काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले धरहराको निःशुल्क पार्किङ रोक्न पत्राचार गरिएकोमा असन्तुष्टि जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पत्र लेख्न भनेपछि एमाले महासचिव शंकर पोखरेलले त्यसको जवाफ फर्काएका छन्।
पोखरेलले मंगलबार बिहान फेसबुकबाट प्रतिक्रिया दिँदै परियोजनाको महत्त्व नबुझ्नेले आलोचना गर्नु स्वाभाविक रहेको टिप्पणी गरेका छन्। 'परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्त्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो,' पोखरेलले लेखेका छन्। उनले तत्कालीन प्रधानमन्त्री ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेको र त्यसको निर्माण कार्य उतिबेलै सम्पन्न भइसकेको दाबी पनि गरेका छन्। त्यससँग सम्बन्धित अन्य परियोजनाका काम भने सरकार परिवर्तनका कारण बिलम्ब भएको उनको प्रष्टोक्ति छ।
धरहरा पुनर्निर्माणका क्रममा त्यसलाई नयाँ स्वरुपमा बनाउँदा पाँच भागमा विभक्त गरिएको पनि पोखरेलले उल्लेख गरेका छन्। त्यसका लागि गोस्वारा हुलाक वरिपरिको जमिनसमेत प्रयोग गरिएको पोखरेलको भनाइ छ।
यसैगरी सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री गुरुङले महानगरपालिकालाई यस्तो चेतावनी दिएकी हुन्।
उनले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफलबिना जबरजस्ती रूपमा पार्किङ गराउनु विधिविपरीत रहेको बताइन्। निर्माणाधीन धरहरा निर्माण सम्पन्न भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर जानुपर्ने अवस्था रहेको भन्दै महानगरपालिकाले निर्माण कार्य अवरुद्ध हुनेगरी गरेको निर्णय तत्काल रोक्नुपर्ने बताइन्।
काठमाडौं महानगरले धरहरामा निःशुल्क पार्किङ सुरु गरेको थियो। तर, शहरी विकास मन्त्रालयअन्तर्गतको कार्यालयले निर्माण नसकिएको भन्दै तत्काल पार्किङ रोक्न महानगरलाई पत्राचार गरेको थियो। निर्माण सम्पन्न नहुँदै सर्वसाधारणलाई पार्किङ गर्न दिँदा त्यसले दुर्घटना निम्त्याउनेमा पनि महानगरलाई सचेत गराइएको थियो।
उक्त पत्रपछि आक्रोशित बालेनले सोमबार फेसबुकमा निर्माण नसकिँदै तत्कालीन प्रधानमन्त्रीले किन उद्घाटन गरेको भन्दै प्रश्न उठाएका थिए। उनले आफूलाई नभएर निर्माण नसकिँदै उद्घाटन गर्ने तत्कालीन प्रधानमन्त्रीलाई पत्राचार गर्न सुझावसमेत दिएका थिए। उनले उक्त स्थानमा पार्किङ नरोकिने बरु व्यवस्थित गर्दै लगिनेसमेत उल्लेख गरेका थिए।