काठमाडौं- खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बहुप्रतिक्षीत मेलम्ची आयोजना समयमै सम्पन्न नहोस् भनेर केही शक्तिले चलखेल गरिरहेको दाबी गरेकी छन्।
वास मिडिया फोरमले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले सरकारले मेलम्चीको सफलता चुम्न लागिरहेका बेला अन्य पक्षले फाइदा लिएर अवरोध गर्न खोजेको आरोप लगाएकी हुन्। उनले भनिन्, ‘मेलम्चीको फाइदा अरू पक्षले लिन खोज्दैछ।’ उनले त्यो अरू पक्ष को भनेर स्पष्ट पारिनन्।
सरकार उक्त आयोजना इटलियन सिएमसी कम्पनीले नै सम्पन्न गरोस् भन्ने पक्षमा रहेको बताइन्।‘मेलम्ची आयोजना तोकिएको समयमा सम्पन्न गर्न मन्त्रालय संयमित, संवेदनशील र लालायित छ,’ उनले भनिन्। उनले आयोजनामा देखिएका समस्याले आफूहरू तनावमा रहेकी बताइन्। मन्त्री मगरले आयोजनामा देखिएका समस्या समाधान गर्न सरकार जुटिरहेको जानकारी दिइन्।
केही दिनअघि मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमुख क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको थियो। इटालियन ठेकेदार कम्पनी सिएमसीका क्रुजोसिहत २९ जना कर्मचारी आयोजनाको काम छाडेर हिँडेपछि उनीहरुको पासपोर्ट नियन्त्रणमा लिइएको थियो।
क्रिसमस मनाउन भन्दै नेपाल छाडेर जाने र त्यसपछि नआउने नियत देखिएको भन्दै उनीहरुलाई नेपाल छाड्न नदिने गरी प्रहरीले पासपोर्ट नियन्त्रणमा लिएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न ठेकेदारको राहदानी नियन्त्रणमा लिएपछि सरकार र इटालियन ठेकेदार कम्पनीबीचको लामो विवाद सतहमा आएको छ। यो प्रकरणले मेलम्ची आयोजना चाँडै सकिनुको सट्टा अझै लम्बिने खतरा बढाएको छ।
सरकार र सिएमसीबीच लामो समयदेखि क्षतिपूर्ति विवाद चल्दै आएको छ। राहदानी जफत प्रकरणपछि यो विवाद अझ उत्कर्षमा पुगेको हो।
ठेकेदार कम्पनी सिएमसीले भूकम्प, नाकाबन्दीलगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठूलो रकम क्षतिपूर्ति माग्दै आएको थियो। आयोजनाले नसुनेपछि क्षतिपूर्ति विवाद बढ्दै गयो। क्षतिपूर्तिकै बहानामा सिएमसीले काममा जाँगर लगाउन छोडेको थियो। कामै रोक्ने जस्ता चेतावनी ठेकेदारले दिन थालेपछि समस्या समाधान गर्न सरकारले डिस्प्युट बोर्ड (विवाद समाधान समिति) गठन गरेको थियो।
बोर्डले झन्डै महिनाअघि सिएससीलाई मर्का परेको ठहर गर्दै मागदाबी गरेको रकममध्ये ३५ करोड रुपैयाँ क्षतिपूर्ति दिन सुझाएको थियो।
मेलम्ची पानी केही महिनामै राजधानी पुगे पनि ठेकेदारको काम अझै एक वर्ष सकिँदैन। मुहानमा इन्टेकको काम हुनै बाँकी छ। यो काम सक्न एक वर्ष लाग्ने अनुमान गरिँदै आएको छ। त्यहाँ तत्काललाई अस्थायी संरचना बनाएर मेलम्ची पानी लैजाने आयोजनाको तयारी छ। आयोजनाको सबैभन्दा जटिल काम साढे २६ किमि सुरुङ गत चैत २७ गते छेडिएको) थियो।
सुरुङलाई पानी ओसार्ने लायक बनाउन अझै धेरै काम बाँकी छन्। सुरुङ फाइनल फिनिसिङको काम हुँदै गर्दा राहदानी प्रकरणपछि पुनः यो रोकिन पुगेको हो। अझै झन्डै एक किमि सुरुङ फाइलन फिनिसिङ हुन बाँकी छ। त्यस्तै एक किमि जति ‘इन्भर्ट लाइनिङ’ (भुँइ ढलान) बाँकी नै छ। यसबाहेक सुरुङमा तीनवटा हावा पास गर्ने प्वाल खोप्नुपर्ने छ। यो काम सुरु नै हुन सकेको छैन।
सुरुङ ब्रेक थ्रु भएपछि तीन महिनामा फाइनल फिनिसिङको काम सकिने अनुमान आयोजनाले गरेको थियो। गत साउनमै मेलम्ची पानी सुन्दरीजल पुग्ने ठानिएको थियो। यो पूरा नभएपछि केही सयम राखेर आयोजनाले गएको दसैं उपहारमा राजधानीवासीलाई मेलम्ची पानी खुवाउने बाचा गरेको थियो। पटक–पटक भाका सरेपछि आयोजनाका अधिकारीले पछिल्लो समय मेलम्ची पानी काठमाडौँ पुग्ने मिति तोक्न छाडेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४