काठमाडौं- पुँजी बजार सुधारका लागि राष्ट्र बैंकले पहल थालेपछि सेयर कारोबारमा व्यापक उत्साह देखिएको छ। बिहीबार एक अर्ब १२ करोड बढीको कारोबार भएको छ। धेरैपछि सेयर कारोबार अंकले एक अर्ब नाघेको हो। यसले बजारमा दीर्घकालीन सुधारको संकेत देखिएको छ।
परिसूचकमा उछालसँगै कारोबार वृद्धि नहुँदा बजार दिगो हुँदैन। तर यो हप्ता परिसूचकमा उछालसँगै कारोबार पनि निकै उत्साह देखिएको छ।
दिनभर हरियाली रहेको सेयर बजार अन्त्यतिर थोरै घटेको छ। बढेको मौकामा नाफा सुरक्षित गर्ने अल्पकालीन कारोबारीले विक्री चाप बढाउँदा परिसूचक रातो भएको हो। नेप्से परिसूचक १.०८ अंक घटेर एक हजार २१५.१६ बिन्दुमा पुगेको छ।
‘क’ बर्ग मापन गर्ने सेन्सेटीभ इन्डेक्स समेत ०.१५ अंक घटेर २५८.६६ बिन्दुमा पुगेको छ।१७४ कम्पनीको दश हजार ४०६ कारोबारबाट २८ लाख ७२ हजार ५५१ पटक शेयर खरिदबिक्री हुदा एक अर्ब १२ करोड ९९ लाख ६९ हजार २०९ रुपैयाँको कारोबार भएको छ। सो बराबरको कारोबार तीन महिनाअघि असोज ९ गते एक अर्ब बढीको कारोबार भएको थियो।
बुधबार नेप्से परिसूचक ३०.२६ अंक बढेर एक हजार २१६.२७ विन्दुमा पुगेको थियो भने कारोबार ६९ करोड २६ लाख २३ हजार ७४६ रुपैयाँको भएको थियो।
बुधबार नै नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै शेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो। यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ। यसअघि ५० प्रतिशत ऋण दिन पाउने सिमालाई बढाइएको हो। यसले पुँजी बजारको विकासमा सहयोग पुग्ने विश्वास लगानीकर्ताहरुले गरेका छन्।
केन्द्रीय बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियालाई थप स्पष्ट पारेको छ। अब वाणिज्य बैंकहरुले सहायक कम्पनी खडा गरेर ब्रोकरको काम गर्न सक्ने भएका छन्। यसैगरी, मार्जिन ट्रेडिङ प्रक्रिया पनि अघि बढ्ने स्पष्ट जनाउ केन्द्रीय बैंकले गरिदिएको छ ।
बैंक ब्याजदरमा यसअघि नै राष्ट्र बैंकले अंकुश लगाइसकेको छ। केन्द्रीय बैंकले स्प्रेड दर घटाउन समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। सेयर बजार निरन्तर घटेपछि पछिल्लो समय लगानीकर्ता आन्दोलित भएका थिए र आमरण अनशनमा समेत बसेका थिए। त्यसपछि अर्थमन्त्री युवराज खतिवडाले पुँजी बजार सुधारका लागि केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेका थिए । सोही कार्यदलले दिएको सुझाव प्रतिवेदनका आधारमा केन्द्रीय बैंकले नयाँ निर्देशन जारी गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४