बुधबार, माघ २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालद्वारा क्यानडाविरूद्धको सिरिज क्लिनस्वीप, दुई ब्याटरको कीर्तिमानी शतक

नेपालद्वारा क्यानडाविरूद्धको सिरिज क्लिनस्वीप, दुई ब्याटरको कीर्तिमानी शतक

 |  सोमबार, माघ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

काठमाडौं- नेपालले क्याडनाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्वीप गरेको छ। सुरुवाती दुई खेल जितेर सिरिज कब्जा गरिसकेको नेपालले आज सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो खेलमा पनि क्यानडालाई  ९ विकेटले पराजित गरेको हो।

National life

क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्‍यो। नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे। अनिलले नटआउट ११२ रन र भीमले नटआउट १०१ रन जोडे। अनिलले १२४ बलमा १२ चौका र २ छक्का तथा भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे।

भीम र अनिल दुवैले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन्। यस्तै नेपालका लागि एकै इनिङ्ग्समा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो पटक हो। दुई ब्याटरबीच अहिलेसम्मकै उच्च साझेदारी समेत हुन सफल भएको छ। उनीहरुले नटआउट १८९ रनको साझेदारी भरे। यसअघि नेपालका लागि एकदिवसीय खेलमा उच्च साझेदारी १७१ रनको थियो। सो साझेदारी कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि गरेका थिए।

ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भए। हेलिङगरको बलमा बोल्ड हुनअघि कुशलले १४ बलमा ३ चौका प्रहार गरे। आजको खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ। क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टी दिइएको हो।

क्रिकेटको नियमअनुसार ब्याटरले पिचमा टेकेपछि सुरुमा अम्पायरले चेतावनी दिन्छन्। त्यसपछि पनि पिचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ। यही निमयअनुसार जाफरले अन्तिम बलमा रन लिने क्रममा पिचमा कुदेका कारण नेपालले पेनाल्टी रन पाएको थियो।

Laxmi sunrise bank

टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोड्यो। क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए।

फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग-२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग-२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित: Feb 12, 2024| 16:08 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्