काठमाडौं- शुक्रबार केही बैंकहरुले निक्षेपको ब्याज घटाएका छन्। गभर्नरको निर्देशनमा बैंकर्स संघले ब्याज दरमा भद्र सहमति गरे लगत्तै शुक्रबारसम्ममा केही बैंकहरुले ब्याजदर घटाएको हो।
नेपाल राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरु ब्याजदर घटाउनको लागि सहमति भएका हुन्। बिहीबार राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बैंकका सिइओहरुलाई बोलाएर ब्याजदर प्रतिस्पर्धामा नलग्न आग्रह गरेका थिए।
बैंकर्स संघले भद्र सहमतिमा ब्यक्तिगत मुद्दतिमा ९.२५ प्रतिशत र संस्थागत मुद्दतिमा साढे ८ प्रतिशत मात्र ब्याज दिने सहमति गरेका छन्। बचतमा साढे ६ प्रतिशतभन्दा बढि ब्याज नदिने सहमति गरेका थिए।
जनता बैंकले सबैभन्दा पहिले बढाएर १२ प्रतिशत पुर्याएको निक्षेपको स्किम बन्द गरेको घोषणा गर्दै सहमति अनुसारकै ब्याज दर तोकेको छ। एनएमबी बैंकले पनि सहमति अनुसारकै ब्याज दर कायम गरेको जानकारी दिएको छ।
सहमति लगत्तै भोलिपल्टै सानिमा बैंक, मेगा बैंक, नेपाल एसबिआइ, सनराइजन र एभरेष्ट बैंकले सहमति अनुसारकै मुद्दति निक्षेपको ब्याज तोक्ने निर्णय भएको जनाकाएका छन्।
त्यस्तै नबिल, लक्ष्मी बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, प्रभु बैंक लगायतहरुले पनि निक्षेपको ब्याज दर सहमतिअनुसार झार्ने निर्णय भएको जानकारी दिएका छन्।
विकास बैंकहरुले पनि निक्षेपको ब्याज घटाए
विकास बैंकहरुले पनि ब्याजदरमा भद्र सहमति गरेका छन। वाणिज्य बैंकहरुले ब्याजदर घटाउने सहमति गरेको भोलिपल्ट शुक्रबार डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालले ब्याजदर घटाउने सहमति गरेको हो।
संघले राखेको बैठकबाट एक बर्षे ब्यक्तिगत मुद्दतिको निक्षेपमा ९.७५ प्रतिशत मात्र ब्याज दिने निर्णय भएको छ। यसअघि अधिक्तम १२.५ प्रतिशत ब्याज दिने बताइएको छ। बचतको ब्याज दर सात प्रतिशत कायम गरिएको छ।
यसैगरी संस्थागत मुद्दतिकर्ताको ब्याज दर ९ प्रतिशत कायम गरेको छ। बैठकले राष्ट्रिय स्तरको ‘ख’ बर्गको विकास बैंकहरुले भद्र सहमतिअनुसारको ब्याज दिने जनाइएको छ।
बिहीबार मात्रै बैंकर्स संघले भद्र सहमति गरि बाणिज्य बैंकहरुले व्यक्तिगतमा ९.२५ प्रतिशत, बचतमा साढे ६ र संस्थागत मुद्दतिमा साढे ८ प्रतिशत ब्याज दिने सहमति गरेका थिए। सहमतिसँगै केही बैंकहरुले ब्याज घटाइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४