काठमाडौं- नेप्से बजारमा विस्तारै उछाल आएको छ। बुधबार नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ३०.२६ अंक बढेर एक हजार २१६.२७ विन्दुमा पुगेको छ।
बुधबार नै नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै शेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ। यसअघि ५० प्रतिशत ऋण दिन पाउने सिमालाई बढाइएको हो। यसले पुँजी बजारको विकासमा सहयोग पुग्ने विश्वास लगानीकर्ताहरुले गरेका छन्।
बुधबार बजार दिनभर हरियो रह्यो भने लगानीकर्तामा बेग्लै उत्साह देखियो। नेप्से परिसूचकसँगै कारोबारमा उछाल देखिएको छ। बुधबार १७३ कम्पनीहरुको करिब सत्तरी करोड कारोबार भएको छ।
राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजनमा गठित अध्ययन समितिले दिएको सुझावअनुसार सेयर धितो राखेर लिइने ऋणलाई थप खुकुलो बनाइएको हो। सो समितिले अर्थमन्त्री युवराज खतिवडालाई भेटेर सेयर बजारलाई प्रोत्साहित गर्ने नीतिगत पहल गर्न सुझाव दिएको थियो। कार्यदलले सुझाबमा ६५ प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गर्नु पर्ने सुझाएको थियो। लगानीकर्तालाई अब मार्जिन कलको त्रास हटेको छ। सेयर बजार अध्ययन गर्दै आएका लगानीकर्ता दिलीप मुननकर्मीले राष्ट्र बैंकको यो कदमले पुँजी बजारलाई प्रोत्साहित गर्ने बताए। सेयर कर्जाको रिस्क वेटेजलाई १५०% बाट झारेर १००% मा ल्याइएको छ । यसबाट सरकारको दृष्ट्रिकोण सेयर बजारमैत्री रहेको प्रष्ट भएको छ । यसले लगानीकर्तालाई ठूलो राहत मिलेको छ।
केन्द्रीय बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियालाई थप स्पष्ट पारेको छ। अब वाणिज्य बैंकहरुले सहायक कम्पनी खडा गरेर ब्रोकरको काम गर्न सक्ने भएका छन्। यसैगरी, मार्जिन ट्रेडिङ प्रक्रिया पनि अघि बढ्ने स्पष्ट जनाउ केन्द्रीय बैंकले गरिदिएको छ ।
बैंक ब्याजदरमा यसअघि नै राष्ट्र बैंकले अंकुश लगाइसकेको छ। केन्द्रीय बैंकले स्प्रेड दर घटाउन समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
सेयर बजार निरन्तर घटेपछि पछिल्लो समय लगानीकर्ता आन्दोलित भएका थिए र आमरण अनशनमा समेत बसेका थिए। त्यसपछि अर्थमन्त्री युवराज खतिवडाले पुँजी बजार सुधारका लागि केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेका थिए । सोही कार्यदलले दिएको सुझाव प्रतिवेदनका आधारमा केन्द्रीय बैंकले नयाँ निर्देशन जारी गरेको हो ।




