सोमबार, साउन ११, २०८३

सुमार्गीको ७८ करोड फुकुवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- सर्वोच्च अदालतले मुक्तिश्री सिमेन्ट उद्योगको बैंक खातामा रहेको ७८ करोड रुपैयाँ फुकुवा गरेको छ । व्यवसायी अजेयराज सुमार्गीको नाममा रहेको उक्त रकम फुकुवा गर्न न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अन्तरिम आदेश दिएको हो।

सर्वोच्चको यो आदेशपछि रोक्का गरिएको साढे ७८ करोड रुपैयाँ सुमार्गीले चलाउन पाउने भएका छन्। राष्ट्र बैंकका अनुसार सुमार्गीले १२ अर्ब रुपैयाँ ब्रिटिस भर्जिन आइल्यान्डबाट नेपाल ल्याएका हुन्। यसमध्ये दुई अर्ब रुपैयाँको मात्रै स्रोत खुलेपछि राष्ट्र बैंकले स्वीकृति दिएको थियो। बाँकी १० अर्ब रुपैयाँको कुनै स्रोत खुल्न सकेको थिएन। सुमार्गीले सर्वोच्चकै आदेशलगायत विभिन्न
माध्यमबाट उक्त रकम निकाल्दै आएका थिए । बाँकी साढे ७८ अर्ब रुपैयाँ भने बैंकले स्रोत खुल्न नसकेको भन्दै रोकेको थियो।  बैंकका सहप्रवक्ता गोविन्दप्रसाद नागिलाले सर्वोच्चको पत्र अहिलेसम्म आइनपुगेको जानकारी दिए । उनले भने, ‘पत्र आइसकेपछि छलफल गरी अघि बढ्नेछौं ।’

मुक्तिश्री सिमेन्ट उद्योगका नाममा लगानीबापत प्राप्त चार करोड ५० लाख अमेरिकी डलरमध्ये ७५ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोक्का गरेको थियो। आदेश भएका मितिले १४ दिनसम्म उद्योगले रकम झिक्न सक्नेछ। सर्वोच्चको आदेश भनिएको छ, ‘निवेदकका तर्फबाट माग भएको अन्तरिम आदेशको सम्बन्धमा विचार गर्दा सो सम्बन्धमा दुवै पक्षबीच छलफल गरी निर्णयमा पुग्न उपयुक्त हुने देखिँदा सोका लागि निवेदकलाई मिति २०७५/०९/२४ को पेसीको तारेख तोकी उक्त दिन हुने छलफलमा उपस्थित हुन भनी विपक्षीलाई समेत सूचना दिई नियमानुसार पेस गर्नू।’

यसअघि व्यवसायी सुमार्गीले नेपाल स्याटालाइट टेलिकमका नाममा ल्याएको रकम पनि राष्ट्र बैंकले रोकेको थियो। त्यो पनि सर्वोच्चको अल्पकालीन आदेशबाटै फुकुवा भएको थियो।

राष्ट्र बैंकको विकल्प भ्याकेट

सर्वोच्चले पुस १० मा जारी गरेको आदेश एकपक्षीय सुनुवाइबाट भएको छ। राष्ट्र बैंक अल्पकालीन आदेश खारेजीको निवेदनसाथ अदालत जान सक्ने विकल्प बाँकी रहेको कानुन व्यवसायी बताउँछन्। एकपक्षीय रूपमा सुनुवाइ गरी जारी भएको आदेश खारेजका लागि राष्ट्र बैंक तत्काल निवेदनसाथ अदालत गएमा रकम भुक्तानीको बाँकी प्रक्रिया रोकिन सक्ने बताइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्