काठमाडौं- सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनावरण भएको छ। अर्थमन्त्री युवराज खतिवडाद्वारा एक समारोहबीच ताम्रपत्रको अनावरण गरी विधिवत रुपमा कार्यालयको उद्घाटन गरिएको हो।
मन्त्रिपरिषदको साउन २० मा स्वीकृत गरेको संगठन संरचना अनुसार बुधबार उक्त कार्यालयको उद्घाटन गरिएको हो।
सार्वजनिक ऋण सम्बन्धी कार्य हालसम्म अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र नेपाल राष्ट्बैंक लगायतका निकायहरुबाट सम्पादन हुने गरेकोमा अब एकै निकायबाट उक्त कार्यहरु सम्पादन गर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको स्थापना भएको हो।
हाल सरकारकोतर्फबाट आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैकमार्फत हुदै आइरहेकोमा यस कार्यालयको स्थापनापश्चात कानूनी पुर्वाधारसहित आन्तरिक ऋणको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कार्य हुनेछ।
नेपाल सरकारले लिएका वा उठाएका आन्तरिक तथा बैदेशिक ऋणको अभिलेख, भुक्तानी र लेखांकन गर्ने कार्य साथै नेपाल सरकारको आन्तरिक एवं बाह्य श्रोतबाट सार्वजनिक संस्थानहरुमा ऋण तथा सेयर लगानी गर्ने कार्य समेत यसै कार्यालयले सम्पादन गर्नेछ।
ऋण लगानी तथा असुलीको ब्यवस्थापन गर्ने कार्य हाल महालेखा नियन्त्रक कार्यालयको ऋण तथा लगानी शाखाबाट हुदै आएकोमा आगामी दिनमा त्यो पनि यस कार्यालयले सम्पादन गर्नेछ।
अर्थ मन्त्रालय अन्तराष्ट्रिय सहायता समन्वय महाशाखा र आर्थिक नीति बिश्लेषण महाशाखाबाट सम्पादित आन्तरिक तथा बाह्य ऋण सम्बन्धी आंशिक कार्यहरु समेत यस कार्यालयबाट सम्पादन हुदै जानेछ अर्थ मन्त्रालयको भनाइ छ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले विकासका लागि आवश्यक वित्तीय स्रोतको व्यवस्थापनका लागि आन्तरिक ऋण महत्वपुर्ण रहेको बताए। संघीय वित्तीय प्रणालीमा संघ र प्रदेशले उठाउने आन्तरीक ऋणको व्यवस्थापन गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ बैदशिक ऋणको सावा तथा ब्याज भुक्तानी समेत समयमै यसै कार्यालयबाट हुनु पर्ने भन्दै उनले सम्बन्धित कर्मचारीहरुलाई कार्यालय स्थापनाको औचित्यलाई आत्मसाथ गर्न जोड दिए।
पूँजी निर्माणका लागि आन्तरिक ऋण परिचालन अपरिहार्य रहेको औंल्याउदै उनले बिकशित मुलुकहरुमा पनि आन्तरिक ऋण उल्लेख्य रुपमा हुने गरेको जानकारी दिए।
राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले शुभकामना दिदै कार्यालयको संस्थागत सुद्धृढिकरणका लागि राष्ट्र बैकको पुर्ण सहयोग रहने बताए।
यस्तो छ कार्यालयले सम्पादन गर्ने काम
आन्तरिक ऋण उठाउने, अभिलेखिकरण गर्ने र त्यसको भुक्तानी दिने सम्बन्धि सम्पुर्ण कार्य गर्ने।
ऋण पत्रको दोश्रो बजारको कारोबार व्यवस्थापन, सरकारी जमानतको अभिलेख व्यवस्थापन, जमानती कमिसन असुल गर्ने, जमानत सम्बन्धी सम्झौताहरु प्राप्त गरी अद्याबधिक गर्ने।
आन्तरिक ऋण उठाउने सम्बन्धमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगलाई सुझाव गर्ने र आयोगबाट प्राप्त निर्देशन पालना गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी बहन गर्ने।
बैदेशिक ऋणको अभिलेख, भुक्तानी र लेखांकन गर्ने कार्य र सो को तयारी सम्बन्धि कार्य गर्ने।
सार्वजनिक ऋण तथा लगानीको अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने, आन्तरिक तथा बैदेशिक ऋण भुक्तानीका लागि बजेट तर्जुमा गर्ने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४