आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • सांसदले मागे प्राधिकरण महानिर्देशकको राजीनामा, अधिकारी पनि आक्रामक

nespernesper

सांसदले मागे प्राधिकरण महानिर्देशकको राजीनामा, अधिकारी पनि आक्रामक

 |  बिहीबार, साउन १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १०, २०८१

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको भोलिपल्ट बिहीबार संघीय संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पर्यटनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई बैठकमा बोलाई छलफल गरेको छ।

triton college

बैठकमा सांसदहरुले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई खरा प्रश्नहरु गरेर र्‍याखर्‍याख्ती पारे। बैठकमा अधिकांश सांसदहरुले क्यान नेतृत्वको क्षमता र कार्यशैलीबारे प्रश्न उठाएका थिए। जवाफमा अधिकारी पनि कडै रुपमा प्रस्तुत भए। समिति सभापति राजकिशोर यादवले अधिकारीलाई एटिट्युड नदेखाउन रुलिङ नै गर्नुपर्‍यो। 'तपाईंले उठेका प्रश्नको जवाफ दिनुस्, एटिट्युड ठिक भएन,' अधिकारीलाई रोक्दै सभापति यादवले भने। केही सांसदले अधिकारीको आलोचना गरेपछि उनी सांसदहरुको नामै तोकेर खरो रुपमा उत्रिएका थिए।

बैठकमा सांसद उदयशमशेर जबराले प्राधिकरणका महानिर्देशक अधिकारीको क्षमतामाथि प्रश्न उठाएका छन्। अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेको तथ्य पेस गर्दै उनले अधिकारीलाई जिम्मेवारी लिन आग्रह गरे।

'नेपाली आकाशमा आन्तरिक मात्र होइन विदेशी जहाजहरू पनि दुर्घटनामा परेका छन् । सन् १९९६ यता साना ठुला ६० वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसमा विदेशी जहाज समेत ८ वटा परे । आन्तरिक त सबै जसो एयरलाइन्स कम्पनीहरूका जहाज दुर्घटनामा परेका छन्,' जबराले भने, 'प्राधिकरणमा तपाईकै नेतृत्व यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैं अरूलाई नै लगाउने ?' उनले थप प्रश्न गरे, 'अन्य देशमा यस्तो हुन्थ्यो भने कि त नेतृत्वले आफैं राजीनामा दिनुपर्थ्यो कि त सरकारले हटाउँथ्यो । प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको छ।'

सौर्य एयरलाइन्स दुर्घटनाको सन्दर्भमा छानबिन आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिने हुँदा प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्नुपर्ने मागसमेत जबराले राखे। जवाफमा महानिर्देशक अधिकारीले आफू नैतिक जिम्मेवारी लिन तयार भएको बताए। उनले भने, ‘सबैको नैतिक जिम्मेवारी मेरो हो म लिन्छु।’

Metro Mart
vianet

अर्का सांसद शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा नेपाल नागरिक उड्‌डयन प्राधिकरण (क्यान)को नेतृत्व दोषी रहेको बताएका छन्। खनालले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा क्यानको नेतृत्व दोषी रहेको बताएका हुन्। उनले जहाज दुर्घटनाको नैतिक जिम्मेवारी पनि क्यानले लिनुपर्ने बताए।

सांसद खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बिजनेस प्लानको दस्तावेज आफूहरूले नपाएको बताए। ‘पोखरा विमानस्थलको बिजनेस प्लानको डकुमेन्ट पाएका छैनौं। त्यो उपलब्ध गराइदिन मन्त्रीज्यूलाई अनुरोध छ,’ उनले भने। क्यान महानिर्देशक हुनुअघि अधिकारी पोखरा विमानस्थल आयोजना प्रमुख थिए।

बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमान दुर्घटनापछि सरकारले बनाएको जाँचबुझ आयोगको प्रतिवेदनलाई सतप्रतिशत कार्यान्वयन गर्ने बताए। मन्त्री पाण्डेले यसअघि भएका विमान दुर्घटनापछि बनेका आयोगको प्रतिवेदनमा विषयमा निकै प्रश्न उठ्ने गरेको भन्दै अहिलेको आयोगले दिने प्रतिवेदन सुक्ष्म ढंगले अध्ययन गर्ने र शतप्रतिशत कार्यान्वयन गर्ने दाबी गरे। दुर्घटना भइसकेपछि विमानस्थल पुगेर घटनाको अध्ययन गरिरहेको र सरोकारवाला निकायलाई पनि आवश्यक निर्देशन दिइएको उनले बताए। उनले नेपालको हवाई क्षेत्र इयुको कालोसूचीबाट निकट भविष्यमा नै हट्ने विश्वास व्यक्त गरे।

समितिले नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले इयूको कालोसूचीबाट हटाउनका लागि भइरहेका तयारीका साथै आइकाओको रिपोर्टसहित बैठकमा उपस्थित हुन पर्यटनमन्त्रीलाई निर्देशन दिएको हो।

इयू सेफ्ट लिष्टमा कति दिनभित्र नेपाल पर्छ भन्ने जानकारीसहित उपस्थित हुन पर्यटनमन्त्रीलाई निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए। बैठकले नेपाल एयरलायन्सलाई कोरियामा उडान भर्नका लागि भइरहेका कार्ययोजनासहित उपस्थित हुन पनि पर्यटनमन्त्रीलाई निर्देशन दिएको उनले बताए।

त्यस्तै पोखरामा यती एयरलायन्सको विमान दुर्घटनापछि बनेको जाँचबुझ आयोगको प्रतिवेदन समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको सभापति यादवले बताए। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित दुई विधेयकको अवस्थाका बारेमा जानकारी गराउन पनि सरकारलाई निर्देशन दिएको छ।

प्रकाशित: Jul 25, 2024| 15:25 बिहीबार, साउन १०, २०८१
प्रतिक्रिया दिनुहोस्