा..हा..’ गर्दै आफ्नोतर्फ तानेर जात्रा मनाइन्छ। रथ तान्ने जात्रामा हजारौँ स्थानीय बासिन्दाले रथको अगाडि पछाडि डोरी तानातान गरेर आ–आफ्नो टोलमा लैजान खोज्छन्। रथ तानातान गर्नु नै यस जात्राको मुख्य आर्कषक हो, बिस्केट जात्राको पहिलो दिनलाई द्यो क्वहाँ विजाइगु (देवता तल्ल आगमन हुने) भनिन्छ। त्यसदिन बेलुकी सम्पूर्ण देवगणहरु आ–आफ्ना देवगृहको आसनबाट तल विराजमान हुन्छन् वा गराइन्छन्। यसलाई स्थानीय न्हाषामा द्यःक्वहाँ बिज्याकेगु भन्ने गरिन्छन्।
दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पुर्याइन्छ। तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ जसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ।
बिस्केटको चौथो दिन पुरानो वर्षको अन्तिम दिन चैतको ३० गते बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो (ल्हामरु म्ह) उभ्याइन्छ भन्ने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो उभ्याइन्छ। पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ। भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ। लिङ्गो कोखामा झुण्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा, विश्वध्वजा आकाशभैरवका ध्वजासमेत भनिन्छ। एकजोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।
लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ। लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुन्छ र लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ। बिस्केट जात्रा हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले त्यसैले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ। यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्याइन्छ। लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ।
बिस्केटको पाँचाँै दिन नयाँ वर्ष वैशाख १ गतेका दिन लिङ्गो ढालिन्छ। त्यसको लगत्तै खँला टोलमा (रथ जुधाउने टोलमा) भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने परम्परा रहेको छ। यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ। साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ। लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो। मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि–विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन्।
जात्राको छैटौँ दिन नगरको मध्य भागमा महाकाली र महालक्ष्मीको खट् जुधाउने जात्रा, सातौं दिन ब्रम्हायणी र महेश्वरीको तिप्वाजात्राका साथ खट जुधाउने जात्रा हुन्छ। जात्राको आठौँ दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा जात्रा हुन्छ। यसलाई स्थानीय भाषामा द्यो स्वंगँ विइगु भनिन्छ।
बिस्केट जात्राको अन्तिम दिन वैशाख ५ गतेका दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ। यस दिनलाई स्थानीय भाषामा द्यो (देवता) थाहा विज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ। यस दिन बिस्केट जात्रा पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन हुने गर्दछ। जात्रा अबधीमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारी आदि देवदेवीहरुको जात्राले नगर शोभायमान हुन्छ। -रासस