सोमबार, साउन ११, २०८३

भारतका मुख्यमन्त्री आदित्यनाथलाई लगानी गर्न आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघका १९ सदस्यीय व्यवसायीक प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सोमबार लखनउमा भेटवार्ता गरेको छ। 

महासंघका अध्यक्ष राणाले भेटमा दुई मुलुकबीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उत्तर प्रदेशको सहयोग महत्वपूर्ण हुने बताइन्।

‘नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजिकबाट जोडिएको छ। त्यसैले दुई मुलुकबीचमा व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदान-प्रदान हुन आवश्यक छ,’ उनले भनिन् ‘खासगरी नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्र, विकासमा पछि परेको हुदा हामीले उत्तर प्रदेश सरकारको सहयोगको अपेक्षा गरेका छौं।’

नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा आउन र लगानी गर्न अध्यक्ष राणाले उनलाई आव्हान गरिन्। दुई मुलुकबीच पर्याप्त मात्रामा प्रशारण लाइन, क्षेत्रीय पूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्य जस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनु पर्ने उनको जोड छ।

नेपाल र उत्तर प्रदेशबीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन महासंघको टोलि उत्तर प्रदेशको भ्रमणमा निस्किएको जनाइएको छ।

महासंघसँगको भेटवार्तामा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न आफ्नो सरकारले काम थालेको बताए।
  
मुख्यमन्त्रीको कार्यालय लखनउमा भेट गर्दै उनले उत्तर प्रदेश र नेपालबीचका सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिने बताएका छन्। उनले त्यसका लागि आवश्यक निर्देशन दिइसकेको जानकारी गराए।

‘भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म म आफै पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्नेछु। नेपाल भारतबीच हालसम्मको साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई अब व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नु आवश्यक छ,’ उनले भने। 

भारतबाट नेपाल प्रवेश गर्ने मालबाहक गाडी १० मिनेटभन्दा बढी रोकिन नहुने उनको भनाइ छ। साथै गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने उनको प्रतिवद्धता छ। उनले त्यस क्षेत्रको धार्मिक पर्यटनलाई टेवा पुर्याउनका लागि आवश्यक प्रवद्र्धन गर्ने बचन दिएका छन्। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्