काठमाडौं- गएका वर्षहरुकाे रेकर्ड ताेड्दै यस वर्ष ५६ लाख १० हजार टन धान उत्पादन भएको हो। अपेक्षा गरेअनुसार रोपाइ र मौसमले साथ दिएको कारणले गएको वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो। यसले नयाँ रेकर्ड बनाएकाे छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यां अनुसार यो वर्ष ५६ लाख १० हजार टन धान उत्पादन भएको हो। उक्त वृद्धि गएको वर्षभन्दा ९ प्रतिशतले बढी हो। मन्त्रालयका अनुसार यस वर्ष ९६ प्रतिशत धान खेतीयोग्य जमिनमा रोपाई भएको थियो।
मन्त्रालयले धान उत्पादनको रेकर्ड तोडिनको कारण गत वर्षभन्दा रोपाईमा वृद्धि हुनु, समयमा धान रोपाई हुनु, अनुकूल मौसम, पर्याप्त सिंचाइ, रासायनिक मल खाद्यको व्यवस्था रहेको दाबी गरेको छ।
त्यस्तै विगतको वर्ष बाँझो रहने जमिनहरुमा यस वर्ष सिचाइ हुनु, धानको विउ उन्नत हुनु, प्रविधिको प्रयोग, क्षेत्र विस्तार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतको सहयोगले पनि धान उत्पादनमा वृद्धि भएको जनाएको छ।
गएको वर्ष ५१ लाख ५१ हजार टन मात्रै भान उत्पादन भएको थियो। विगत केही वर्षको रेकर्ड तोड्दै अघिल्लो वर्ष ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो।
मन्त्रालयका अनुसार गत वर्ष १४ लाख ६९ हजार ५ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा यस वर्ष बढेर १४ लाख ९१ हजार ७ सय ४४ हेक्टरमा धान खेती भएको छ। पछिल्लो समय धान खेतीको क्षेत्रफल १५ लाख ६२ हजार हेक्टर पुगेको छ।
धानको उत्पादनले मुलुकको अर्थतन्त्रमा ठूलो भूमिका खेल्दै आएको छ। धानको उत्पादन बढेसँगै कूल गार्हस्थ उत्पादनमा धानको योगदान करिब चार प्रतिशतले बढ्ने अर्थ विज्ञहरुको अनुमान छ। कृषि क्षेत्रमा मात्रै धानको योगदान २१ प्रतिशत छ। मनाङ, मुस्ताङबाहेक मुलुकका सबै जिल्लामा धानको खेती हुन्छ।
सबैभन्दा बढी धान उत्पादन प्रदेश-२ मा
प्रदेशको आधारमा हेर्ने हो भने सबैभन्दा बढी प्रदेश-२ मा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ। उक्त प्रदेशमा १४ लाख ९५ हजार ४४ टन धान उत्पादन भएको छ।
त्यस्तै प्रदेश-१ मा १२ लाख ३७ हजार ९ सय ५२, प्रदेश-५ मा ११ लाख ८८ हजार ६ सय ७५ टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ५ हजार ६ सय २६ टन धान उत्पादन भएको छ।
सबैभन्दा कम कर्णालीमा १ लाख ३३ हजार ५ सय ७९ टन धान उत्पादन भएको मन्त्रालयको भनाइ छ।