मंगलबार, साउन १२, २०८३

होङ्सी, अर्घाखाँची र शुभश्री सिमेन्ट कम गुणस्तरीय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- तीन सिमेन्ट उद्योगका सिमेन्टको गुणस्तरमा समस्या देखापरेको छ। होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रूपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा) बाट उत्पादित ओपिसी सिमेन्टको गुणस्तरमा समस्या देखिएको हो। उत्पादन गुणस्तरीय नदेखिएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले ती उद्योगसँग स्पष्टीकरण सोधेको छ।

विभागकी प्रवक्ता रोमी मानन्धरले ती कम्पनीका सिमेन्टमा म्याग्नेसियम बढी रहेको बताइन्। सिमेन्टमा म्याग्नेसियम बढी भए तुरुन्तै समस्या नदेखिए पनि ८÷१० वर्षपछि भने निर्माणमा क्र्याक आउने प्राविधिकहरू बताउँछन्। प्रवक्ता मानन्धरका अनुसार ओपिसी सिमेन्टमा ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम राख्न हुँदैन । ल्याब परीक्षण गर्दा अर्घाखाँची सिमेन्टमा ६ प्रतिशत, शुभश्री सिमेन्टमा ५.८ प्रतिशत र होङ्सी सिमेन्टमा ५.८ प्रतिशत म्याग्नेसियम भेटिएको छ।

होङ्सी र शुभश्री सिमेन्टको नमुना दुई महिनाअघि ल्याब परीक्षणका लागि संकलन गरिएको थियो। ल्याब परीक्षण गर्न झन्डै एक महिना लाग्छ। अर्घाखाँची सिमेन्टको पनि गुणस्तर परीक्षण दुई महिनाअघि गरिएको जानकारी मानन्धरले दिइन्। उनले ती उद्योगलाई बजारमा पठाइसकेका म्याग्नेसियम बढी भएका सिमेन्ट फिर्ता लिन र अब उत्पादन गर्दा मापदण्डअनुसारको गुणस्तर कायम गर्न पत्र पठाउने निर्णय भएको बताइन्। ‘केहीले पत्र पाइसकेका छन्,’ उनले भनिन्। तीनै उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न (एनएस) पाइसकेका छन्।

विभागले साउनयता १० वटा सिमेन्ट उद्योगको गुणस्तर परीक्षण गरेको छ। इन्टरनेसनल सिमेन्ट प्रालि वीरगन्जको ओपिसी सिमेन्टमा ‘आइआर’ को मान नेपाल गुणस्तर ४९ अनुरूप नभएको भन्दै विभागले उद्योेगसँग स्पष्टीकरण मागेको थियो। उक्त उद्योगले चित्तबुझ्दो जबाफ नदिएपछि विभागले इजाजतपत्र स्थगनमा राखेको छ।

गोरखकाली सिमेन्ट उद्योग प्रालि झापा र अन्नपूर्ण सिमेन्ट प्रालि मोरङको पनि इजाजत स्थगनमा राखेको विभागले जनाएको छ। एमजेपी सिमेन्ट प्रालि कपिलवस्तुबाट उत्पादित पिपिसी सिमेन्टको गुणस्तरमा सोही समस्या देखिएपछि स्पष्टीकरण माग गरिएको छ। तर उद्योगले जबाफ पठाइनसकेकोे विभागले जानकारी दिएको छ।

गणपति सिमेन्ट प्रालि कपिलवस्तुबाट उत्पादित ओपिसी सिमेन्टमा ‘आइआर’ र ‘एमजिओ’ को मान नेपाल गुणस्तर ४९ अनुरुप नरहेपछि उद्योगसँग स्पष्टीकरण मागिएको छ । उद्योगले स्पष्टीकरण पेस गरिसकेकाले थप छानबिन भइरहेको विभागको भनाइ छ। 

प्रवक्ता मानन्धरले गुणस्तरमा समस्या देखिएका उद्योगले विभागको निर्देशन अटेर गरे सुरुमा इजाजत स्थगन हुने कानुनी व्यवस्था रहेको जानकारी दिइन् । उनका अनुसार त्यति गर्दा पनि अटेर गरे इजाजत खारेज गर्नेसम्मको कारबाही हुनेछ। 

विभागका अनुसार ल्याब परीक्षण गर्दा घोराही सिमेन्ट उद्योग दाङ र मेगा सिमेन्ट उद्योग झापाबाट उत्पादित पिपिसी सिमेन्टको गुणस्तरमा समस्या देखिएको थियो। पछि स्थलगत निरीक्षण गरी संकलित नमुना परीक्षण नतिजाका आधारमा भदौमै फुकुवा गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्